close

अर्काको इयरबड प्रयोग गर्नुहुन्छ ? सावधान !

टेकपाना टेकपाना

फागुन २७, २०८० १३:३७

अर्काको इयरबड प्रयोग गर्नुहुन्छ ? सावधान !

काठमाडौं । तपाईं इयरफोन वा इयरबड कत्तिको प्रयोग गर्नुहुन्छ ? अनि आफ्नो इयरफोन वा इयरबड अरूलाई प्रयोग गर्न दिनुहुन्छ वा अरूको आफूले प्रयोग गर्नुहुन्छ ?  

सफा नभएको वा अरूले प्रयोग गरेको हेडसेट डिभाइस प्रयोग गर्दा कानमा गम्भीर रोग देखा पर्ने विभिन्न अध्ययनले देखाएका छन् । यसमा कान सङ्क्रमित हुने वा सुन्ने शक्ति नै गुम्ने जोखिम बढी हुन्छ ।

विशेषगरी लामो समयसम्म इयरबड वा हेडसेट प्रयोग गर्नुभयो भने त्यसले कानमा ब्याक्टेरियाको सङ्ख्या बढाउँछ र त्यसबाट ब्याक्टेरिया फैलिएर भित्री भागमा असर गर्छ ।

लामो समयसम्म फोहोर हेडसेट प्रयोग गर्दा इयर क्यानलमा सूक्ष्म जीवको सङ्ख्या बढ्छ । यसले गर्दा कानमा इन्फेक्सन हुने जोखिम उच्च हुन्छ । इन्फेक्सन भए कानमा तरल पदार्थ जम्मा हुन्छ । लामो समयसम्म कानमा तरल पदार्थ रहिरहे स्थायी वा अस्थायी रूपमा सुनाइमा समस्या आउँछ । 

अरूले प्रयोग गरेको हेडसेट छ भने पनि त्यसबाट ब्याक्टेरिया सङ्क्रमण हुने सम्भावना हुन्छ । यसले गर्दा कानमा इन्फेक्सन हुने समस्या देखिन्छ । 

नाक, कान र घाँटी विशेषज्ञका अनुसार इयरफोनमा हुने ब्याक्टेरियाले कानको वरपर छालासम्बन्धी रोग पनि निम्त्याउँछ । यसले गर्दा कान चिलाउने र एलर्जी देखिने सम्भावना हुन्छ । 

यसबाहेक इम्युनिटी पावर अर्थात प्रतिरक्षात्मक शक्ति कम भएका वा पहिले नै कानसम्बन्धी रोग भएका व्यक्तिले हेडसेट लामो समयसम्म प्रयोग गर्दा वा अरूले प्रयोग गरेको हेडसेट प्रयोग गर्दा सङ्क्रमण हुने जोखिम बढी हुन्छ । 

यसबाट कसरी जोगिने ?

यस्ता किसिमका सङ्क्रमण र रोगबाट जोगिन तपाईंले आफ्नो जीवनशैली स्वस्थ बनाउनुपर्ने हुन्छ । हेडसेटलाई सधैं सफा गरेर अनि त्यसमा भएको ब्याक्टेरिया मार्ने किसिमको रसायन प्रयोग गरिसकेपछि मात्र बनाउनुपर्ने हुन्छ ।

भरसक अरूले प्रयोग गरिरहेको इयरबड वा अन्य हेडसेट डिभाइस प्रयोग गर्नु हुँदैन । त्यस्तो हेडसेट प्रयोग गर्नुपरे सेनिटाइज गर्नुपर्ने हुन्छ । 

पछिल्लो समय लामो समय ब्याट्री टिक्ने हेडसेट डिभाइसहरू बजारमा आएका छन् । त्यसैले अधिकांश प्रयोगकर्तामा चार्ज नसकिने बेलासम्म हेडसेट प्रयोग गर्ने बानी हुन सक्छ । त्यसका लागि समय समयमा ब्रेक लिएर हेडसेट निकाल्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० २१:४३