close

साइबरट्रक जस्तो देखिने फोन ‘ग्यालेक्सी एस २४ अल्ट्रा’ सार्वजनिक, मूल्य झण्डै १२ लाख माथि

टेकपाना टेकपाना

चैत १५, २०८० ९:५४

साइबरट्रक जस्तो देखिने फोन ‘ग्यालेक्सी एस २४ अल्ट्रा’ सार्वजनिक, मूल्य झण्डै १२ लाख माथि

 

काठमाडौं । लक्जरी ब्रान्ड काभियरले टेस्ला साइबरट्रक जस्तै देखिने सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा सार्वजनिक गरेको छ । हरेक वर्षजसो केही थान मोडिफिकेसन गरिएका अर्थात् स्वरूप परिवर्तन गरेका स्मार्टफोन बजारमा ल्याउने यो ब्रान्डले अर्को फोन ल्याएको हो ।

यो कम्पनीले बजारमा रहेका फोनहरू लिएर तिनलाई नै लिएर च्यासिसमा अनेक प्रयोग गर्छ । खासगरी सुन जस्ता महँगा धातु यसका लागि प्रयोग गरिन्छ । यसै गरी कम्पनीले अनौठो डिजाइनमा ग्यालेक्सी एस २४ अल्ट्रा ल्याएको हो, जसलाई काभियर सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा साइबरट्रक नाम दिइएको छ ।

जसका लागि सामान्य ग्यालेक्सी एस २४ अल्ट्राको तुलनामा सात गुणा बढी मूल्य तिर्नुपर्नेछ । सामान्य ग्यालेक्सी एस २४ अल्ट्रामा टाइटानियम रेल्स रहेको छ । तर काभियरमा भने समग्र रूपमा धातुबाट बनेको छ र त्यसबाट समग्र रूपमा यसको बडी ढाकिएको छ ।

त्यसका साथै यसमा ज्वेलरी इनामेल समेत प्रयोग गरिएको छ । काभियरले यस्ता फोन केवल ९९ ओटा मात्रै निर्माण गरेको छ । जस मध्ये २५६ जीबी स्टोरेजका लागि आठ हजार ८०० अमेरिकी डलर (करिब ११ लाख ७० हजार रुपैयाँ) मूल्य राखिएको छ ।

त्यस्तै ५१२ जीबी स्टोरेजका लागि भने नौ हजार १३० अमेरिकी डलर (करिब १२ लाख १४ हजार रुपैयाँ) र एक टीबी स्टोरेज भएको फोनका लागि नौ हजार ४९० रुपैयाँ (१२ लाख ६२ हजार रुपैयाँ) मूल्य रहेको छ । तर क्रिप्टोकरेन्सीबाट भुक्तानी गर्दा भने १५ प्रतिशत अर्थात् एक हजार ३२० अमेरिकी डलरको छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

निश्चित रूपमा काभियर फोन र सामान्य ग्यालेक्सी एस २४ अल्ट्राबिच त्यस्तो धेरै उल्लेखनीय भिन्नता भने छैन । सफ्टवेयर, फिचर आदि सबैजसो समान रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८० ९:५४