close

‘गौशाला २६’ को फोटो सार्वजनिक गर्ने तथा अश्लील कमेन्ट गर्ने व्यक्तिहरूलाई खोज्दै प्रहरी

टेकपाना टेकपाना

पुस २६, २०८० १८:२३

‘गौशाला २६’ को फोटो सार्वजनिक गर्ने तथा अश्लील कमेन्ट गर्ने व्यक्तिहरूलाई खोज्दै प्रहरी

काठमाडौं । सामाजिक सञ्जालमा 'गौशाला २६' को नाम जोडेर फोटो राख्नेमाथि कारबाही हुने भएको छ । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेपछि सामाजिक सञ्जालमा 'गौशाला २६' को फोटो भन्दै शेयर गर्ने व्यक्तिहरूलाई प्रहरीले कानूनी दायरामा ल्याउन लागेको हो ।

पीडित गौशाला २६ ले हालै विभिन्न व्यक्ति एवं सामाजिक सञ्जाल अकाउन्टविरुद्ध जाहेरी दिएकी छन् । याेसँगै उनको नाम जोडेर फोटो शेयर गर्ने अन्य व्यक्तिहरूलाई पनि कानूनी दायरामा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

टेकपानासँग कुरा गर्दै नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायले अनुसन्धानका क्रममा जसले फोटो शेयर गरेका छन् वा गाली गरेका छन्, उनीहरू सबै कानूनको दायरमा आउने बताए । 

“पीडितले दिएको उजुरीको अनुसन्धान अघि बढिसकेको छ,” प्रहरी उपरीक्षक रायले भने, “अनुसन्धानको क्रममा ज-जसले फोटो शेयर गरेका छन् वा गाली गरेका छन्, ती सबै कानूनी दायरामा आउँछन् ।”

गाली बेइज्जती गरेको छ भने त्यही अनुसार उजुरी दर्ता हुने र फोटो शेयर गरेको सन्दर्भमा विद्युती कारोबार ऐन, २०६३ आकर्षित सबै व्यक्ति पर्ने रायले सुनाए । 

“कसैले जानेर वा नजानेर फोटो वा भिडिओ राखेको छ वा शेयर गरेको छ भने पनि कानूनी दायरमा आउँछन्,” उनले भने । 

पछिल्लाे केही दिनदेखि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले शेयर गरेका फोटो तथा भिडिओ गौशाला-२६ काे भएको भन्दै प्रचार गरिएको छ । त्यस्ता पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले अश्लील गाली गर्ने वा नकारात्मक टिप्पणी गरिरहेका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले लहैलहैमा सार्वजनिक गरेका फोटो वा पोस्टमा गरेका प्रतिक्रियाले गर्दा कानूनी झमेलामा पर्न सक्ने ल फर्म ‘लुकेका ल’का संस्थापक एवं अधिवक्ता सुरज तिमल्सिनाले बताए । 

“यदि पीडित व्यक्तिको चरित्रमाथि प्रहार गर्ने नियतले निजको तस्वीर तथा अन्य व्यक्तिगत विवरणहरू सार्वजनिक गरिन्छ भने त्यसका निम्ति कानूनी उपचारको बाटो छ,” अधिवक्ता तिमल्सिनाले भने, “त्यसका लागि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५, व्यक्तिगत गोपनीयता ऐन २०७५ तथा मुलुकी अपराध संहिता २०७४ को भाग ३ आकर्षित हुन्छ ।”  

उनले अगाडि भने, “यदि पीडितको फोटो होइन, अन्य कुनै व्यक्तिको फोटो राखेर शेयर गरेको छ भने त्यस्तो अवस्थामा समेत व्यक्तिगत गोपनीयता ऐन २०७५, विद्युतीय कारोबार ऐन २०६३, मुलुकी अपराध संहिता २०७४ को भाग ३ अनुसार सजाय भोग्नु पर्ने हुन्छ ।”

कोही पीडित छ भने उसको गोपनीयता नैतिकताको आधारमा पनि संरक्षण गर्नुपर्ने अधिवक्ता तिमल्सिनाको धारणा छ  । 

पीडितको विवरणलाई गोप्य राख्नुपर्ने कुरा अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ६ बमोजिम पीडितको अधिकारभित्र पर्ने विषय भएकाले कानूनले प्रदान गरेको त्यस्तो अधिकार सुरक्षित हुने विश्वासमा पीडित उजुरी दिन जाने गरेको तिमल्सिनाले सुनाए ।

“त्यस्तो अधिकारलाई संरक्षण गर्ने दायित्व नेपाल सरकार, अदालत तथा अन्य सरोकारवाला निकायको हो । यदि यसरी सरोकारवाला निकायले पीडितको विवरणलाई गोप्य राख्न नसक्ने अवस्था भयो भने त्यसले भविष्यमा पीडितलाई न्यायका निम्ति उजुरी गर्न निरुत्साहित गर्छ,” उनले थपे ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८० १८:३९