close

ईसेवाले भन्योः हामी अनलाइन बेटिङलाई प्रोत्साहन गर्दैनौं, थाहा पाए प्रहरीलाई खबर गर्छौं

टेकपाना टेकपाना

असार ७, २०८० ९:३२

ईसेवाले भन्योः हामी अनलाइन बेटिङलाई प्रोत्साहन गर्दैनौं, थाहा पाए प्रहरीलाई खबर गर्छौं

काठमाडौं । ईसेवाले नेपालमा अवैध मानिएका वन एक्सबेट तथा विभिन्न सट्टेबाजका क्रियाकलापमा पक्राउ परेका विषयका समाचार प्रति ध्यानाकर्षण जनाएको छ । कम्पनीले ईसेवालाई समेत त्यस किसिमका क्रियाकलापमा जोडिएको विषय प्रति ध्यानाकर्षण जनाउँदै एक सूचना जारी गरेको हो ।

"ईसेवाले कहिल्यै पनि यस किसिमका अनलाइन जुवा तथा सट्टेबाजका जस्ता क्रियाकलापलाई प्रोत्साहन गर्दैन," कम्पनीले भनेको छ, "आफ्नो स्थापना कालदेखि नै यस किसिमका अनलाइन जुवा तथा सट्टेबाज जस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै आइरहेका छौं," ईसेवाले भनेको छ ।

ईसेवामा रहेको पीटुपी कारोबारलाई कसैले शंकास्पद रूपमा दुरुपयोग गर्दै छोटो अवधिमै धेरै कारोबार गरेको भेटिएको अवस्थामा त्यस्ता ईसेवा अकाउन्टलाई रोक लगाई नियामक निकायलाई समेत रिपोर्ट गर्दै आएको उल्लेख छ ।

"ईसेवा नियामक निकायबाट इजाजत प्राप्त संस्था भएको र सोको नियमनमा रहेर कारोबार गर्ने हुँदा हामीले त्यस किसिमका क्रियाकलापलाई कहिल्यै पनि प्रश्रय दिंदैनौं र कदापि दिने पनि छैनौं," कम्पनीले अगाडि भनेको छ । यस्ता क्रियाकलापहरूको प्रयोग गरेको शङ्का लागेमा नियामक निकाय र नेपाल प्रहरीलाई समय समयमा सुसूचित गरिएको समेत कम्पनीले बताएको छ ।

आफ्ना वास्तविक ग्राहकलाई सेवा दिने कुरामा किञ्चित कुनै पनि असर नपरोस् भन्दै ग्राहकको सेवामा निरन्तर समर्पित रहने र गैरकानूनी क्रियाकलापलाई जहिले पनि निरुत्साहित गर्ने कुरामा ईसेवा सदैव तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

ईसेवा आईएसओ मापदण्डबाट प्रमाणित संस्था भएको र आफ्ना ग्राहकको कुनै पनि डेटालाई सुरक्षित राख्न सदैव तत्पर रहेको स्मरण समेत कम्पनीले गराएको छ । 

पछिल्लो अध्यावधिक: असार ७, २०८० ९:३३