close

हत्याको घटना लुकाउन मृतक सुष्माकै फोन र फेसबुक प्रयोग

टेकपाना टेकपाना

चैत ४, २०८० २०:४७

हत्याको घटना लुकाउन मृतक सुष्माकै फोन र फेसबुक प्रयोग

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जङ्गलमा १८ वर्षीय सुष्मा लामाको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडा बस्ने २१ वर्षीय रूपेन्द्र लामा रहेका छन् ।

काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयका अनुसार गत फागुन २४ गते तारेभीर नजिकैको जंगलभित्र गाडिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त घटना सार्वजनिक भएको एक हप्तापछि रूपेन्द्र पक्राउ परेका हुन् ।

पक्राउ परेका रूपेन्द्रले आफू बच्न अनेक तिकडम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुष्मा लामालाई विगत ८ महिनादेखि मन पराउँदै आएका थिए । दुवै जना घाँस काट्न, बाख्रा चराउन जंगलमा १-२ वर्षदेखि सँगै जाने आउने गर्थे । तैपनि उनीहरूबीच फोन सम्पर्क तथा कुनै पनि सामाजिक सञ्जालमा कुराकानी भने हुन्थेन । भेटको बेला मात्र कुराकानी हुन्थ्यो ।

एकतर्फी मायामा परेका रूपेन्द्रले पटक पटक सुष्मालाई प्रेम प्रस्ताव राखेका थिए । तर सुष्माले भने नकार्दै आएकी थिइन् । सुष्मालाई आफूले नपाउने भएपछि रूपेन्द्रले हत्याको योजना बुन्न थाले । प्रहरीको अनुसन्धान अनुसार हत्या गर्ने नियतले रूपेन्द्रले सुष्मालाई आठ दिनसम्म बाटोमा ढुकेर बसेका थिए । चार दिनदेखि खाल्डो खन्न प्रयोग भएको फलामको कुटो समेत साथमा लिई हिँडेका थिए ।

गत माघ २२ गते सुष्मा एक्लै भएको अवस्था पारी हत्या गरी रूपेन्द्रले जंगलमा उनको शव गाडे । त्यसपछि रूपेन्द्रले सुष्माको मोबाइल र किताब साथमै लगे ।

रूपेन्द्रले सुष्माको फोनको दुरूपयोग गरी आफन्त र प्रहरीलाई अलमलमा राख्न खोजेका थिए । प्रहरीका अनुसार सुष्माको हत्यापछि माघ २३ गते रूपेन्द्रले फेसबुकमा Sushma Mangolian' आईडीबाट एउटा फोटो पनि पोस्ट गरेका थिए, जसमा सुष्माले बिहे गरेजस्तो देखिने गरी पोस्ट भएको थियो । त्यो फोटोमा पुरुषको अनुहारमा भने इमोजी राखी छोपिएको थियो । अनि क्याप्सनमा 'सरी सबैलाई, म तीन दिनमा आउँछु' भनेर लेखिएकाे थियाे ।

रूपेन्द्रले गुगलबाट अर्कै बेहुला/बेहुलीको फोटो डाउनलोड गरी त्यसलाई एडिट गरी सुष्माको आईडीबाट त्यस्तो पोस्ट गरेका थिए । फेसबुकमा यस्तो पोस्ट आएपनि परिवारलाई भने पत्यार लागेन र माघ २५ गते सुष्मा हराएको भन्दै प्रहरी वृत्त बौद्धमा खोजतलासको लागि निवेदन दियो ।

प्रहरीमा निवेदन दिएको हल्ला चलेपछि माघ २६ गते रूपेन्द्रले सुष्मा लामाले प्रयोग गर्ने नम्बरबाट उनकी दिदी नाता पर्ने बिन्दा तामाङलाई मेसेज गरे । मेसेजमा लेखिएको थियो, ‘‘किन केको पुलिस रिपोर्ट गरेको ? म तीन दिनमा आउँछु भन्दा भन्दै कस्तो मान्छे रैछ । अब आउँछु भन्ठानिरा होला, अब मलाई बच्चा पनि भइसक्यो होला, हामीलाई जेलमा हालेर के पाउँछौं ? अबबाट टाढा गएर बस्ने हो, कसैले चिन्ता लिनु पर्दैन हाम्रो ।’’ 

रूपेन्द्रले एसएमएस गरेपछि अन्य फोन कल तथा एसएमएस गरेनन् र केही समयपछि मोबाइल समेत अफ गरे ।

फागुन २४ गते मृतक सुष्मा लामाको घरबाट करिब एक किमि टाढा, स्कुल जाने बाटोबाट करिब १० मिटर तल दुई ओटा हातमात्र देखिएको, शरीरको अन्य भाग पुरिएको अवस्थामा शव भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरे ।

यसपछि फागुन २५ गते सुष्माका परिवार-आफन्तलाई प्रहरीले घटनास्थलमै बोलाएर सनाखत गरायो । सुष्माको साथमा रहेको घरको चाबीबाट मृतककी आमाले शव सनाखत गरेकी थिइन् । 

खाल्डो खन्न प्रयोग भएको कुटो र अभियुक्तको कोठाबाट बरामद भएका मृतकको मोबाइल र किताब/कपि

प्रहरी विभिन्न प्रविधिको प्रयोग गरी त्यसपछि रूपेन्द्रको घर पुग्यो, अनि त्यहाँबाट सुष्माका कापी, किताब र मोबाइल बरामद गर्‍यो ।

यस घटनामा थप अनुसन्धानका लागि रूपेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत ५, २०८० १०:२९