close

चोक चोकमा एलियन भेषमा मानिस, पठाओको ब्यागमा के होला ?

टेकपाना टेकपाना

मंसिर ३०, २०८० १३:३९

चोक चोकमा एलियन भेषमा मानिस, पठाओको ब्यागमा के होला ?

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रभित्र शनिबार एलियन भेष धारण गरेका एक व्यक्ति देखिए । ती व्यक्तिलाई स्थानीय तथा सर्वसाधारणहरूले उत्सुकताका साथ हेरिरहेका थिए । केहीले सेल्फी खिचे । कोही भने नजिकै गएर बुझ्न खोजे ।

चलचित्रमा देखिने एलियनको कपडाजस्तो लगाएका ती व्यक्तिको हातमा झोला थियो । अनि कपडा र झोलामा दुवैमा पठाओको लोगो थियो । अलिक चनाखो हुनेहरूले पठाओको बजारीकरण भइरहेको चाल पाइहाले । अन्यलाई भने रमिता लाग्यो ।

वास्तवमा यो राइड शेयरिङ एव फुड डेलिभरी सेवाप्रदायक पठाओ नेपालको मार्केटिङ क्याम्पेन थियो । अहिले वसन्तपुरसहित काठमाडौंका व्यस्त चोकहरू न्यूरोड, बानेश्वर, बौद्ध, पाटन, कुमारीपाटी लगायतमा पठाओले एलियन अवतारका मानिसहरू हिँडाइरहेको छ ।

कम्पनीले आफ्ना पछिल्ला तथा नयाँ सेवाबारे ग्राहक तथा सर्वसाधारणको ध्यान तान्न यसो गरेको अनुमान गरिएको छ । 

पठाओले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीले सबै जानकारी १९ डिसेम्बरमा दिने जनाएको छ ।


पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १६:१७