close

भोलि बिहान एप्पल इभेन्ट हुँदै, अहिलेसम्मकै शक्तिशाली एम थ्री चिप सार्वजनिक हुने

टेकपाना टेकपाना

कात्तिक १३, २०८० १४:४६

भोलि बिहान एप्पल इभेन्ट हुँदै, अहिलेसम्मकै शक्तिशाली एम थ्री चिप सार्वजनिक हुने

काठमाडौं । भोलि मंगलबार एप्पल इभेन्ट हुने भएकाे छ । आईफोन १५ लाइनअप सार्वजनिक भएको करिब डेढ महिनापछि एप्पलले अन्य उत्पादन तथा सेवाकाे घाेषणा गर्न अर्को कार्यक्रम गर्न लागेको हो ।

हरेक वर्ष अक्टोबर ३१ मा पर्ने हलोविनलाई लक्षित गर्दै कम्पनीले आफ्नो इभेन्टको ट्यागलाइन ‘स्क्यारी फास्ट’ राखेको छ । नेपाली समय अनुसार भोलि बिहान पौने ६ बजेबाट एप्पल इभेन्ट सुरू हुनेछ ।

गत हप्ता एप्पलले आईओएस १७.१, म्याक ओएस १४.१, वाच ओएस १०.१ र अन्य महत्त्वपूर्ण अपडेट सार्वजनिक गरेको थियो । त्यसैले ‘स्क्यारी फास्ट’ इभेन्टमा कम्पनीले के सार्वजनिक गर्ला भन्ने धेरैको चासो हुन सक्छ ।

यस पटकको इभेन्टमा कम्पनीले म्याकका लागि अहिलेसम्मकै शक्तिशाली एप्पल सिलिकन चिप्स ‘एम थ्री’ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । कम्पनीले इभेन्टका लागि तयार पारिएको वेब पेजमा कार्यक्रममा म्याकमा बढी केन्द्रित हुने उल्लेख गरेको छ । त्यसैले कार्यक्रममा नयाँ आईम्याक,आईप्याड मिनि, म्याकबुक प्रो, म्याकका लागि म्याजिक किबोर्ड सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

स्क्यारी फास्ट इभेन्ट एप्पल डटकम एप्पलको आधिकारिक युट्युब च्यानलबाट पनि हेर्न सकिनेछ ।

एप्पल विश्लेषकका अनुसार कम्पनीले यो कार्यक्रममार्फत आफ्ना केही सब्सक्रिप्सन मोडेलको शुल्क बढाउने तयारी पनि गरेको छ । कम्पनीले गत हप्ता नै एप्पल टिभी प्लस, एप्पल एरिकेड र एप्पल न्युज प्लसको सब्स्क्रिप्सन शुल्क अमेरिका लगायत अन्य देशमा बढाउने घोषणा गरेको थियो ।

घोषणा गरे अनुरूपको नयाँ शुल्क भोलिदेखि नै लागू हुने अपेक्षा गरिएको छ । नयाँ ग्राहकलाई एप्पल टिभी प्लसको नयाँ शुल्क प्रति महिना ९.९९ डलर लाग्नेछ । यसअघि उक्त सब्स्क्रिप्सनको शुल्क ६.९९ डलर तोकिएको थियो ।

गत महिना एप्पलले नयाँ डिजाइन, एड्भान्स्ड मेन क्यामेरा सिस्टम, कस्टमाइज गर्न सकिने एक्सन बटन र यूएसबी चार्जिङ भएको आईफोन १५ सिरिज सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८० १५:४०