close

साम अल्टम्यानको बर्खास्तीपछि च्याटजीपीटीका अधिकांश कर्मचारी राजीनामा दिने तयारीमा

टेकपाना टेकपाना

मंसिर ५, २०८० १५:३४

साम अल्टम्यानको बर्खास्तीपछि च्याटजीपीटीका अधिकांश कर्मचारी राजीनामा दिने तयारीमा

काठमाडौं । साम अल्टम्यानको बर्खास्तीको विरोध गर्दै ओपनएआईमा कार्यरत करिब ७०० कर्मचारीहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । द न्यू योर्क टाइम्सका अनुसार बोर्डको राजीनामा र अल्टम्यानलाई सीईओको रूपमा पुनर्स्थापित गर्न माग राख्दै कुल ७७० मध्ये करिब ७०० कर्मचारीले सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् ।

ओपनएआईको बर्खास्तीमा परेका आल्टम्यानलाई माइक्रोसफ्टले एड्भान्स एआई रिसर्चको नेतृत्व गर्न नियुक्त गरिसकेको छ । यसपछि ओपनएआईका कर्मचारीले आफ्नो मागसहित बोर्डलाई खुलापत्र बुझाएका छन् । सो पत्रमा अल्टम्यानलाई हटाउन प्रमुख भूमिका खेल्ने बोर्ड सदस्य इल्या सुत्स्केभर समेत रहेको बताइएको छ ।

ब्लुमबर्गका अनुसार ओपनएआईको बोर्डसँग नाफा र सुरक्षामा विषयमा मत विभाजन हुँदा आल्टम्यान बर्खास्तमा परेका थिए । ​अल्टम्यान एआई सुरक्षाको विषयभन्दा विकासको गतिमा बढी केन्द्रित भएको बताइएको छ । जुन इल्या सुत्स्केभर लगायतक अन्य बोर्ड सदस्यहरूको मतभन्दा भिन्न रहेको रहेकाे थियाे ।

ओपनएआईका लागि साम अल्टम्यानको बर्खास्तले अहिले उल्टो नतिजा दिइरहेको छ । ​ओपनएआईका सह-संस्थापक तथा अध्यक्ष ग्रेग ब्रोकम्यान राजीनामा दिएर अल्टम्यानसँगै माइक्रोसफ्ट गएका छन् । अन्य कर्मचारीसँगै मागपत्रमा हस्ताक्षर गरेका सुत्स्केभरले भने बोर्डको निर्णयमा सहभागी भएकोमा पछुतो लागेको बताएका छन् । त्यस्तै उनले कम्पनीलाई पुन: मिलाउन सक्ने जति सबै गर्ने बताएका छन् ।

हाल ओपनएआईको बोर्डमा उनीबाहेक एडम डीएन्जेलो, टाशा म्याककाउली र हेलेन टोनर छन् । उनीहरू ओपनएआईका कर्मचारी भने होइनन् । त्यस्तै ओपनएआईको बोर्डले एमेट शियरलाई नयाँ सीईओको रूपमा नियुक्त गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० १५:५०