close

यस्तो छ, २ लाख मूल्यको बिजुली साइकल चढ्ने प्रकाश शर्माको अनुभव

प्रकाश शर्मा

मंसिर २६, २०८० १८:३२

यस्तो छ, २ लाख मूल्यको बिजुली साइकल चढ्ने प्रकाश शर्माको अनुभव

सन् २०१५ देखि नियमित रूपमा मैले साइकल चलाउँदै आएको छु । चाहे त्यो रमाइलोका लागि होस् वा कार्यालय जान/आउन । जोरपाटी (घर)बाट दरबारमार्गमा रहेको कार्यालय पुग्ने मेरो माध्यम साइकल नै हो । तर उमेर ५० कटेपछि भने साइकल चलाउन अलि गाह्रै हुन थालेको थियो । घुँडा दुख्ने समस्या बढिरहेको थियो ।

अनि माउन्टेन साइकलमा मलाई सहज हुने कुनै विकल्प बजारमा छन् कि भनेर हेर्न थालेको थिएँ । हब मोटर भएको साइकल पाइएको थियो । तर म प्याडल एसिस्ट मोटर भएको साइकलको खोजीमा थिएँ । किनकी यसले प्याडल चलाउन सहयोग गर्छ । तर हब मोटरमा भने बटन थिचेको भरमा नै साइकल गुडाउन सकिन्छ । त्यसले मलाई अल्छी बनाउँछ भनेर म पन्छिरहेको थिएँ । 

त्यतिबेला मसँग भएको साइकलको ब्रान्डले नै प्याडल एसिस्ट मोटर भएको साइकल नेपाल भित्र्यायो । तर त्यसको मूल्य कुनै राम्रो मोटरसाइकल बराबर थियो । मैले आँट्नै सकिनँ ।

अलि पछि चिनियाँ ब्रान्ड याडियाले प्याडल एसिस्ट मोटर भएको साइकल याडिया वाईएस ५०० साढे दुई लाख रुपैयाँमा नेपालमा सार्वजनिक गर्‍याे । त्यसको केही समयपछि दशैं तिहारको अवसरमा त्यसको मूल्य एक लाख ९३ हजारमा झारिएको थियो । अनि मैले सो मूल्यमा छुट पाएर एक लाख ८८ हजारमा याडिया वाईएस ५०० किनेँ ।

यो बिजुली साइकल किन्दा मैले अर्को माउन्टेन साइकल बेचेको थिएँ । तर बिजुली साइकल खरिद गरेको दिन अर्थात् २८ सेप्टेम्बर २०२१ देखि नियमित रूपमा मैले यसलाई चलाइरहेको छु । अहिलेसम्म साढे पाँच हजार किलोमिटर भन्दा बढी दूरी पार गरिसकेको छु । बिजुली साइकल खरिद गरेपछि पहिलेको जस्तो उकालो बाटोमा खुट्टा दुख्ने गरेको छैन । साइकल चलाउन धेरै सहज भएको छ । 

सामान्यतः: एउटा राम्रो माउन्टेन साइकलको मूल्य ६०-७० हजार रुपैयाँ पर्छ । मैले त्यो रकममा एक लाख रुपैयाँ मात्र थपेको हो । अहिलेसम्म साइकलले मूल्य अनुसारको काम गरिरहेको छ । हुन त मसँग अर्को माउन्टेन साइकल अझै छ । तर मेरो रोजाइमा यही बिजुली साइकल पर्छ । त्यो पहिलेको साइकलको तौल १० किलोग्राम जति छ भने यो बिजुली साइकलको तौल करिब २५ किलोग्राम छ । ब्याट्री, माेटर र मोटो फ्रेमका कारण यसको तौल बढी भएको हो ।

