close

जमजम इलेक्ट्रोनिक्सका नाममा नेपालीबाट लाखौं ठगी गर्ने गिरोह पक्राउ

टेकपाना टेकपाना

फागुन २१, २०८० २१:८

जमजम इलेक्ट्रोनिक्सका नाममा नेपालीबाट लाखौं ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । दुबईस्थित जमजम इलेक्ट्रोनिक्सका नाममा नेपालमा अनलाइन ठगी धन्दा गरेको आरोपमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट उक्त गिरोहलाई पक्राउ गरेको हो । 

जमजम इलेक्ट्रोनिक्सको नाममा मात्र नभई सामाजिक सञ्जालमा जोडिएर सम्बन्ध बनाउने र सामान पार्सल गरिदिएको छु भन्दै रकम मागेर ठगी गर्नेहरू पनि पक्राउ परेका छन् । त्यसबाहेक अनलाइनबाट सर्वसाधारणसँग जोडिएर विदेश पठाइदिन्छु भन्दै रकम माग गरेर फरार हुनेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसरी विभिन्न किसिमका अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौं बानेश्वर बस्दै आएका २१ वर्षीय आदित्यकुमार सिंह तथा २० वर्षीय सिद्धार्थ कुमार सिंह, बारा घर भई भक्तपुर बस्दै आएका २२ वर्षीय रामसेवक राम र वीरगञ्ज घर भई भक्तपुर बस्दै आएका २४ वर्षीय आकाश साह सोनार रहेका छन् । 

कार्यालयका अनुसार आरोपित ती व्यक्तिले सबैभन्दा पहिले सामाजिक सञ्जालका विभिन्न माध्यम, त्यसमा पनि विशेषतः फेसबुकमा नक्कली पेज बनाउँथे । त्यसमा नाम 'जमजम इलेक्ट्रोनिक्स' राखेर प्रोफाइल फोटो जमजम इलेक्ट्रोनिक्सका दाजुभाइको राख्थे ।

अनि ती दाजुभाइको वास्तविक भिडिओ डाउनलोड गरेर उनीहरूको जस्तै आवाजमा नेपालमा अहिलेसम्म कसैले पनि आईफोन गिफ्ट नपाएर र तपाईंहरूले पोस्ट मिलाए (लुप भिडिओमा फोनको क्यामेरा ठीक ठाउँमा पुगेको बेला पज गरेर मिलाउने काम) आईफोन उपहार दिने प्रलोभन देखाउँथे ।

अनि ती  भिडिओ बुस्ट गरेर फेसबुकमा राख्थे । त्यसमा उनीहरूले ह्वाट्सएपका नम्बर पनि राखेका हुन्थे । त्यसैमा सर्वसाधारणलाई सम्पर्क गर्न भन्थे । त्यसरी सम्पर्कमा आएका सर्वसाधारणलाई फोन पठाइदिएको भन्दै विभिन्न बहानामा रकम माग्थे ।

यसरी विभिन्न समयमा ठगीमा परेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिनेहरू बढे । “​यिनीहरू पहिले पीडितसँग सामाजिक सञ्जालमा जोडिने रहेछन्,” आइतबार आरोपित व्यक्तिलाई सार्वजनिक गर्दै अनुसन्धानमा खटिएका एक अधिकारीले भने, “सामाजिक सञ्जाल ह्वाट्सएपमा जोडिने अनि नजिक भइसकेपछि विदेशबाट बहुमूल्य सामान पार्सल पठाइदिन्छु भनेर सामान पठाएको विश्वास दिलाउने र त्यसका लागि कर लाग्ने भन्दै रकम माग्ने एउटा देखिएको छ । अनि अर्को चाहिं जमजम इलेक्ट्रोनिक्सको नाममा ठगी गरेको पाइएको छ ।”

पक्राउ परेका व्यक्तिहरूले विभिन्न समयमा विभिन्न व्यक्तिबाट ४९ लाख ५८ हजार  ८०० ठगी गरेकाे प्रहरीले जनाएको छ । उनीहरूमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

सम्बन्धित समाचारः

जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा ठगी धन्दा, कतै तपाईँ फस्नुभयो कि ?

पछिल्लो अध्यावधिक: फागुन २२, २०८० १५:५९