close

अब गुगल-युट्युब विज्ञापन गर्ने क्रेडिट खल्ती डिजिटल वालेटबाटै लिन सकिने

टेकपाना टेकपाना

फागुन १७, २०८० १६:३७

अब गुगल-युट्युब विज्ञापन गर्ने क्रेडिट खल्ती डिजिटल वालेटबाटै लिन सकिने

काठमाडौं । अब डिजिटल वालेट खल्तीबाट नै गुगल एड क्रेडिट खरिद गर्न अर्थात् गुगलका प्लेटफर्ममा गरिने विज्ञापनमा प्रयोग हुने रकम जम्मा गर्न सकिने भएको छ । नेपालका लागि गुगलको आधिकारिक साझेदार टेली डिजिटल सर्भिसेज प्रालिसँगको सहकार्यमा खल्तीले मङ्गलबारदेखि यस्तो सेवा सुरु गरेको हो । 

यसअन्तर्गत खल्तीका ग्राहकले अब आफ्नो गुगल एड अकाउन्टमा १०० देखि ५०० अमेरिकी डलरसम्म क्रेडिट लोड गर्न सक्नेछन् । “गुगलको साझेदार स्थानीय भेन्डरसँग मिलेर हामीले गुगल एडमा क्रेडिट थप गर्न सकिने सेवा ल्याएको हौं,” टेकपानासँग कुरा गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीओई) विनय खड्काले भने, “सम्भवतः यसरी नेपाली वालेटबाट गुगल एड क्रेडिट लोड गर्न सकिने सेवा ल्याउने खल्ती नै पहिलो हो ।”

हाल नेपाली प्रयोगकर्ताले गुगल एडमा क्रेडिट लोड गर्दा डलर कार्ड प्रयोग गर्दै आएका छन् । त्यसमा एउटा प्रयोगकर्ताले एक वर्षमा ५०० अमेरिकी डलरसम्म मात्रै लोड गर्न सक्छन् । डलर कार्डको रकम सकिए अन्य कसैको डलर कार्ड प्रयोग गर्नुपर्ने अथवा अन्य वैकल्पिक तरिका अपनाउनु पर्ने बाध्यता रहेको छ । 

अब भने प्रयोगकर्ताले सहजै खल्तीबाट एक पटकमा १०० देखि ५०० डलरसम्म लोड गर्न सक्ने खड्काले बताए । यसरी खल्तीबाटै गुगल एड अकाउन्टमा क्रेडिट थप्दा विथहोल्डिङ ट्याक्स, डिजिटल ट्याक्स, एडिसनल ट्याक्स र भ्याटको अतिरिक्त चार्ज समेत तिर्नुपर्ने हुन्छ । खल्तीले आफ्नो आधिकारिक ब्लगमा पनि शुल्कबारे विस्तृत जानकारी राखेको छ । 

कम्पनीका अनुसार सेवाग्राहीले १०० डलर लोड गर्दा १४६.५० डलर, २०० डलर लोड गर्दा २८८.४८९ र ५०० डलर लोड गर्दा ७०९.९२ डलर तिर्नुपर्ने हुन्छ । 

खल्तीबाट गुगल एडमा क्रेडिट लोड गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले खल्ती एप खोल्नुहोस् । 

  • अनि ‘पपुलर सर्भिस’ मा जानुहोस् । 

  • त्यसपछि ‘गुगल एड क्रेडिट’ को अप्सन छान्नुहोस् । 

  • र, आफूलाई चाहिएको रकम उल्लेख गर्नुहोस् । 

  • त्यति भएपछि आफ्नो मोबाइल नम्बर, ईमेल र एड अकाउन्ट आईडी छान्नुहोस् । 

  • र अन्तिममा ‘प्रोसिड’को विकल्पमा थिच्नुहोस् । 

खल्तीका अनुसार टपअप गरेको २४ घण्टाभित्र अकाउन्टमा एड क्रेडिट लोड भइसक्छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १७, २०८० १६:३७