close

निन्द्रामा घुर्नेहरूको समस्या समाधान गर्न चिनियाँ कम्पनीले ल्यायो स्मार्ट सिरानी

टेकपाना टेकपाना

माघ १, २०८० १४:४६

निन्द्रामा घुर्नेहरूको समस्या समाधान गर्न चिनियाँ कम्पनीले ल्यायो स्मार्ट सिरानी

काठमाडौं । अमेरिकामा जारी सीईएस २०२४ मा एक चिनियाँ कम्पनीले एन्टीस्नोरिङ अर्थात् घुराई प्रतिरोधी सिरानी प्रस्तुत गरेको छ । डेरुची नामक कम्पनीले निन्द्रा स्वास्थ्यसँग सम्बन्धी प्रविधि (स्लिप हेल्थ टेक्नोलोजी) मा आफूले ल्याएको यो स्मार्ट सिरानी पहिलो भएको दाबी गरेको छ ।

त्यसो त कम्पनीले गत १४ डिसेम्बरमै आफ्नो नयाँ प्रोडक्ट लाइनअपको घोषणा गरेको थियो । यसका स्मार्ट स्लिप प्रोडक्टमा स्मार्ट म्याट्रेस (डस्ना), इन्टेलिजेन्ट हाइट-एडजस्टेबल सिरानी, एआई स्लिप मनिटरिङ, इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल प्यानल र कर्टेन ट्रयाकर रहेका छन्, यी सबै उत्पादन मङ्गलवार सीईएस २०२४ मा सार्वजनिक गरिएका हुन् ।

डेरुची निन्द्रा स्वास्थ्यसँग सम्बन्धित कम्पनी हो, जसको लक्ष्य नै "मानिसहरूलाई राम्रोसँग सुत्न देउ" भन्ने रहेको छ । सन् २००४ मा स्थापना भएको यो कम्पनीले आफ्ना उत्पादन बजारमा ल्याउन अन्तर्राष्ट्रिय मेडिकल सङ्घ संस्था र अनुसन्धान संस्थासँग सहकार्य गर्दै आएको छ ।

गत वर्ष मात्रै डेरुचीले १२ ओटा नयाँ एआई डस्ना सार्वजनिक गरेको थियो । कम्पनीले १७ भन्दा बढी देश तथा विश्वभर क्षेत्रीय रूपमा कस्टम बेडिङ समेत बिक्री गर्दै आएको छ ।

 

कस्तो छ स्मार्ट सिरानी ?

कम्पनीले ल्याएको घुराई प्रतिरोधी सिरानी यस वर्षको सीईएसमा राखिएको एउटा नवीनतम र आरामदायी उत्पादन हो । यो सिरानीले घुरेको थाहा पाउन हलुका किसिमको चाललाई मनिटर गर्छ ।

जब सिरानीले निदाईरहेको व्यक्ति घुरेको चाल पाउँछ, तब यसले अग्लो भागलाई मिलाउँछ र निदाइरहेको व्यक्तिको टाउकाको स्थिति परिवर्तन गरिदिन्छ ।

यो एन्टी-स्नोर स्मार्ट सिरानी एपसँग जोडिएको छ, जसको सहयोगमा निदाउनु अघि आफ्नो टाउको आरामदायी अवस्थामा फर्काउन मिल्छ । एउटा आन्तरिक क्लिनिकल अध्ययनलाई उद्धृत गर्दै उक्त कम्पनीले यो सिरानीले घुर्ने समस्या ८९ प्रतिशतले कम गर्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: माघ १, २०८० १४:४६