close

च्याटजीपीटीको मोबाइल एपबाट हुने आम्दानी खस्कियो

टेकपाना टेकपाना

असोज २७, २०८० १८:९

च्याटजीपीटीको मोबाइल एपबाट हुने आम्दानी खस्कियो

 

काठमाडौं । च्याटजीपीटीले आफ्नो मोबाइल एपबाट हुने कमाइ गुमाउन थालेको छ । एपफिगरको एक तथ्याङ्क अनुसार गत महिनाका तुलनामा एपबाट हुने च्याटजीपीटीको कमाइ खस्किएको हो ।

गत जुलाई र अगस्टमा एपबाट हुने आम्दानी ३० प्रतिशतले बढेकाे थियाे । तर सेप्टेम्बरमा भने २० प्रतिशतले मात्रै आम्दानी बढेकाे छ । आम्दानी बढेपनि विगतका दुई महिनाको तुलनामा सेप्टेम्बरको आम्दानी वृद्धि सुस्त भएकाे प्रतिवेदनमा उल्लेख छ ।

गत सेप्टेम्बरमा आईओएस तथा एन्ड्रोइड गरी च्याटजीपीटी एप कुल एक कराेड ५६ लाख पटक डाउनलोड गरिएको थियो भने कम्पनीले माेबाइल एपबाट साढे ४६ लाख डलर आम्दानी गरेको थियो ।

प्रतिवेदन अनुसार च्याटजीपीटीकाे निःशुल्क सेवा प्रयाेग गर्ने संख्या अत्यधिक छ । हालसम्म याे एप पाँच कराेड २२ लाख बढी पटक डाउनलाेड भइसकेकाे छ ।

च्याटजीपीटी प्लस (सशुल्क भर्सन) प्रयोग गर्न प्रयोगकर्ताले मासिक १९.९९ डलर शुल्क तिर्नुपर्छ । त्यति रकम तिरेबापत उनीहरूले अन्यले भन्दा छिटो, सहज र भनेकै समयमा जवाफ पाउने, 'पिक आवर' (धेरै ट्राफिक भएकाे बेला)मा पनि उत्तर दिने गर्छन् ।

त्यस्तै च्याटजीपीटीमा जे जति नयाँ फिचरहरू आउँछन्, ती सबै त्यस्ता ग्राहकले सबैभन्दा पहिले अनुभव गर्न पाउँछन् । अहिले च्याटजीपीटीको मुख्य आम्दानी स्रोत नै सशुल्क सेवा हाे ।

पछिल्लो अध्यावधिक: असोज २७, २०८० १८:११