हब मोटर भएको साइकल भए बटन थिच्दा पनि स्टार्ट गर्न सकिन्छ । तर यसमा भने प्याडल नहानी मोटरले काम गर्दैन । अर्थात् एउटा पाइला चाल्न मैले प्रयास गर्दा अर्को पाइला चाल्न मलाई साइकलले सहयोग गर्छ । यसमा भएको मोटर त्यस्तो शक्तिशाली छैन, ताकि साइकललाई स्वत: कुदाउन सकौँ । त्यसकारण यसमा नौ वटा गियर र तीन ओटा एसिस्ट बटन दिइएको छ ।

‘अन’ बटन नदबाई सामान्य साइकल जस्तै चलाउन समेत सकिन्छ । त्यसरी कुदाउँदा साइकल गह्रौं भने हुन्छ । अहिलेसम्म यो साइकल चलाउँदा म कुनै उकालोमा रोकिनु परेको छैन ।

औसतमा दैनिक १६ किलोमिटर म साइकलबाट यात्रा गर्ने गर्छु । त्यो तरिकाले साइकल कुदाउँदा पनि दुई वर्षमा मेरो खर्च ब्रेकशुको तार फेर्दा, हेडलाइट राख्दा बाहेक अन्यमा भएको छैन । बिजुली साइकलको ब्रान्ड चिनियाँ भए पनि यसका अन्य सामानहरू सजिलै पाइने रहेछ ।

तर ब्याट्री बिग्रिएको खण्डमा भने बनाउन वा नयाँ फेर्न चीन नै पुर्‍याउनु पर्ने रहेछ । त्यसबेला भने केही महिना पर्खनुको विकल्प हुँदैन । मैले यो दुई वर्षको अवधिमा नै ब्याट्रीको स्वास्थ्य बिग्रिरहेको महसुस गरेको छु । पहिले चार दिनसम्म चार्ज नगर्दा केही हुन्थेन । अहिले कम्तीमा दुई दिनको फरकमा चार्ज गर्नै पर्छ ।

कम्पनीका अनुसार साढे छ घण्टामा यसको ब्याट्रीलाई फुल चार्ज गर्न सकिन्छ । बीच बाटोमा नै ब्याट्री सकिए पनि रोकिएर बस्नु भने पर्दैन । तर यसमा रिजेनको फिचर भने छैन । यो साइकलले मलाई एक पटकको चार्जमा औसत ४५ किलोमिटर रेञ्ज दिन्छ, कम्तीमा दुई वर्ष चलाएको मेरो अनुभवले त्यस्तै भन्छ ।

तर कम्पनीका अनुसार एसिस्ट मोड एकले भने १००, दुईले ९० र तीनले ७० किलोमिटरसम्म रेञ्ज दिन्छ । साइकलको ओडोमिटरबाट ब्याट्री प्रतिशत र गति हेर्न सकिन्छ । तर साइकलमा मड गार्ड नहुँदा पानी पर्ने मौसममा केही समस्या हुन्छ । त्यसो भन्दै गर्दा काठमाडौंको अधिकांश बाटो पक्की बनिसकेको छ । त्यहीँ माथि म साइकल चलाउँदा कालो पाइन्ट लगाउँछु । त्यसो हुँदा खासै फोहोर देखिँदैन ।

कम्पनीले मलाई यो साइकल खरिद गर्दा ब्याट्रीमा १८ महिना र मोटरमा २ वर्षको वारेन्टी दिएको थियो । अहिलेसम्म त्यस्तो समस्या भोग्नु परेको छैन । काठमाडौं उपत्यकाका लागि यो साइकल राम्रो विकल्प हो । किनकी पेट्रोल, जिम आदि शीर्षकमा अतिरिक्त खर्च हुँदैन ।

साइकल वातावरणमैत्री पनि हुन्छ । त्यस्तै स्वास्थ्यको दृष्टिकोणले साइकल चलाउनु आफैंमा फाइदाजनक छ । यी सबैका आधारमा म यो साइकललाई १० मा ८ नम्बर दिन्छु ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १८:३९