close

एन्ड्रोइड १५ मा पावर अफ र इन्टरनेट नभए पनि हराएको मोबाइल फेला पार्न सकिने फिचर आउँदै !

टेकपाना टेकपाना

चैत ५, २०८० १०:१८

एन्ड्रोइड १५ मा पावर अफ र इन्टरनेट नभए पनि हराएको मोबाइल फेला पार्न सकिने फिचर आउँदै !

काठमाडौं । गुगलले यस वर्षको वार्षिक डेभलपर कन्फ्रेन्सको मिति सार्वजनिक गरिसकेको छ । नयाँ प्रविधि तथा ग्याजेट सार्वजनिक गर्ने कार्यक्रमको रूपमा लिइने उक्त कन्फ्रेन्सलाई गुगल आई/ओको नामले समेत चिनिन्छ । 

यस वर्षको गुगल आई/ओ आगामी १४ मेमा हुने निश्चित भइसकेपश्चात् त्यस क्रममा सार्वजनिक हुने विभिन्न उत्पादनबारे चर्चा सुरु भइसकेको छ । यस अन्तर्गत सर्वाधिक चर्चामा रहेको उत्पादन हो, एन्ड्रोइड १५ ।

गुगलले गत वर्ष नै एन्ड्रोइड १५ को पहिलो डेभलपर प्रिभ्यु सार्वजनिक गरिसकेको छ । एन्ड्रोइडको यस भर्सनमा सुधारिएको क्यामेरा पर्फमेन्स, प्रयोगकर्ताको गोपनीयता, डिभाइस सुरक्षासँगै ग्राफिक्स, डिस्प्ले, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता फिचर आउने बताइएको छ ।

यस भर्सनमा आउन सक्ने ‘अफलाइन डिभाइस ट्रयाकिङ’को अहिले सबैभन्दा बढी चर्चा छ । प्रविधि सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार गुगलले एन्ड्रोइड १५ मा अफलाइन भए पनि डिभाइसको लोकेसन थाहा पाउन सकिने फिचर उपलब्ध गराउने छ । 

यस फिचरले आईफोनको 'फाइन्ड माइ नेटवर्क' जस्तै काम गर्ने छ । उक्त फिचर आएपछि एन्ड्रोइड प्रयोगकर्ताले हराएको डिभाइस इन्टरनेटमा नजोडिएको भए पनि उक्त डिभाइस रहेको स्थान पत्ता लगाउन सक्छन् । यी सबै काम ब्लुटुथ बिकन सिग्नलका आधारमा हुने बताइएको छ । ब्लुटुथ बिकनले हराएको डिभाइसको पावर अफ भएपनि सम्बन्धित डिभाइसमा लोकेसनबारे रिपोर्ट दिन सक्छ ।

यद्यपि ‘फाइन्ड माइ डिभाइस’लाई विस्तार गर्ने र अफलाइनमा हुँदा समेत लोकेसन पत्ता लगाउने फिचर गुगल आई/ओ २०२३ मै घोषणा गरिएको थियो । तर क्रस-प्लेटफर्म डिभाइस ट्रयाकिङका लागि एप्पलले ढिलाइ गर्दा यो प्रविधि गुगलले हालसम्म नल्याएको बताइएको छ । 

यो फिचर सार्वजनिक भएपछि डिभाइसको सुरक्षा बढ्ने मात्र नभइ गोपनीयतामा समेत सुधार आउने अपेक्षा छ । त्यस्तै यदि कसैले थर्ड पार्टी ट्रयाकर प्रयोग गरेर लोकेसन ट्रयाक गर्न खोजे प्रयोगकर्ताले त्यसबारेमा तुरुन्तै सूचना पाउन समेत सक्नेछन् । 

तर हार्डवेयरका कारण सबै डिभाइसमा यो फिचरले काम गर्न नसक्ने समेत बताइएको छ । यसकारण सुरुवाति चरणमा गुगल पिक्सेल ९ र पिक्सेल ८ जस्ता हाई इन्ड एन्ड्रोइड फोनमा यो फिचर आउन सक्ने अनुमान गरिएको छ ।

हाल इन्टरनेटमा कनेक्ट भएका र पावर अन रहेका  एन्ड्रोइड र वेयर ओएस डिभाइसलाई फाइन्ड माइ डिभाइसबाट ट्रयाक गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: चैत ५, २०८० १०:१८