close

अब फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा अपलोड हुने तस्वीरमा मेटाले लेबल लगाउने

टेकपाना टेकपाना

माघ २६, २०८० १४:२४

अब फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा अपलोड हुने तस्वीरमा मेटाले लेबल लगाउने

काठमाडौं । मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा अपलोड हुने तस्वीरमा लेबल लगाउने भएको छ । कम्पनीले विश्वभर आउँदै गरेका निर्वाचनलाई लक्षित गर्दै यस किसिमको व्यवस्था गर्न लागेको हो ।

यसका साथै वास्तविकतामा आधारित भिडिओ वा अडियोको अंश एआईले बनाएको कुरा नखुलाउने प्रयोगकर्तालाई समेत कम्पनीले दण्डित गर्ने बताइएको छ । मेटाका विश्व मामिला अध्यक्ष निक क्लेगले एक अन्तर्वार्ताका क्रममा एआई निर्मित मिडियालाई वास्तविकतासँग छुट्याउन मुस्किल हुँदै गएको भन्दै त्यसको सामना गर्न यस किसिमका कदम चाल्न लागिएको बताएका छन् ।

अमेरिकी सरकारले समेत प्रविधि कम्पनीहरूलाई एआईबाट सिर्जना गरिएका सामग्री सजिलै पहिचान गर्न सकिने गरी वाटरमार्क लगाउने व्यवस्था गर्न भनिरहेको छ । क्लेगका अनुसार मेटाले एआईबाट सिर्जना गरिएका सामग्री पहिचान गर्ने टुल बनाइरहेको छ । त्यसो त मेटाले यस अघि नै आफ्नो इम्याजिन एआई जेनेरेटरबाट तयार पारिएका तस्वीरमा 'इम्याजिन्ड विथ एआई'को वाटरमार्क रहने व्यवस्था लागू गरिसकेको छ ।

अब भने कम्पनीले सोही किसिमको व्यवस्था गुगल, ओपनएआई, माइक्रोसफ्ट, एडोबी, मिडजर्नी र शटरस्टकका एआई टुलको सहयोगमा तयार पारेका फोटोमा समेत वाटरमार्क तथा लेबल लगाउनेछ । केजले भनेका छन् कि एआईले तयार पारेका भिडिओ तथा अडियो पहिचान गर्ने मापदण्ड बनाउने सवालमा भने उद्योग निकै पछाडि छ ।

कम्पनीले हरेक कुरा आफैं पहिचान गर्न नसक्ने नभए पनि यस किसिमका मिडिया सामग्री झुक्याउनका लागि कसरी प्रयोग हुन सक्छन् भन्ने विषयमा मेटा "हाई अलर्ट"मा रहेको उनले बताएका छन् ।

मेटाले विद्यमान सामग्रीको आधिकारिकता पहिचान गर्ने अभियानमा काम गरिरहेको पार्टनरशिप अन एआई जस्ता समूहसँग मिलेर समेत काम गरिरहेको छ । एडोबीले हालै मात्र कन्टेन्ट क्रेडेन्सियल सिस्टम सार्वजनिक गरेको थियो, जसले तस्वीरको मेटाडेटामा सामग्रीको उत्पत्ति सम्बन्धी जानकारी समावेश गर्दछ ।

त्यसैगरी गुगलले तस्वीरका लागि बेटा भर्सन सार्वजनिक गरेपश्चात् आफ्नो सिन्थआईडी वाटरमार्क अडियो फाइलका लागि विस्तार गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८० १४:२४