close

कस्तो छ भिभो वाई २७ एस ?

उष्मा अधिकारी

पुस १०, २०८० १५:४०

कस्तो छ भिभो वाई २७ एस ?

काठमाडौं । ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ जीबी र्‍याम, २५६ जीबी स्टोरेज र ५००० एमएएच क्षमताको ब्याट्री तथा स्पार्कलिङ क्रिस्टलाइन म्याट फिनिश भएको प्रिमियम डिजाइन सहित नेपाली बजारमा हालै भिभाेकाे नयाँ फोन 'भिभो वाई २७ एस' भित्रिएकाे छ । २४ हजार ९९९ रुपैँया बजार मूल्य रहेको यो फोन कसका लागि उपयुक्त छ त ? आज हामी यसैबारे चर्चा गर्दैछौं:

बर्गेन्डी ब्ल्याक कलरको यो फोन अरुभन्दा भिन्न देखिन्छ । फोनको ब्याक कभर हार्ड प्लास्टिक र साइनिङ मटेरियलले बनेको छ । यसमा डुअल क्यामेरा सेटअपसँगै एउटा फ्ल्याश देख्न सकिन्छ । त्यस्तै दायाँपट्टि भोल्युम अप/डाउन र पावर बटन छ, जसले फिङ्गरप्रिन्ट सेन्सरको पनि काम गर्छ ।

फोनको तलपट्टि भने ३.५ एमएम हेडफोन ज्याकपोट, टाइप-सी चार्जिङ पोर्ट र एउटा स्पिकर देख्न सकिन्छ । फोनको माथिपट्टि भने सिम कार्ड स्लट छ । यसमा तपाईंले दुई ओटा नानो सिम र एउटा माइक्रो एसडी कार्ड राख्न सक्नुहुन्छ । 

डिस्प्लेको सन्दर्भमा भिभो वाई २७ एसमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.६४ इन्चको एफएचडी प्लस एलसीडी सनलाइट डिस्प्ले छ । यसको पिक ब्राइटनेस ६५० निट्ससम्मको छ । सनलाइट डिस्प्ले भएकाले सिधै घाम पर्दा पनि स्क्रिन भिजिबल नै हुन्छ । तर वाटर ड्रप नच भएकाले थोरै बेजल्स चाहिँ यो फोनमा देखिन्छ । 

अब चर्चा गरौं, फोनको क्यामेराबारे । क्यामेरामा विभिन्न मोड छन् । क्यामेरा पारखीका लागि भिभो एउटा गतिलो विकल्प नै हो भन्दा फरक पर्दैन । किनभने फिचर होस् वा फिल्टर, अथवा इफेक्ट किन नहोस् कम बजेटमा पनि भिभोले कम्प्रमाइज नगरिकन स्मार्टफाेन उपलब्ध गराएको हुन्छ ।

यो फोनमा नाइट, पोट्रेट, फोटो, भिडिओ, पानोरोमा, डकुमेन्ट, स्लो मोसन, टाइम ल्याप्स, प्रो, डबल एक्सपोजर, लाइभ फोटोजस्ता मोडहरू रहेका छन् । क्यामेराको हरेक मोडमा विभिन्न इफेक्ट र फिल्टर दिइएको छ ।

भिभो वाई २७ एसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ८ मेगापिक्सेल सेल्फी क्यामेरा समावेश गरिएको छ । ​रियर वा सेल्फी दुवै क्यामेराले खिचेको फोटोमा 'ह्वाइटेस टोन' चाहिँ अलि बढी नै भएको पाइयो ।

सोसल मिडियामा चम्किलो फोटो हाल्न मन गर्नेका लागि यो फोनले सन्तुष्ट नै बनाउँछ । क्यामेरामा भएका लाइट इफेक्ट र फिल्टरको प्रयोग गरेर विभिन्न किसिमका फोटो निकाल्न सकिन्छ । त्यस्तै यसमा एचडीआर अन/अफको अप्सन पनि छ । ​एचडीआर अन गरेर खिचिएका फोटोमा कलर कन्ट्रास्ट मिलेको र अझै प्राकृतिक लुकिङ फोटो आएको महसुस हुन्छ । हाइ रेजोलुसनको फोटो खिच्न यसमा अल्ट्रा एचडी फोटो मोड पनि छ ।

यस स्मार्टफोनमा भएको 'ब्युटी' मोडले स्किन टोनलाई मिलाउनुका साथै ह्वाइटिनिङ गर्ने, फेसको स्ट्रक्चर परिवर्तन गर्ने लगायतका काम गर्छ । साथै 'स्टाइल' फिचर प्रयोग गरेर विभिन्न स्टाइलमा फोटो खिच्न सकिन्छ ।

