close

भीपीएन प्रयोग गर्दा इन्टरनेट स्लो भयो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ २१, २०८० १६:२

भीपीएन प्रयोग गर्दा इन्टरनेट स्लो भयो ? यसो गर्नुहोस्

काठमाडौं । गोपनीयता सुरक्षाका लागि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एउटा उत्कृष्ट विकल्प हो । तर भीपीएन छनोटमा भने चनाखो हुनुपर्छ । साइबर सुरक्षा जानकारहरू विश्वसनीय र सुरक्षित भीपीएन एप प्रयोग गर्न सल्लाह दिन्छन् । 

प्रायः भीपीएन प्रयोगले इन्टरनेटको गति ५० प्रतिशत वा सोभन्दा बढीले कम हुन सक्छ । यस्तो हुनुको कारण भीपीएनहरूको काम गर्ने प्रकृति हो । सामान्यतः: प्रयोगकर्ताको डेटालाई इन्क्रिप्ट गरेर भीपीएनले कतै रहेको सर्भरमा पठाइरहेको हुन्छ । त्यसो हुँदा इन्क्रिप्टेड ट्राफिकलाई पुन: डिक्रिप्ट गर्न समय लाग्छ ।

साथै तपाईंको डेटालाई भीपीएन सर्भरबाट पुन: तपाईंको डिभाइसमा फिर्ता ल्याउन समय लाग्छ । यसकारण इन्टरनेटको गति ढिलाे हुन जान्छ । यद्यपि तपाईंले केही कुराहरूमा ध्यान दिनुभयो आफ्नो भीपीएन कनेक्सनलाई अझ राम्रो बनाउन सक्नुहुन्छ । 

त्यस्तै तपाईंले प्रयोग गरिरहनु भएको भीपीएन प्रोटोकल अर्थात् तपाईंले प्रयोग गरिरहनु भएको भीपीएनको सर्भर थप कतिजनाले प्रयोग गरिरहेका छन् भन्ने कुराले पनि इन्टरनेटको गतिमा फरक आउने गर्छ ।

यदि तपाईंले फास्ट भीपीएन प्रयोग गरिरहनु भएको छ भने सामान्य अनलाइन गतिविधिमा इन्टरनेट ढिलो भएको थाहा नपाउन सक्नुहुन्छ ।

तर गेमिङ, स्ट्रिमिङ अथवा भिडिओ कन्फ्रेन्स जस्ता उच्च गतिको इन्टरनेट आवश्यक पर्ने गतिविधि गर्नुहुन्छ भने फरक भएको पाउनुहुन्छ । अनलाइन गेम केही मिलिसेकेन्ड इन्टरनेट ढिलो भयो भने हार्न सकिन्छ ।

त्यस्तै भीपीएनका कारण इन्टरनेट ढिलो भयो भने गरिरहेको भिडिओ स्ट्रिमिङको अनुभव खल्लो हुन्छ । यदि तपाईंलाई आवश्यकता पर्ने गतिमा भीपीएन चलिरहेको छैन भने यी निम्न कुरा गर्न सक्नहुन्छ:

-आफू रहेको स्थानबाट नजिकैको सर्भरमा कनेक्ट गर्नुहोस्

सामान्य भाषामा भन्दा तपाईं रहेको स्थानबाट नजिकै रहेको सर्भरमा कनेक्ट हुँदा स्वत: भीपीएनको गति उच्च हुन्छ । किनकी तपाईंको ट्राफिकको रुट छोटो पर्ने हुन्छ ।

मानौं: तपाईं नेपालमा हुनुहुन्छ । अब नेपालभित्रै रहेकाे भीपीएन सर्भरमा जोडिनु भयो भने तपाईंले उच्च गति पाउनुहुन्छ । तर यहाँ बसेर जापानको सर्भरमा जोडिनुभयो भने इन्टरनेट ढिलो चल्छ । तर यो कुरा सधैं व्यवहारिक हुँदैन ।

तपाईंले कुनै खास देशको कन्टेन्ट स्ट्रिम गर्न चाहनुहुन्छ, अथवा गेमिङ सर्भरमा पहुँच पाउन चाहनुहुन्छ भने यसले काम नगर्न सक्छ । तर तपाईंको स्थान नजिकको भीपीएन सर्भरमा जोडिनु एउटा उचित विकल्प हो ।


-ओभरलोडेड नभएको सर्भरमा कनेक्ट गर्नुहोस्

जब धेरै मान्छेहरूले एउटै भीपीएन सर्भर प्रयोग गर्छन्, त्यो सर्भर ओभरलोडेड हुन्छ । अथवा त्यसमा धेरै भार पर्छ । यसले गर्दा त्यो सर्भरसँग सम्पर्क ढिलो हुन्छ र इन्टरनेट गति ढिलो हुन्छ ।

