close

फोनमार्फत धम्की दिएर ५० लाख मागेको आरोपमा दुई जना पक्राउ

टेकपाना टेकपाना

फागुन ८, २०८० १७:४९

फोनमार्फत धम्की दिएर ५० लाख मागेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । फोनमार्फत धम्की दिएर ५० लाख रुपैयाँ रकम मागेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार चन्द्रागिरीबाट ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली घर भएका ३६ वर्षीय हृदयराज बोगटी र नुवाकोट घर भएका ३६ वर्षीय नरहरि ढुङ्गाना रहेका छन् । प्रहरीका अनुसार कार्यालयमा पीडितले आफूलाई केही व्यक्तिले योजनाबद्ध तरिकाले फोन मार्फत डर, धम्की दिएर आफूबाट ५० लाख रुपैयाँ माग गरेको भन्दै उजुरी दिएका थिए ।

त्यसैका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले ती युवाहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट एक थान बाइक, चार थान विभिन्न ब्रान्डका मोबाइल फोन र एक ठेली नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सहयोग रसिद बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १७:५६