भिडिओको सन्दर्भमा भने ३० एफपीएसमा १०८० पिक्सेल र ६० एफपीएसमा ७२० पिक्सेलको भिडिओ खिच्न सकिन्छ । यसमा भिडिओ स्टेबलाइजेसनको सुविधा दिइएको छ । भिडिओ स्टेबलाइजेसनको अप्सन अन गरेर स्टेबल फुटेज पनि खिच्न सकिन्छ । तर, भिडिओ क्वालिटीका हिसाबले भने यो फोन ठीकै मात्र छ । भिडिओमा पनि फोटो जस्तै फिल्टर र ब्युटी मोड हुनु यो फोनको राम्रो पक्ष हो । 

अपरेटिङ सिस्टमको कुरा गर्नुपर्दा यो फोन एन्ड्रोइड १३ मा आधारित छ भने भिभोको आफ्नै फनटच ओएसद्वारा सञ्चालित छ । त्यस्तै फोनमा २०२१ तिर रिलिज भएको क्वाल्कम स्न्यापड्रागन ६८० फोरजी ६ एनएम प्रोसेसर प्रयोग भएको छ । सामान्य सोसल मिडिया एप चलाउन, पब्जी, फ्रिफायर जस्ता गेम नर्मल सेटिङमा खेल्न यो फोनमा खासै समस्या हुँदैन ।

र्‍याम र स्टोरेजको हिसाबले चाहिँ यो फोन निकै नै अब्बल छ । किनभने फोनमा ८ जीबी र्‍याम छ, जसलाई भर्चुअल रूपमा १६ जीबीसम्म बढाउन मिल्छ । त्यसैगरी इन्टर्नल स्टोरेज भने यूएफएस २.२ मा आधारित २५६ जीबी पाउन सकिन्छ । 

फोनमा पर्सनलाइजेसनका थुप्रै अप्सन पाउन सकिन्छ । फोनको डाइनामिक इफेक्ट्स अन्तर्गत फोन चार्ज गर्दा, स्क्रिन अन/अफ गर्दा, फेस रिकग्नाइज गर्दा विभिन्न एनिमेसनको अप्सन पाउन सकिन्छ ।

त्यसैगरी फोनमा आई प्रोटेक्सन मोड, डार्क थिम मोड पनि छ । डिस्प्ले थिम र वालपेपरमा पनि पर्सनलाइजेसनको अप्सन पाउन सकिन्छ । त्यतिमात्र नभएर फोनमा अल्ट्रा गेम मोड पनि छ, जसलाई अन गरेर गेम खेल्दा तपाईंको गेमिङ अनुभव अझै स्तरीय हुन्छ । फोनमा भएको कस्टमाइजेसन र पर्सनलाइजेसनको अप्सनले फोनलाई स्तरीय बनाएको छ ।

त्यस्तै फोनमा सेफ्टी एन्ड इमर्जेन्सी अन्तर्गत मेडिकल इन्फरमेसन राख्ने, इमर्जेन्सी कन्ट्याक्ट राख्ने र अर्थक्वेक मोड अन गर्ने फिचर दिइएको छ । अत्यावश्यक परेको बेला यी फिचरहरू अत्यन्तै उपयोगी हुन्छन् । अर्थात् यो फोनको प्रयोगकर्ता कुनै दुर्घटनामा परे भने त्यो समयमा उनीहरूको डिभाइस अनलक नगरेरै कसैले इमर्जेन्सी कन्ट्याक्टमा रहेको नम्बरमा फोन गरिदिन सक्छ । 

एक्सेसिबिलिटी अन्तर्गत स्प्लिट स्क्रिन, थ्री फिङ्गर स्क्रिनशटजस्ता फिचर यसमा समावेश छन् । सेक्युरिटीका लागि फिङ्गरप्रिन्ट, फेसलक, पिन तथा प्याटर्न प्रयोग गर्न सकिन्छ ।

कनेक्टिभिटीका लागि फोनले डुअल ब्यान्ड वाई-फाई सपोर्ट गर्छ । फोनले आईपीएक्स फाइभ डस्ट रेसिस्टेन्स र आईपीएक्स फाेर वाटर रेसिस्टेन्स रेटिङ पाएको छ । 

५००० एमएएच क्षमताको लिथियम आयन ब्याट्री भएको यो फोनलाई चार्ज गर्न कम्पनीले ४४ वाटको फास्ट चार्जर उपलब्ध गराएको छ । एक पटकको फुल चार्जमा फोनको ब्याट्री सामान्य कामका लागि दुई दिनसम्म टिक्न सक्छ ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १६:६