कतिपय भीपीएन प्रोभाइडरले आफ्नो एप अथवा वेबसाइट मार्फत अहिले भइरहेको सर्भर लोड देखाउँछ । त्यसो हुँदा तपाईंले आफूले प्रयोग गरिरहेको भीपीएनको सर्भरहरूको अवस्था समेत थाहा पाउन सक्नुहुन्छ ।

यदि लोड कम भएको सर्भरमा जोडिए तपाईंले गति पनि धेरै पाउनुहुन्छ । तर तपाईंले चलाइरहेको भीपीएनले सर्भरमा भएको लोड देखाइरहेको छैन भने अर्को भीपीएन प्रोभाइडर प्रयोग गर्न सक्नुहुन्छ, अथवा सोही भीपीएनको अन्य सर्भर जाँच गर्न सक्नुहुन्छ ।

-फरक भीपीएन प्रोटोकल मार्फत कनेक्ट गर्नुहोस् 

भीपीएन प्रोटोकलले तपाईंको डिभाइस र भीपीएन सर्भरबीच डेटा कसरी प्रसारित हुन्छ भन्ने कुराको नियन्त्रण गर्ने गर्छ । बजारमा विभिन्न प्रकारका भीपीएन प्रोटोकल पाइन्छन् । गति र सुरक्षाको सन्दर्भमा प्रोटोकल अनुसार फाइदा तथा बेफाइदा हुने गर्छ । त्यसकारण कनेक्सन कम भए तपाईंले भीपीएन प्रोटोकल परिवर्तन गर्न सक्नुहुन्छ । 


-स्प्लिट टनेलिङ इनेबल गर्नुहोस्

यदि तपाईंको भीपीएन प्रोभाइडरले 'स्प्लिट टनेलिङ' फिचर उपलब्ध गराएको छ भने यसलाई पनि भीपीएनको गति बढाउन प्रयोग गर्न सक्नुहुन्छ ।

यस फिचरले तपाईंले चाहेको ट्राफिकलाई मात्र सर्भरमा पठाउने गर्छ । बाँकी इनक्रिप्टेड डेटा नियमित कनेक्सनबाटै प्रसारण हुन्छ । जस्तो; तपाईंले स्ट्रिमिङका लागि भीपीएन प्रयोग गर्नुहुन्छ भने यस फिचरले स्ट्रिमिङ ट्राफिकलाई मात्र भीपीएन सर्भरमा पठाइरहेको हुन्छ ।  

-कनेक्सनका लागि तार प्रयोग गर्नुहोस्

तार रहित (वाई-फाई) इन्टरनेटको तुलनामा वायर्ड कनेक्सनमा गति बढी हुन्छ । घरमा फरक फरक डिभाइसमा एउटै इन्टरनेट जडान भएको हुन्छ । जुन ताररहित हुन्छ । यदि सोही समयमा तपाईंले भीपीएन प्रयोग गर्नु भए इन्टरनेटको गति अस्थिर हुन जान्छ । र, कनेन्सन स्लो हुन्छ ।

यसको समाधानमा तपाईंले आफ्नो डिभाइसमा तारबाट इन्टरनेट  जडान गर्न सक्नुहुन्छ । जस्तो: कम्प्युटरमा इथरनेट केवलबाट सिधैं इन्टरेट जडान गर्न सकिन्छ । 

-ब्याकग्राउन्डमा चल्ने अनावश्यक एप बन्द गर्नुहोस्

यदि तपाईंले ब्याकग्राउन्डमा एप चलाउनु भएको छ तर तिनको प्रयोग गर्नु भएको छैन भने पनि भीपीएन कनेक्सनको गति ढिलो हुन जान्छ । किनकी त्यस्ता एपले डिभाइसको शक्ति प्रयोग गरिरहेका हुन्छन्  ।

यसकारण भीपीएन प्रयोग गर्नुअघि चलाउन खोजेको एप्लिकेसन बाहेक ब्याकग्राउन्डमा अरू एप चलिरहेका छन् कि भनेर एक पटक जाँच गर्नुपर्छ । यदि त्यस्ता एप रहेछन् भने तिनलाई बन्द गर्नुहाेस् । 

-आफ्नो राउटर तथा अन्य डिभाइस रिस्टार्ट गर्नुहोस्

भीपीएन कनेक्सनको गति ढिलो भए तपाईंले आफ्नो राउटर लगायतका डिभाइस रिस्टार्ट गर्न सक्नुहुन्छ । त्यस्ता डिभाइस रिस्टार्ट गर्नु भनेको तिनीहरूलाई ‘रिफ्रेस’ गर्नुजस्तै हो ।

रिस्टार्टसँगै तपाईंले आफ्नो मोबाइलमा केही र्‍याम खाली गर्न सक्नुहुन्छ । यी काम गरेपछि तपाईंले आफ्नो भीपीएनको गति बढेको पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८० १६:२