close

पराग अग्रावालले हाले एलन मस्कमाथि मुद्दा

टेकपाना टेकपाना

फागुन २२, २०८० १४:४८

पराग अग्रावालले हाले एलन मस्कमाथि मुद्दा

काठमाडौं । पराग अग्रवालसहित ट्वीटरका चार पूर्व कार्यकारीले तलब विवादमा एलन मस्कविरुद्ध मुद्दा दायर गरेका छन् । सम्झौता अनुसारको तलब नदिएको र बिनाकारण निकालेको भन्दै क्यालिफोर्नियाको उत्तरी जिल्लाको लागि अमेरिकी जिल्ला अदालतमा मस्कमाथि सोमबार मुद्दा दायर गरिएको हो । 

मस्कले सन् २०२२ मा ट्वीटरको पूर्ण स्वामित्व लिएर त्यसलाई पब्लिक कम्पनीबाट निजी कम्पनी बनाएका थिए । कम्पनीको पूर्ण स्वामित्व आफूले लिएपछि मस्कले तत्कालीन सीईओ पराग अग्रावाल, सीएफओ नेड सेगल, लिगल एन्ड पोलिसी हेड विजया गेडी, जनरल कन्सल सिन एडगेटलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै मस्कले ट्वीटर इन्कको नाम परिवर्तन गरेर एक्स कर्पोरेसन राखेका थिए । 

उजुरीमा मस्कले ती कर्मचारीलाई कूल १२८ मिलियन डलर तलब दिन बाँकी रहेको दाबी गरिएको छ । मस्कले आफूहरूलाई तलब दिन नचाहेको र नक्कली कारण देखाएर आफ्नै अरू कम्पनीबाट कर्मचारी नियुक्ति गरेको उनीहरूको आरोप छ । 

ट्वीटर मस्कको नियन्त्रणमा गएपछि कम्पनी धराशायी बन्दै गएको, कर्मचारी निकालेको, घरबेटीलाई भाडा नतिरेको र विभिन्न विवाद उब्जिएको उजुरीमा उल्लेख छ । त्यस्तै मस्क आफूलाई कुनै कानून लाग्दैन भनेर कर्मचारीलाई तलबै नदिने गरेको उनीहरूको भनाइ छ । त्यस्तै उनले आफ्नो विरुद्धमा लाग्ने जोकोहीलाई पैसा र शक्तिको आडमा यस्ता कार्य गर्ने गरेको उनीहरूले उजुरीमा भनेका छन् । 

यस विषयमा मस्क र एक्सले कुनै प्रतिक्रिया दिएका छैनन् । २०२२ मा मस्कले प्रति शयेर ५४.२० डलर तिरेर ट्वीटरको सम्पूर्ण स्वामित्व आफूले लिएका थिए ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८० १५:७