close

समिर शाक्यको ईभी अनुभव- टायर चिप्लिने समस्याबाहेक यो गाडी सबै कुरामा उत्तम छ

समिर शाक्य

माघ ७, २०८० १२:२२

समिर शाक्यको ईभी अनुभव- टायर चिप्लिने समस्याबाहेक यो गाडी सबै कुरामा उत्तम छ

०७२ सालकाे भूकम्प, अनि भारतकाे नाकाबन्दी । तत्कालीन समयमा नेपालभित्र पेट्रोलियम पदार्थकाे अभाव गराउन यी कारण पर्याप्त थिए । सो समय यातायात व्यवसायी तथा सवारी धनीहरूका लागि कठिन बने पनि हामीलाई भने खासै असर परेन ।

किनकी हामीसँग त्यस समयमा रेभा ब्रान्डको बिजुली गाडी (ईभी) थियाे ।​ खासमा यही ब्रान्डबाट हामीले बिजुली गाडी चलाउन थालेका हौं ।

मैले त्यतिबेलै बुझिसकेको थिएँ कि अबको युग पेट्रोल र डिजेलको होइन, एआई र ईभीको हो । ​रेभाको बिजुली गाडीपछि बीवाईडीकै ईटु (BYD e2) किन्यौं ​। त्यसबाट पनि हामी धेरै ठाउँ पुगिसक्यौं । अहिले घरमा थप बिजुली गाडी पनि छन् । परिवार पनि बिजुली गाडीमै अभ्यस्त भइसकेको छ ।

आजकल म बीवाईडी एट्टो थ्री कुदाउँछु । यो गाडी किनेको पाँच महिनामात्र भएको छ । ५२८० किलोमिटर बढी गुडाइसकेकाे छु । यसरी हेर्दा प्रतिमहिना सालाखाला एक हजार किलोमिटर दरमा गाडी कुदाउँदाे रहेछु ।

नेपाली बजारमा यो गाडी ०७९ माघमा भित्रिएको थियो । धेरैले गाडीमाथि राम्रो प्रतिक्रिया दिइरहेका थिए । मलाई पनि यसका नयाँ फिचरहरू मन परेका थिए । अनि ६५ लाख रुपैयाँमा किनेँ ।

कम्पनीको दाबी अनुसार एकपटकको फुल चार्जमा यो गाडी ४३० किलोमिटरसम्म चल्छ । तर मेरो अनुभवमा काठमाडौं उपत्यकाभित्र चलाउँदा पनि गाडीले ३८० किलोमिटर मात्र रेञ्ज दिइरहेको छ ।

गाडीको ब्याट्री फुल चार्ज गर्न न्यूनतम ७-८ घन्टा लाग्छ । त्यति चार्ज गरेपछि उपत्यकामा एक हप्तासम्म गुडाउन सकिन्छ । किनकी प्राय: गाडीको यात्रा अफिस-घर मात्र हुने गर्छ ।

यो गाडीबाट लामो दूरीको यात्रामा गएको त छैन,  तर एकपटक धुलिखेलसम्म पुगेको छु । गाडीको सबै कुरा ठीक भएपनि टायर चिप्लिने समस्या रहेछ । यो समस्या सार्वजनिक रहस्य जस्तै छ । यदि सम्भव भए त्यस्ता टायरलाई फिर्ता पठाउनु राम्रो हुन्छ । मैले टायरको यो समस्या त्यही धुलिखेलको यात्रामा थाहा पाएँ ।

टायरको अको समस्या पनि छ । त्याे समस्या टायरको हावा फुस्कने हो । ​यत्तिकै गाडी राखिरहँदा टायरको हावा घट्ने समस्या एकपटक आइलगेको थियो । कम्पनीलाई भनेपछि तरल पदार्थ जस्तो केही दिएको थियो । त्यसलाई टायरमा लगाएपछि समस्या दोहोरिएको छैन । तर किन त्यस्तो समस्या भयो भनेर कम्पनीसँग कुरा गरिनँ ।

