close

यसरी लुकाउनुहोस् आफ्नो एन्ड्रोइड मोबाइलमा भएका गोप्य एप

टेकपाना टेकपाना

चैत ४, २०८० १९:२७

यसरी लुकाउनुहोस् आफ्नो एन्ड्रोइड मोबाइलमा भएका गोप्य एप

काठमाडौं । स्मार्टफोनको स्क्रिन लक तथा बायोमेट्रिक अथेन्टिकेसनमा थप अर्को तहको सुरक्षा कायम गर्न गोप्य एप लुकाउनु एक उचित विकल्प हो ।

आज हामी तपाईंलाई विभिन्न तरिकाबाट एन्ड्रोइड एप कसरी लुकाउने भन्ने विषयमा बताउँदैछौं । जसले गर्दा यसरी लुकाइएका एपसम्म अरू कोही पुग्न सक्ने छैन ।

सामसङ फोनमा कसरी लुकाउने एप ?

सबै सामसङ फोनमा तपाईंले एप ड्रयरबाट इन्स्टल गरिएका एप लुकाउन सकिने सुविधा प्रयोग गर्न सक्नु हुन्छ । यसको प्रक्रिया एकदमै सामान्य र सहज छ ।

१. सबैभन्दा पहिला आफ्नो सामसङ मोबाइलको होम स्क्रिनमा खाली रहेको भागमा केही बेर थिचिराख्नुहोस् । त्यसपछि तल देखा पर्ने मेनुमा रहेको सेटिङमा थिच्नुहोस् ।

२. तलतर्फ स्क्रोल गर्नुहोस् र 'Hide apps on Home and App screens' छान्नुहोस् र आफूले लुकाउन चाहेको एप छनौट गर्नुहोस् ।

३. अब Done मा दबाउनु होस् ।

यति गरेसँगै तपाईंले छानेका एपहरू तपाईंको ग्यालेक्सी फोनको एप ड्रयरबाट हराउने छन् । सामसङको यो फिचरको एउटा राम्रो पक्ष के छ भने यदि तपाईंले एप ड्रयरमा हाइड अर्थात् लुकाइएको एप सर्च गर्नु भयो भने पनि त्यो देखिंदैन ।

जब कि थर्ड पार्टी युनिभर्सल सर्च एप तथा Settings > Apps अन्तर्गत भने त्यस्ता एपहरू देखिने गर्छन् । सामसङले लुकाइएका एपहरूमा तत्काल पहुँच बनाउन मिल्ने छुट्‍टै गुप्त किसिमको एप ड्रयर पनि बनाएको छैन । जसले यस्ता एपमा पहुँच बनाउने कार्यलाई केही झन्झटिलो बनाउँछ ।

एन्ड्रोइडमा लुकाउन एप डिसेबल गर्नुहोस्

गुगल पिक्सेल एट जस्ता केही फोनहरूमा एप लुकाउने मौलिक विकल्प भने समावेश हुँदैन । यसका लागि तपाईंले थर्ड-पार्टी लञ्चर अथवा एप प्रयोग गर्न सक्नु हुन्छ । तर यदि त्यो विकल्प पनि तपाईंलाई सहज लागेन भने एप ड्रयरबाट कुनै एप लुकाउन त्यसलाई डिसेबल गर्न सक्नु हुन्छ ।

यसको एउटै सीमितता के हो भने यो विधिले केवल फोनमा पहिले नै इन्स्टल भएर आउने सिस्टम एपहरूका लागि मात्र काम गर्छ । यसमा दिइएको तरिकाबाट तपाईंले प्ले स्टोरबाट डाउनलोड गर्ने एपहरू लुकाउन भने सक्नु हुन्न ।

१. यसका लागि सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड फोनको एप ड्रयर खोल्नुहोस् र आफूले लुकाउन चाहेको एपका लागि स्क्रोल गर्नुहोस् ।

२. अब उक्त एपको आइकनमा केही बेर थिच्नुहोस् र कन्टेक्स्ट मेनुमा रहेको App info मा जानुहोस् । यसको विकल्पमा तपाईं Settings > Apps हुँदै सूचीमा रहेको एपको नाममा दबाउनु पनि सक्नु हुन्छ ।

३. यति गरिसकेपछि Disable मा दबाउनु होस् र डायलग बक्समा देखिने Disable app मा थिचेर निश्चित गर्नुहोस् ।

यसो गर्दा उक्त एप तपाईंको एन्ड्रोइड फोनको एप ड्रयरबाट गायब हुनेछ । यसको नकारात्मक पक्ष के छ भने तपाईंले पुनः इनेबल नगरिकन उक्त एप प्रयोग गर्न सक्नु हुन्न ।

