close

क्रिप्टोकरेन्सीबाट अर्बपति हुँदै कङ्गाल बनेका युवकलाई २५ वर्ष जेल सजाय

टेकपाना टेकपाना

चैत १६, २०८० १८:५०

क्रिप्टोकरेन्सीबाट अर्बपति हुँदै कङ्गाल बनेका युवकलाई २५ वर्ष जेल सजाय

काठमाडौं । क्रिप्टो एक्सचेन्ज प्लेटफर्म एफटीएक्सका संस्थापक साम ब्याङ्कम्यान फ्रिडलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । आफ्ना ग्राहक र लगानीकर्तालाई ठगी गरेको अभियोगमा अदालतले उनीमाथि यस्तो सजाय सुनाएको हो ।

अमेरिकाको न्यू योर्क स्थित म्यानहट्टन संघीय अदालतका न्यायाधीश लुइस कपलानले बिहीवार यस्ताे फैसला सुनाएका हुन् । कुनै समय अर्बपति रहेका ब्याङ्कम्यानले गम्भीर अपराध गरेको र त्यसमा उनलाई कुनै पश्चाताप नभएको ठहर गर्दै अदालतले २५ वर्ष जेल सजाय सुनाएकाे हाे ।

ब्याङ्कम्यानले आफूबाट ठगिएका ग्राहकलाई भुक्तानी दिने बताउँदै आएपनि न्यायाधीशले उनको तर्कलाई बेवास्ता गरेका थिए । न्यायाधीश कपलानले ब्याङ्कम्यानलाई चाेरको संज्ञा दिंदै उनले चोरेको कुरा फिर्ता दिन खोजेको उल्लेख गरे । ​द गार्डियनका अनुसार उनीबाट पीडित भएका ग्राहकले अदालतमा साम ब्याङ्कम्यानका कारण आफूले पीडा नपाएको कुनै दिन बाँकी नभएको दुखेसो पोखेका थिए ।

यता ब्याङ्कम्यानका वकिलहरूले भने उनको नियत त्यस्तो नभएको तर्क राख्दै आएका थिए । सजाय सुनिसकेपछि ब्याङ्कम्यानले आफूले जे गरे त्यसका लागि माफी मागेका थिए । आफ्नै गलत निर्णयले गर्दा त्यो अवस्था आएको र सह-संस्थापक तथा प्रिय साथी र प्रेमिका आफू विरुद्ध लाग्दा यतिसम्म भएको उनले गुनासो पोखेका थिए ।

न्यायाधीश कपलानका अनुसार ब्याङ्कम्यानले आफ्नो अपराध लुकाउन राजनीतिक र आर्थिक सामर्थ्य प्रयोग गर्न खोजेका थिए । तर, उनले चाहेको जस्तो हुन सकेन । त्यसैले ब्याङ्कम्यानले आफूले गल्ती गरेको थाहा पाउँदा पाउँदै पनि अपराध लुकाउन अरू अपराध गरेको अदालतको ठहर छ । 

अर्बपतिबाट कङ्गाल हुँदै २५ वर्ष जेल सजाय

साम ब्याङ्कम्यान फ्रिड त्यस्ता व्यक्ति हुन्, जसले आठ वर्षमा आफूलाई २६ अर्ब डलर सम्पत्तिको मालिक बनाए । तर, एउटै ट्वीटले रातारात यिनको धनको साम्राज्य ध्वस्त बनाइदियो । ​फोर्ब्सको धनाढ्य सूचीमा समेत रहेका फ्रिड संसारका विभिन्न सञ्चारमाध्यममा छाएका थिए ।

अमेरिकास्थित क्यालिफाेर्नियाका यी युवक कसरी धनी बने र ट्वीटकै कारण कङ्गाल बने भन्ने समाचार उनी पक्राउ परेको समयमा निकै भाइरल भएका थिए । 

