close

समाचार कपी गरेको भन्दै च्याटजीपीटी र माइक्रोसफ्ट विरुद्ध न्यूयोर्क टाइम्सले हाल्यो मुद्दा

टेकपाना टेकपाना

पुस १२, २०८० १५:१५

समाचार कपी गरेको भन्दै च्याटजीपीटी र माइक्रोसफ्ट विरुद्ध न्यूयोर्क टाइम्सले हाल्यो मुद्दा

काठमाडौं । न्यूयोर्क टाइम्सले च्याटजीपीटी निर्माता ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको छ । एआईमार्फत सर्वसाधारणलाई तत्कालै जानकारी दिन यी कम्पनीले लाखौं लेखहरू कपी गरी च्याटबटलाई तालिम दिएको भन्दै न्यूयोर्क टाइम्सले बुधवार अमेरिकास्थित संघीय जिल्ला अदालत म्यानहट्टनमा मुद्दा दायर गरेको हो ।

प्रकाशित समाचार प्रयोग गरी एआई टुललाई तालिम दिएको आरोपमा च्याटजीपीटी निर्माताविरुद्ध मुद्दा दायर गर्ने आफू पहिलाे अमेरिकी सञ्चारमाध्यम भएको न्यूयाेर्क टाइम्सले दाबी गरेको छ ।

विशेषगरी त्यही च्याटबटले सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्ने अवस्था आएपछि कम्पनीले मुद्दा दायर गरेको समाचारमा उल्लेख गरेको छ । यो मुद्दा क्षतिपूर्ति स्वरूप रकम माग गर्नका लागि नभइ आरोप लगाइएका कम्पनीलाई ठूलो रकम (जुन अरबौं डलर हुन सक्छ) तिर्नको लागि जिम्मेवार हुनुपर्ने न्यूयोर्क टाइम्सको भनाइ छ ।

कम्पनीले मुद्दामा क्षतिपूर्ति भराउने मात्र नभई च्याटबट नै हटाउन माग राखेको छ । उजुरीमा माइक्रोसफ्ट र ओपनएआईलाई गत अप्रिलमै न्यूयोर्क टाइम्सले आफ्नो बाैद्धिक सम्पत्तिको बारेमा सवाल उठाएको, तर ती कम्पनीले उक्त सवाल बेवास्ता गरेको उल्लेख छ ।

यस विषयमा ओपनएआईका प्रवक्ता लिन्डसी हेल्डले विज्ञप्ति जारी गर्दै कम्पनी न्यूयोर्क टाइम्ससँग रचनात्मक रूपमा कुरा अगाडि बढिरहेको र एक्कासि मुद्दा परेको समाचार बाहिर आउँदा आश्चर्य र निराश भएको उल्लेख गरेका छन् ।

"हामी कन्टेन्ट क्रियटर र त्यसका हकदारको सम्मान गर्छौं । र, एआई प्रविधिमार्फत आम्दानीको नयाँ मोडेलबाट उनीहरू लाभान्वित हुनेमा हामी प्रतिबद्ध छौं," उनले लेखेका छन्, "हामी सबैको भलाइ हुने गरी सहकार्य गर्ने नयाँ तरिका फेला पार्नेमा आशावादी छौँ । हामी अन्य प्रकाशकसँग पनि त्यसरी नै काम गरिरहेका छौं ।" यसबारे माइक्रोसफ्टले भने आफ्नो कुनै धारणा दिएको छैन ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८० १६:९