close

आईटी पढ्न चाहने ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिंदै क्यान, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

भदौ १०, २०८० ११:३९

आईटी पढ्न चाहने ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिंदै क्यान, यसरी दिनुहोस् आवेदन

काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले आईटी पढ्न चाहने ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सूचना प्रविधि क्षेत्रको सङ्गठनको रूपमा रहेको क्यानले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । 

‘नेसनल आईसीटी स्कलरशिप– २०८०’ नाम दिइएको यो कार्यक्रममा गरिब तथा जेहनदार विद्यार्थीले आवेदन दिन सक्नेछन् । यस वर्ष ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको  महासङ्घले जनाएको छ । 

‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ मा देशका सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी सात प्रदेशबाट एकएक जना छात्रा लाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । त्यस्तै सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति दिइने उल्लेख छ । 

ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकासका लागि यसले टेवा पुर्‍याउने क्यानको विश्वास छ । विगत चार वर्षदेखि सञ्चालित यो छात्रवृत्ति कार्यक्रमबाट हालसम्म ११० जना विद्यार्थी लाभान्वित भएको दाबी गरिएको छ । 

 

सम्झौताअनुसार ४९ जना विद्यार्थीले दुई करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट क्यान डट ओआरजी डट एनपी र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट एलबीईएफ डट ओआरजी मार्फत यही भदौ २० गतेभित्र आवेदन दिइ सक्नु पर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कशिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र स्थानीय सरकारको सिफारिस पत्र पेस गर्नु पर्नेछ । 

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० ११:३९