close

नेपाल टेलिकमभन्दा १० लाख बढीले चलाउँछन् एनसेलको फोरजी

टेकपाना टेकपाना

माघ १२, २०८० १३:५६

नेपाल टेलिकमभन्दा १० लाख बढीले चलाउँछन् एनसेलको फोरजी

काठमाडौं । नेपाल टेलिकमको तुलनामा एनसेलको नेटवर्कमा मोबाइल डेटा प्रयोगकर्ता बढी रहेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पल्ट सार्वजनिक गरेको भीएलआर (भिजिटर लोकेसन रजिस्टर) तथ्याङ्कले असोज महिनामा भ्वाइस सेवाका साथै डेटामा समेत टेलिकम पछि रहेको देखाएको हो ।

भीएलआर तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या ६८ लाख ८५ हजार ६५२ रहेको छ भने टेलिकमको फोरजी सेवामा सक्रिय ग्राहकको सङ्ख्या ५८ लाख ४९ हजार ९२५ रहेको छ । जब कि टेलिकमले आफ्नो फोरजी सेवामा आधारित मोबाइल ब्रोडब्यान्डमा एक करोड ३५ लाख १४ हजार ६५७ ग्राहक रहेको उल्लेख गरेको छ ।

यस्तै थ्रीजी सेवामा पनि टेलिकम एनसेलभन्दा पछाडि छ । १८ लाख ३२ हजार ३२४ ग्राहकले एनसेलको थ्रीजी सेवा चलाइरहँदा टेलिकमको थ्रीजीमा १७ लाख दुई हजार ९४२ ग्राहक मात्र छन् ।

तर टेलिकमले आफ्नो थ्रीजी सेवामा ५९ लाख ४५ हजार ७७४ ग्राहक रहेको तथ्याङ्कमा उल्लेख गरेको छ । भोल्टेमा भने टेलिकम एनसेलभन्दा अघि छ । फोरजी भ्वाइस ओभर एलटीई प्रविधिमा आधारित उच्च गुणस्तरको भ्वाइस सेवामा टेलिकमका ग्राहक १३ लाख ७७ हजार ४०३ छन् भने एनसेलमा आठ लाख ८० हजार ६८ रहेका छन् । 

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८० १९:८