close

ट्वीटर खरिद गर्न एलन मस्कले स्पेस एक्सबाट लिएका थिए १ अर्ब डलर ऋण

टेकपाना टेकपाना

भदौ २२, २०८० १२:१७

ट्वीटर खरिद गर्न एलन मस्कले स्पेस एक्सबाट लिएका थिए १ अर्ब डलर ऋण

 

काठमाडौं । विश्वका चर्चित अर्बपति एलन मस्कले ट्वीटर खरिद गर्न एक अर्ब अमेरिकी डलर ऋण लिएको खुलासा भएको छ । ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने क्रममा अर्बपति मस्कले २० वर्षदेखि सञ्चालन गरेको आफ्नै रकेट कम्पनी स्पेस एक्सबाट उक्त ऋण लिएको वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख छ ।

अक्टोबरमा ‘स्पेस एक्स’ले मस्कको नाममा रहेको मध्येको केही शेयरको आधारमा एक अर्ब ऋण स्वीकृत गरेको थियो । यद्यपि सोही महिना मस्कले उक्त ऋण चुक्ता गरेका थिए । 

उनले अक्टोबरमै ट्वीटरको स्वामित्व लिएका थिए । मस्कले विद्युतीय कार निर्माता कम्पनी टेस्लासहित विभिन्न कम्पनीमा रहेको आफ्नो शेयरको आधारमा बैङ्कबाट ऋणको जुटाएका थिए । 

प्रतिवेदन अनुसार ट्वीटरका लागि रकम चुक्ता गर्ने क्रममा ‘स्पेस एक्स’ भने आर्थिक अवस्था जटिल बनेका मस्कका लागि गोप्य रूपमा ऋणदाता बनेको थियो । 

गएको मार्चमा फेडरल कम्युनिकेसन कमिसनमा दर्ता भएको रिपोर्ट अनुसार ४२ प्रतिशत हिस्सा र ७९ प्रतिशत भोटिङ पावरका साथ मस्क नै ‘स्पेस एक्स’का सबैभन्दा ठूला शेयर होल्डर हुन् । कागजातलाई उद्धृत गर्दै समाचारपत्रले भने अनुसार गत वर्षको अन्त्यमा नगद र धितोपत्र गरी स्पेस एक्ससँग चार अर्ब ७० करोड अमेरिकी डलर रहेको थियो । 

ट्वीटर खरिद गर्नुअघि र पछि गरी २०२२ मा एलन मस्कले भारी मात्रामा टेस्लाको शेयर बिक्री गरेर करिब ४० अर्ब डलर लिएका थिए । उनको त्यस किसिमको कार्यले टेस्लाका अन्य लगानीकर्तामा निराशा छाएको थियो । 

अप्रिल २०२३ मा टेस्लाले एलन मस्कलाई केन्द्रित गरी कम्पनीमा रहेको शेयर प्रयोग गरी ऋण लिन पाउने नियममा थप कडाई गरेको थियो । 

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १२:१७