close

तीन नेपाली बने अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स रेफ्री

टेकपाना टेकपाना

पुस ७, २०८० १८:३०

तीन नेपाली बने अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स रेफ्री

काठमाडौं । तीन जना नेपाली युवा ई-स्पोर्ट्स रेफ्री बनेका छन् । ई-स्पोर्ट्स समिट २०२३ को अवसर पारी दक्षिण कोरियाको बुसानमा हालै भएको ई-स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका अरुण मिश्र, सौजन्य श्रेष्ठ र क्षितिज श्रेष्ठले रेफ्री टायर टुकाे लाइसेन्स पाएका हुन् ।

इन्टरनेसनल ई-स्पोर्ट्स फेडेरेसन (आईईएसएफ)ले सञ्चालन गरेकाे रेफ्री काेर्समा सहभागी भएर उनीहरूले लाइसेन्स पाएका हुन् । लाइसेन्स पाएकामध्ये अरुण र सौजन्य काउन्टर स्ट्राइक गेमका खेलाडी समेत हुन् । उनीहरूले हालै चीनमा सम्पन्न एसियन गेम्स २०२३ खेलेका थिए । त्यस्तै मोटर स्पोर्ट्सका मार्सल रहेका क्षितिज चेसका आर्बिटर हुन् । 

आईईएसएफकाे भाैतिक तालिमका लागि तीनै जनालाई नेपाल ई-स्पोर्ट्स एसोसिएसन (नेसा)ले सिफारिस गरेकाे थियाे । वर्ल्ड ई-स्पोर्ट्स रेफ्री एकेडेमीको लाइसेन्स कोर्स गरेपछि अब उनीहरूले राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीकाे भूमिका निभाउन पाउने नेसाका अध्यक्ष सुरज डंगाेलले बताए ।

नेपालभित्र हुने ई-स्पोर्ट्स प्रतियाेगिताका साथै दक्षिण एसिया क्षेत्र र अन्य अन्तर्राष्ट्रिय प्रतियाेगितामा समेत नेपाली रेफ्रीहरूलाई सहभागी गराउन पहल गर्ने उनले बताए ।

रेफ्रीको लाइसेन्स प्राप्त गरेका अरुण मिश्रले आफूहरू ई-स्पोर्टसमा नयाँ भूमिकामा काम गर्न उत्साहित भएको प्रतिक्रिया दिए । ''नेपालमा ई-स्पोर्ट्सको रेफ्री भएको हामी नै पहिलाे हाैं । आईईएसएफका इभेन्टमा रेफ्री आवश्यक छ भने हामी जान पाउँछौं,'' उनले भने, ''नेसा (नेपाल) ले आयोजना गरेको इभेन्टमा त हामी रेफ्री हुन्छौं नै । त्यसका साथै एसियन ई-स्पोर्ट्स एसोसियसनले आयोजना गरेका खेलमा पनि रेफ्री हुन योग्य हुन्छौं । साथमा अन्य ई-स्पोर्ट्समा पनि जनरल रेफ्रीकाे भूमिका निभाउन पाउने छाैं।'' 

इन्टरनेसनल ई-स्पोर्ट्स फेडेरेसनले हाल काउन्टर स्ट्राइक, डोटा टु, सीएस, पब्जी मोबाइल, टेक्केन सेभेन, मोबाइल लेजेन्ड्स, फ्रिफायर, ईफुटबल लगायतका खेलहरूकाे प्रतियाेगिता गरिरहेकाे छ । यी खेल क्षेत्रीय र स्थानीय रूपमा पनि हुँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८० १८:५०