close

जापानमा रहेकी प्रेमिकाको अश्लील भिडिओ आफन्तलाई पठाउने युवक पक्राउ

टेकपाना टेकपाना

माघ ९, २०८० १५:४८

जापानमा रहेकी प्रेमिकाको अश्लील भिडिओ आफन्तलाई पठाउने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले आइतवार गोरखा घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय भिमसेन भट्टलाई पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार पीडित युवती अध्ययन तथा रोजगारीका लागि हाल जापानमा छिन् । प्रेम सम्बन्धमा टकराव आएपछि भट्टले युवतीका पुराना फोटोमा अश्लीलता जोडी नयाँ फोटो/भिडिओ बनाएर विभिन्न सामाजिक सञ्जालमा राख्न थाले ।

त्यति मात्र नभई उनले ह्वाट्सएपमा युवतीका आफन्तलाई जोडेर त्यहीँबाट अश्लील सामग्री पठाउन थाले ।

यसरी फोटो/भिडिओमार्फत चरित्रहत्या भएपछि युवतीका आफन्तले साइबर ब्यूरोमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा भट्ट पक्राउ परेको ब्यूरोका प्रवक्ता रायले बताए ।

भट्टमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १५:५७