close

नेपाल सुपर लिगको स्पोन्सरमा अवैध सट्टेबाजी वनएक्स बेट

टेकपाना टेकपाना

मंसिर ८, २०८० १९:३७

नेपाल सुपर लिगको स्पोन्सरमा अवैध सट्टेबाजी वनएक्स बेट

काठमाडौं । अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म शुक्रवारदेखि दशरथ रङ्गशालामा सुरु भएको नेपाल सुपर लिगको स्पोन्सर रहेको पाइएको छ । वनएक्सबेटले वनएक्स न्युजको नामबाट सरोगेट विज्ञापनदाताको रूपमा नेपाल सुपर लिगमा जोडिएको हो । 

नेपाल सुपर लिगको आधिकारिक फेसबुक पेजबाट शुक्रबार अपरान्ह पख वनएक्स न्युजलाई इन्टरनेसनल न्युज पार्टनर घोषणा गरेको थियो ।

 

 

त्यसो त नेपाल सुपर लिगले वनएक्स न्युजलाई आफ्नो इन्टरनेसनल न्युज पार्टनरको रूपमा राखेको छ । तर वनएक्स न्युजको लोगो हेर्दा यो वनएक्स बेटले यसअघि क्रिकेट प्रतियोगितामा वनएक्स ब्याटको नाममा जनाएको उपस्थितिकै अर्को संस्करण भएको कुरा स्पष्ट हुन्छ । 

वनएक्स न्युजको ट्वीटर ह्यान्डलमा रहेको वनएक्स डट न्युज वेबसाइट खोल्दा रिडाइरेक्ट भएर सोझै वनएक्स बेटको वेबसाइटमा पुगिरहेको छ । यसबाट समेत वनएक्स न्युज वनएक्स बेटकै प्रचारका लागि तयार पारिएको कुरा बुझ्न कठिन छैन ।  

त्यसो त पछिल्लो समय नेपालसहितका कतिपय देशमा हुने खेल प्रतियोगितामा आर्थिक सहायता दिने अधिकांश विदेशी विज्ञापनदाताको पृष्ठभूमि अनलाइन बेटिङ (सट्टेबाजी) सँग जोडिएको छ । वनएक्सब्याट, डाफान्युज, स्काई एक्स्चको पृष्ठभूमि अनलाइन सट्टेबाजीसँग जोडिएको देखिन्छ ।

गत वैशाखमा आयोजित एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका क्रममा समेत यस्ता साइटको विज्ञापन गरिएको थियो । त्यस अघि पनि विभिन्न लिगहरूमा बेटिङसँग जोडिएका कम्पनीहरूले विज्ञापन दिँदै आएका थिए । 

त्यसो त यस्ता कम्पनीले प्रत्यक्ष रूपमा बेटिङ प्लेटफर्मको रूपमा आफ्नो प्रचार नगरेको जस्तो देखाइरहेका हुन्छन् । तर अप्रत्यक्ष रूपमा भने यी माध्यमहरू बेटिङमै संलग्न भएका तमाम तथ्यहरू भेटिन्छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्ष नै नेपालमा बेटिङ साइटमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । तर अहिले मुख्य बेटिङ साइट वनएक्स बेट नै निर्वाध रूपमा चलिरहेको छ । 

 नेपालमा जुवा प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ ।

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, "कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।"

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । 

त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ ।

तर, कानूनी छिद्रको फाइदा उठाउँदै प्रतिबन्धित सट्टेबाजीको ‘सरोगेट एडभटाइजिङ’ भइरहेको छ ।

 

के हो सरोगेट एड्भटाइजिङ ?

सरोगेट एड्भटाइजिङ बजारीकरण गर्ने त्यस्तो तरिका हो, जहाँ कम्पनी आफ्ना उत्पादनको विज्ञापन गर्दैन । तर, कम्पनीको नाम वा फोटो राखेर त्यसलाई मात्र प्रचार गर्छ ।

विशेष गरी सोही नामसँग मिल्दोजुल्दो नामको अर्को कम्पनी सञ्चालन वा उत्पादन निर्माण गरेर सरोगेट एड्भटाइजिङ गर्ने प्रवृत्ति बढ्दो छ । उदाहरणका लागि मान्नुस् एउटा कखग अल्कोहल कम्पनीको मुख्य उत्पादन मदिरा जन्य पदार्थ हो ।

उक्त कम्पनीले सरोगेट एड्भटाइजिङमार्फत आफ्नो मदिराजन्य पदार्थको विज्ञापनका लागि कखग मिनरल वाटर वा सोडा नाम राख्छ । यसरी कखग मिनरल वाटरको प्रचार भइरहँदा अप्रत्यक्ष रूपमा कखग अल्कोहलको पनि प्रचार भइरहेको हुन्छ ।

किनभने यस्ता कम्पनीहरूले आफ्नो मुख्य कम्पनीबाटै आम्दानी गरिरहेका हुन्छन् । कानूनबाट बच्नका लागि धेरैजसो कम्पनीले यस्तो तरिका अपनाउने गरेको पाइन्छ ।

बेटिङको सन्दर्भमा पनि सरोगेट एड्भटाइजिङ हानिकारक हुने विश्लेषकहरूले औँल्याएका छन् । नेपालमा जुवामाथि प्रतिबन्ध लागेको अवस्थामा त्यस्ता कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न थुप्रै तरिका अपनाइरहेका छन् ।

अनलाइन बेटिङ गैर कानूनी भएकाले सरकारले विभिन्न बेटिङ साइटमाथि प्रतिबन्ध पनि लगाएको छ । यस्तो अवस्थामा ती कम्पनीले सरोगेट एड्भटाइजिङको प्रक्रिया अपनाएर आफूमाथि लागेका प्रतिबन्धलाई खुइल्याइरहेका छन् । तर नेपाल सरकार भने यस्ता कम्पनीलाई कानूनको दायरामा ल्याउन सकिरहेको छैन । 

 

 

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १९:५३