close

अमिताभ बच्चन अस्पताल भर्ना भएको भन्दै अनलाइनमा फैलिएको खबर गलत

टेकपाना टेकपाना

चैत ३, २०८० १४:१८

अमिताभ बच्चन अस्पताल भर्ना भएको भन्दै अनलाइनमा फैलिएको खबर गलत

काठमाडौं । भारतीय महानायक भनेर चिनिएका बलिउड सुपरस्टार अमिताभ बच्चनले आफू अस्पताल भर्ना गरिएकोबारे लेखिएका समाचार मिथ्या भएको बताएका छन् । मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएको भन्दै भारतीय सञ्चारमाध्यमले लेखेका समाचार गलत भएको बच्चनले बताएका हुन् । 

भारतीय सञ्चारमाध्यमले गएको शुक्रबार अस्पतालमा बच्चनको एन्जियोप्लास्टी गरिएको खबर फैलाएका थिए । त्यससँगै विभिन्न सामाजिक सञ्जालमा उनको स्वास्थ्यसम्बन्धी पोस्टहरू ट्रेन्डिङमा समेत आएका थिए भने केही नेपाली सञ्चारमाध्यमले पनि यसबारे समाचार सम्प्रेषण गरेका थिए ।

तर बच्चन भने शुक्रबार नै मुम्बईमा भएको इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल) को फाइनल खेल हेर्न गएको देखिए । सो दौरान बच्चन क्रिकेटर सचिन तेन्दुलकरसँगै देखिएका छन् । त्यतिबेला छोरा अभिषेक बच्चन पनि साथमै थिए । 

दादोजी कोन्डादेव स्टेडियममा इन्डियन स्ट्रिट प्रिमियर लिग हेर्न उपस्थित अमिताभ बच्चन ।

त्यस्तै त्यही खेलमा बच्चनलाई एक फ्यानले स्वास्थ्यबारे सोधिएको भिडिओ पनि बाहिरिएको छ, जहाँ बच्चनले ‘फेक न्युज’ भनेको सुन्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८० १४:४१