close

के फेसबुकमा पोस्ट गरिदिए वापत दिनको १० लाख दिने भन्दै आउने मेसेज साँचो हो ?

टेकपाना टेकपाना

चैत १६, २०८० १३:१२

के फेसबुकमा पोस्ट गरिदिए वापत दिनको १० लाख दिने भन्दै आउने मेसेज साँचो हो ?

काठमाडौं । यदि तपाईं फेसबुक पेज प्रयोग गर्नुहुन्छ भने पक्कै पनि तपाईंले विज्ञापन पोस्ट गरिदिनुस् भनेका मेसेज पाउनु भएको होला । विदेशी नाम  र प्रोफाइल राखिएका अकाउन्टबाट आउने त्यस्ता अकाउन्टबाट सबैभन्दा पहिले ‘हामी तपाईंको पेजमा विज्ञापन गर्न उत्साहित छौं’ भनेको मेसेज आउँछ ।

उनीहरूले आफूलाई मेटा, नाइकी, पुमा, एडिडास, नेसल र निसान जस्ता ब्रान्डको पार्टनर भएको भन्दै विश्वस्त बनाउँछन् । यति तपाईंले यताबाट आफू उत्साहित छु भन्ने मेसेज पठाउनु भयो भने उनीहरू फलोअप मेसेज पठाउँछन् । विशेषगरी उनीहरू आफू नराम्रो विज्ञापन नराख्ने र पेजसँग सम्बन्धित विज्ञापन मात्र राख्ने आश्वासन दिन्छन् । जसले गर्दा फेसबुक पोलिसीले कुनै प्रभाव नपार्ने उनीहरूको दाबी हुन्छ । 

दैनिक १० ओटा विज्ञापन तपाईंलाई उपलब्ध गराउने र त्यसबाट तपाईंले दुई ओटा विज्ञापन छानेर राख्नुपर्ने बताउँछन् । त्यसरी विज्ञापन राख्दा प्रति विज्ञापन एक हजार देखि १० हजार डलरसम्म दिने सुनाउँछन् । दिनमा यति रकम पाउन सकिने भनेपछि पेज सञ्चालक उनीहरूको कुरामा विश्वस्त हुन्छन् । 

यति भनिसकेपछि फेसबुक पेज सञ्चालकलाई उनीहरू प्रति विश्वास लाग्छ । यति कुरा भएपछि उनीहरूले रकम केमा पठाउने भन्ने प्रश्न राख्छन् । तपाईंले त्यसमा आफूसँग जुन माध्यम छ त्यो भन्नुभयो भने उनीहरू 'हुन्छ' भनिदिन्छन् । र, ईमेल तथा बैंक विवरण माग्छन् । 

अधिकांश प्रयोगकर्ताले फेसबुक पेज त्यही ईमेलबाट व्यवस्थापन गरेका हुन्छन्, जसलाई उनीहरूले मुख्य ईमेल बनाएका हुन्छन् । त्यसरी फेसबुक पेज मेनेज गर्ने ईमेल पठाएपछि उनीहरू मेलमा फेसबुक पेज एक्सेसका लागि इन्भिटेसन पठाउँछन् । ‘अर्थात् मेटा बिजनेस सुट’ मा पहुँच पाउँछन् । 

यसरी इन्भिटेसन स्वीकार गरिसकेपछि तपाईंको बिजनेस अकाउन्टमा उनीहरूको पहुँच हुन्छ । र, तपाईंको अकाउन्ट त्यसबाट हटाएर आफ्नो अकाउन्ट मात्र राख्छन् र पेज आफ्नो पहुँचमा लिन्छन् । यसरी फेसबुक पेज कब्जा गर्नका लागि नै उनीहरूले लाखौं रकमको प्रलोभन दिएका हुन्छन् । 

लाखौं रकमको विज्ञापन राख्छौं भनेर आए के गर्ने ?

त्यसरी मेसेजमा आएर लाखौं रुपैयाँको विज्ञापन गर्ने प्रलोभन दिने अकाउन्ट नक्कली हुन्छ । कतिपय अवस्थामा स्क्यामरले ह्याक गरिएका अकाउन्ट प्रयोग गर्छन् भने कतिपय अवस्थामा नयाँ अकाउन्ट प्रयोग गर्छन् ।

तपाईंले कम इङ्गेजमेन्ट वा रिच भएका पेजबाट त्यस्ता विज्ञापन राख्छु भन्नुभयो भने उनीहरूले तपाईंको प्रस्ताव अस्वीकार गर्छन् । अर्थात् उनीहरू कम फलोअर र इङ्गेजमेन्ट हुने पेज ताक्दैनन् ।

एउटै व्यक्तिसँग भएका पेजमा पनि छानी छानी राम्रो पेजमा मात्र विज्ञापन गर्छु भन्दा पेज सञ्चालक उनीहरूको विश्वासमा पर्छन् । र, यसरी पेज स्क्यामरको पहुँचमा पुग्छ । 

यस्ता स्क्यामबाट जोगिन तपाईं फेसबुक पेजमा आउने त्यस्ता मेसेज अस्वीकार गर्नुहोस् । फेसबुक पेजमा विज्ञापन राख्ने प्रस्ताव आउँदै नआउने भन्ने होइन । तर, कस्तोले प्रस्ताव राखेका छन् भन्ने कुरा ख्याल गर्नुपर्छ ।

ठूला ब्रान्डको नाम लिएर प्रलोभनमा पार्ने त्यस्ता स्क्यामर अकाउन्टबाट भने तपाईं जोगिनुपर्ने हुन्छ । दिनको लाखौं रुपैयाँ कमाउन सकिने लोभमा पर्दा तपाईंको पेज नै गुम्छ ।

 

यदि उनीहरूसँग कुरा गर्दै जानुभयो भने विश्वस्त बनाउने तमाम आधार पठाउँछन् । जसले गर्दा उनीहरू विज्ञापन गर्न साँच्चिकै उत्साहित छन् भ्रम पर्छ । त्यसैले कुरा अगाडि नबढाउनु नै तपाईंका लागि उपयुक्त हुन्छ ।

विज्ञापन गर्दा स्थानीय ब्रान्डबाट आएको छ भने बढी विश्वास गर्न सकिन्छ । यद्यपि कसैले पठाएका लिङ्क क्लिक गर्नुअघि भने त्यो लिङ्क कत्तिको साँचो हो भन्ने विषयमा प्रष्ट हुनुपर्छ । 

पछिल्लो अध्यावधिक: चैत १६, २०८० १३:१२