close

देशका ४ स्थानमा सकियो टेलिकमको फाइभजी परीक्षण, कहिलेदेखि मिल्छ प्रयोगकर्ताले चलाउन ?

टेकपाना टेकपाना

माघ २२, २०८० १३:४३

देशका ४ स्थानमा सकियो टेलिकमको फाइभजी परीक्षण, कहिलेदेखि मिल्छ प्रयोगकर्ताले चलाउन ?

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न चार स्थानमा फाइभजी परीक्षण सम्पन्न भएको जनाएको छ । निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडीले कम्पनीको वार्षिकोत्सवको अवसरमा मन्तव्य दिंदै यसको जानकारी दिएकी हुन् ।

कम्पनीका अनुसार बबरमहल, सुन्धारा, पोखरा र वीरगन्जमा फाइभजी उपकरणहरू जडान गरी परीक्षण कार्य समेत पूरा भइसकेको छ । बाँकी चार प्रदेशमा समेत उपकरण जडान गर्न आयातको अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष अनुरोध गरिसकेको उल्लेख छ ।

"आगामी दिनमा फोरजी सेवा विस्तार र फाइभजी पनि क्रमशः परीक्षण र विस्तार गर्ने कम्पनीको योजना छ," निमित्त प्रबन्ध निर्देशक पहाडीले भनिन् । तर फाइभजी सेवा परीक्षण गरिएको भनिए पनि प्रयोगकर्ताले भने त्यसको अनुभव पाउन सकेका छैनन् ।

न त कहिलेसम्म फाइभजी सेवा प्रयोग गर्न सकिने गरी सार्वजनिक हुन्छ भन्ने कुरा नै कम्पनीले स्पष्ट पारेको छ । टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको निर्देशनमा राजमार्गहरूमा नेटवर्क सुधार कार्य अगाडि बढाइएको उल्लेख गरेको छ । त्यसैगरी जिल्लागत रूपमा नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना टेलिकम जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीले कूल ४४ अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको छ भने खुद मुनाफा सात अर्ब ९२ करोड रुपैयाँ रहेको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्‍याएको योगदान हेर्ने हो भने आव २०७९/८० मा कर तथा गैरकर गरी २८ अर्ब ४६ करोड रकम योगदान गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १४:०