close

किशोरीलाई अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने युवक ९ महिनापछि दुबईबाट पक्राउ

टेकपाना टेकपाना

पुस ४, २०८० १८:२५

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । अनलाइनमार्फत किशाेरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी गरी ती युवकलाई दुबईबाट नियन्त्रणमा लिई बुधवार नेपाल ल्याइएकाे छ ।

पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका वडा नं. १ स्थायी घर भई रोजगारीको सिलसिलामा दुबईमा रहेका ३३ वर्षीय सगीर अहमद रहेका छन् । साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार आरोपी युवक दुबईमा रहेको बेला सामाजिक सञ्जाल फेसबुकमा किशाेरी (नाबालिका) सँग जोडिएका थिए ।

त्यसपछि कुरा गर्दै जाँदा किशाेरीलाई भिडिओ कलमा अश्लील क्रियाकलाप गर्न बाध्य पार्न थाले । यसरी अनावश्यक रूपमा यौनजन्य क्रियाकलाप गर्न लगाएर मानसिक यातना दिएपछि किशाेरीकाे परिवारले २०७९ साल माघ २५ गते साइबर ब्यूरोमा उजुरी दियाे ।

उजुरीका आधारमा ब्यूरोले अनुसन्धान गर्दै जाँदा अहमद संलग्न रहेको पत्ता लागेपछि इन्टरपोलको सहयोगमा पक्राउ गरिएको रायले जानकारी दिए । आरोपी सगीरमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान एवं कारबाहीकाे प्रक्रिया अघि बढेकाे छ ।

 

पछिल्लो अध्यावधिक: पुस ४, २०८० १८:२५