खासमा बीवाईडीको सर्भिस सेन्टर एउटा मात्र छ । कहिलेकाहीँ कतै जान हतार हुन्छ, सर्भिसिङको काम गरेर जाउँ भन्ने हुन्छ, तर यस्तो हुन्छ कि, घन्टौंसम्म कुर्नुपर्ने हुन्छ ।

अनि चाहेको कुरा पनि गर्न सकिँदैन । यस्तो समस्याको अन्त्य गर्न सर्भिस सेन्टरहरू थप्न अति आवश्यक छ । काठमाडौंमा बीवाईडीका गाडीहरू बाक्लै देखिन्छन् । कम्पनीले त्यतिमात्र सुधार गरिदिए हामी जस्ता बीवाईडी ग्राहकलाई धेरै सजिलो हुने थियो ।

यद्यपि बीवाईडीको सर्भिस सेन्टरसँग मेरो अनुभव राम्रो रहन गयो । एक पटक राति साढे १० बजेतिर गाडीबाट अचानक अनौठो आवाज आउन थाल्यो । त्यति राति सर्भिस सेन्टरमा किन कल गर्नु भन्ने लागेको थियाे । 

तर बिजुली गाडी भएकाले कल नगरी बस्न सकिनँ । कल गरेँ । त्यति राति कल गर्दा समेत फोन उठ्यो । गाडीमा खासै ठूलो समस्या भएको रहेनछ । सर्भिस सेन्टरकाले रातको समयमा फोन उठाउनु नै मलाई बीवाईडीको सकारात्मक पक्ष लागेको छ ।

एट्टो थ्री अगाडि मैले पहिल्यै पनि बिजुली गाडीहरू चलाउँदै आएको थिएँ । तर अन्य गाडीको तुलनामा यसमा धेरै नयाँ फिचरहरू छन् । ती फिचरहरूमध्ये मलाई सबैभन्दा मन परेको फिचर हो, ३६० डिग्री क्यामेरा ।

अर्थात् ३६० डिग्री भ्यू कैद गर्ने क्यामेरा । यही फिचरका कारण काठमाडौंका स-साना गल्लीहरूमा गाडी लिएर सजिलै जान सकेकाे छु । किनकी गल्लीहरूमा गाडीको दायाँ/बायाँ, अगाडि/पछाडि, तल/माथि सबैतिर ड्राइभर सिटमा बसेर नै हेर्न मिल्दो रहेछ । 

यस्तो राम्रो फिचर भएता पनि पर्याप्त चार्जिङ स्टेसन नहुनु र भएका स्टेसनहरू बिग्रेका अथवा व्यवस्थित नहुनु अर्को समस्या छ । सोहीकारण लामो यात्रा गर्ने रहर हुँदाहुँदै मैले पूरा गर्न सकेको छैन । कम्पनीले चार्जिङ स्टेसनहरूलाई सुधारे अथवा व्यवस्थित गरे म पनि एट्टो थ्रीबाटै उपत्यका बाहिर ढुक्कले जान सक्ने थिएँ । 

गाडीकाे अर्काे राम्राे पक्ष सिटहरू आरामदायी हुनु हो । यसले लामाे यात्रालाई सहज बनाउँछ । पानारोमिक रुफले पनि गाडीलाई भिन्न लुक्स दिएको छ । मैले भने यसलाई खासै प्रयोग गर्न पाएको छैन ।

त्यस्तै गाडीको स्पिडोमिटरको आकार अलि सानो छ । जसले गाडीको गति हेर्न अलि अप्ठ्यारो बनाउँछ । यसबाहेक मलाई मन पर्ने थुप्रै फिचर यस गाडीमा दिइएको छ । समग्रमा गाडीसँग मेरो अनुभव राम्रो छ । 

 (शाक्य इन्टरनेसनल साउण्ड सर्भिसेज (आईएसएस)का प्रबन्ध निर्देशक हुन् ।)

पछिल्लो अध्यावधिक: माघ ८, २०८० १२:०