माइक्रोसफ्ट लञ्चर प्रयोग गरी एप लुकाउने तरिका

माइक्रोसफ्ट लञ्चरको सहयोगमा एन्ड्रोइड मोबाइलमा भएका एपहरू लुकाउन सकिन्छ । यसमा तपाईंले एप लुकाउनुका साथै त्यसमा पासवर्ड समेत राख्न सक्नु हुन्छ । यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र त्यसलाई सेट गरी डिफल्ट लञ्चर बनाउनुहोस् ।

१. मोबाइल होम स्क्रिनको कुनै पनि खाली स्थानमा केही बेर थिच्नुहोस् । त्यसपछि पपअप हुने मेनुमा रहेको लञ्चर सेटिङमा जानुहोस् ।

२. अब Home scren हुँदै Hidden apps मा जानुहोस् ।

३. Hide Apps मा थिच्नुहोस् र आफूले लुकाउन चाहेका एप छान्नुहोस् र Done मा दबाउनु होस् ।

४. अब Hidden apps मेनुमा पुग्नु हुनेछ । माथि दायाँतर्फको कुनामा रहेको Settings आइकनमा थिच्नु होस् ।

५. चार अङ्कको पिनमार्फत तपाईंका लुकाइएका एप सुरक्षित गर्न Set password बटन इनेबल गर्नुहोस् ।

६. यदि तपाईं आफूले लुकाएका एपमा तुरुन्तै पहुँच बनाउन सकिने सुविधा चाहनु हुन्छ भने त्यस मुनी रहेको Quick access in dock टोगल अन गर्नुहोस् ।

लुकाइएका एपहरूमा जानका लागि गुप्त प्यानल ल्याउन होम स्क्रिनमा दुई औंलाले माथि वा बायाँतर्फ स्वाइप गर्न सक्नु हुन्छ । यदि पासवर्ड प्रोटेक्सन राख्नु भएको छ भने तपाईंले सुरुमा चार अङ्कको पिन राख्नु पर्ने हुन्छ ।

एन्ड्रोइडमा एप लुकाउँदाका फाइदा र बेफाइदा

एन्ड्रोइड मोबाइलमा एप लउकाउँदा त्यस्ता एपहरू एप ड्रयरमा देखिंदैनन् । कहिले काहिं लुकाइएका एप प्रयोग गर्न गोप्य किसिमको एप ड्रयर खोल्नु पर्ने हुन्छ । केही फोनले एप लुकाउने अनुमति दिन्छन् र त्यसमा पुनः पहुँच बनाउने तरिका भने उपलब्ध गराउँदैनन् ।

त्यस्तै केहीले तपाईंलाई लुकाइएका एपमा पहुँच बनाउन नसकिने सुनिश्चितता गर्न लक गर्ने विकल्प समेत दिन्छन् । यदि तपाईंको एन्ड्रोइड फोनमा पहिले नै इन्स्टल गरिएको ब्लोटवेयर छ र त्यसलाई डिसेबल गर्न सकिंदैन भने तपाईं सफा किसिमको लुकका लागि एप ड्रयरबाट तिनलाई लुकाउन सक्नु हुन्छ ।

यसका साथै तपाईं आफ्ना बैंकिङ एप, पासवर्ड म्यानेजर र संवेदनशील जानकारी रहेका अन्य एपहरूलाई थप सुरक्षा प्रदान गर्न समेत यो सुविधा प्रयोग गर्न सक्नु हुन्छ । केही एन्ड्रोइड फोनले इन्स्टल गरिएका एप लुकाउन मौलिक किसिमको आफ्नै फिचर दिएका हुन्छन् ।

यदि तपाईंको फोनमा यस किसिमको फिचर छैन भने तपाईं नोभा अथवा माइक्रोसफ्ट लञ्चर जस्ता एप प्रयोग गर्न पनि सक्नु हुन्छ । यस्ता थर्ड-पार्टी लञ्चर एपमा तपाईंलाई राम्रो किसिमको कस्टमाइजेसनका लागि एप आइकन परिवर्तन गर्ने अनुमति समेत पाउन सक्नु हुन्छ ।

कुनै पनि व्यक्तिलाई आफ्नो फोनको एपमा रहेका गोप्य तथा संवेदनशील डेटामा पहुँच बनाउन नदिन आफ्ना त्यस्ता एप लुकाउन सक्नु हुन्छ । फुल प्रुफ नभए पनि यसले तपाईंका चकचके साथी तथा परिवारका सदस्यलाई उचित ज्ञान बिना सहजै पहुँच बनाउनबाट रोक्न सक्छ ।

पछिल्लो अध्यावधिक: चैत ४, २०८० १९:२७