यस कथाको सुरुवात सन् २०१४ बाट हुन्छ । त्यस समय साम ब्याङ्कम्यान २२ वर्षका थिए । एमआईटी युनिभर्सिटीको पढाइ सकेर उनले 'जेन स्ट्रिट' नामका ट्रेडिङ कम्पनीमा काम गर्न थाले । काम गर्दै जाँदा सामलाई एउटा त्यस्तो आइडिया आयो, जसले उनलाई अर्बाैं डलर कमाउन सघाउँथ्यो ।

उनले क्रिप्टोकरेन्सीमा एउटा लुपहोल (छिद्र) फेला पारे । यसका माध्यमबाट उनी अमेरिकाबाट बिटक्वाइन खरिद गरेर जापानी बजारमा महँगो मूल्यमा बेच्ने गर्थे ।

यो व्यापार यति नाफामुखी थियो कि, उनले दैनिक दुई करोड ५० लाख डलरसम्म आम्दानी गर्थे । यहाँबाट कमाएको पैसाले सामले 'अलमेडा रिसर्च' नामको एउटा क्रिप्टो फर्म खोले ।

यस फर्ममा उनले आफ्ना कजेलका साथी र उनीसँग 'जेन स्ट्रिट'मा काम गर्ने साथीलाई काममा राखे । 'जेन स्ट्रिट'मा काम गर्ने बेला सामको भेट एउटी युवतीसँग भयो । त्यही युवती सामको जिन्दगीमा आउनु नै उनको बर्बादीको कारण बनिदियो । ती युवतीको नाम थियो- ‘क्यारोलाइन इलिसन’ ।

यी युवती सामको पूर्वसहकर्मीका साथै प्रेमिका पनि थिइन् । क्यारोलाइन आफ्नो करियरका लागि धेरै चिन्तित देखिन्थिन् । त्यसैले सामले उनलाई आफ्नो कम्पनी अलमेडा रिसर्चको प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिए । क्यारोलिनालाई त्यस क्षेत्रमा कुनै पनि अनुभव थिएन ।

अलमेडा रिसर्चको काम

यो घटनामा अघि बढ्नुभन्दा पहिले उनको कम्पनी अलमेडा रिसर्चको काम के थियो भन्नेबारे बुझ्न आवश्यक छ । यो एउटा त्यस्तो कम्पनी हो, जसले आफ्ना ग्राहकलाई क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रेरित गर्थ्यो । त्यही पैसा आफ्ना माध्यमबाट क्रिप्टोमा लगानी गर्थ्यो । र त्यसको बदलामा हरेक वर्ष नाफाको १५ प्रतिशत दिने घोषणा गरेको थियो ।

यहाँसम्म उनीहरूको सबै काम ठीकठाक चलिरहेको थियो । उक्त कम्पनीमा एउटा काम भने असाधारण थियो । त्यो हो अलमेडा रिसर्च चलाउने मानिसहरूको अनुभव । अलमेडामा काम गर्ने सबै कर्मचारी २० देखि ३० वर्ष उमेर समूहका थिए । साम र उनका नौ जना अन्य साथीले कलिलो उमेरमा मानिसहरूको अर्बाैं डलर दाउमा लगाएर राखेका थिए ।

साम ब्याङ्कम्यानलाई धनी हुने यति लोभ थियो, उनले सन् २०१९ मा आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गरे । क्रिप्टोको दुनियाँमा यस्तै कैयौँ करेन्सीहरू छन् । उदाहरणका लागि बिट्क्वाइन, डजक्वाइन आदि । अलमेडाको एक्सेन्ज पनि क्रिप्टोमै हुने गर्थ्यो, जसले गर्दा उनीहरूलाई अर्को कम्पनीबाट ट्रेड गर्नुपर्ने हुन्थ्यो ।

आफ्नो नाफा बढाउन सामले एफटीएक्स क्रिप्टो एक्सेन्ज सार्वजनिक गरे । र, यसैको काममा एफटीटी नामको क्रिप्टोकरेन्सी पनि सार्वजनिक गरियो ।

एफटीएक्स एक्सेन्जको नाम हो भने एफटीटी करेन्सीको नाम हो । मानिसहरू साम र उनको दृढ सङ्कल्पमा धेरै विश्वास गर्थे । त्यसैले उनीहरूले सामको कम्पनी अलमेडा रिसर्चमा मोटो रकम लगानी गरेका थिए ।

यसरी विश्वास बढ्दै जाँदा १० लाख बढी व्यक्तिले आफ्नो पैसा एफटीएक्सको अकाउन्टमा राखेका थिए । र त्यहीबाट ट्रेड गर्न थाले । प्लेटफर्मबाट जति कारोबार हुन्छ, त्यसको केही प्रतिशत एक्सचेन्ज प्लेटफर्मले लिन्छ । उदाहरणका लागि मानौं, १० डलरको ट्रेडिङ गरेर कसैले कुनै करेन्सी खरिद गर्‍यो । अब त्यसको केही प्रतिशत ट्रेडिङ गरेको प्लेटफर्मलाई दिनुपर्ने हुन्छ ।

यस्ता प्लेटफर्मबाट सयौं अर्ब डलरको कारोबार भइरहेको हुन्छ । यसरी उनको कम्पनीले पनि राम्रै आम्दानी गरिरहेको थियो । यहाँसम्म पनि सबै ठीकठाक चलिरहेको थियो ।

कम्पनीले यो समयसम्म चालेका कदम त्यति जोखिमयुक्त थिएनन् । यसपछि सामको दिमागमा एउटा लोभ आयो । त्यही लोभले उनलाई ठूलो जोखिममा धकेलिरहेको थियो ।

सामले एक्सचेन्जका प्रयोगकर्ताको ट्रेडिङ शुल्कमा छुट दिन थाले । जो मानिसहरू आफ्नो पैसा डलरमा ननिकालेर एफटीटीमा राख्थे, उनीहरूका लागि ट्रेडिङ शुल्क निकै कम थियो । एफटीटी करेन्सीको आफ्नो कुनै मूल्य नै थिएन । छुट पाउने भएपछि मानिसहरू एफटीटीमा लगानी गर्न थाले । त्यसपछि एफटीटीको मूल्य बढ्दै जान थाल्यो ।

कम्पनीको यो कदमबाट प्रयोगकर्ताले त फाइदा उठाए । तर, यहाँ सबैभन्दा फाइदा एफटीएक्समा संस्थापक साम ब्याङ्कम्यानलाई नै भइरहेको थियो । किनभने जुन करेन्सीको कुनै पनि मूल्य थिएन, त्यसको मूल्य ८० डलर पुगेको थियो । यो एफटीएक्स र सामका लागि स्वर्णयुग थियो । हरेक ठाउँमा एफटीएक्सको चर्चा बढ्न थाल्यो ।

मर्सिडिज एफ वान टिमले यही चर्चालाई हेर्दै एफटीएक्सलाई आफ्नो विज्ञापन पार्टनर बनायो । यसैगरी यूसी बर्केली स्टेडियमले पनि आफ्नो नाम एफटीएक्सबाटै राख्यो ।

यसका साथसाथै साम ब्याङ्कम्यानलाई धनाढ्य व्यक्तिको सूचीमा राख्न थालियो । क्रिप्टोमा रूचि राख्ने हरेक व्यक्तिका लागि एफटीएक्स चिरपरिचित कम्पनी थियो । तर, यो खुसी सामका लागि केही महिनाको पाहुना मात्र बन्ने क्रममा थियो ।

अब यहाँ बुझ्नुपर्ने कुरा के हो भने, जति पनि मानिसहरू आफ्नो पैसा एक्सचेन्जमा राखेर ट्रेड गर्थे, उनीहरूको पैसा त्यही जम्मा भइराख्नु पर्ने हुन्थ्यो । अर्थात् उनीहरू जब पनि आफ्नो पैसा एक्सचेन्ज गर्न वा निकाल्न चाहन्थे उनीहरू सजिलै निकाल्न सक्थे । यही भरोसाले मानिसहरू आफ्नो पैसा एक्सचेन्ज प्लेटफर्ममा राखिरहन्छन् । तर, वास्तविकतामा सबै मानिसहरू आफ्नो पैसा एकैपटक निकाल्दैनन् ।

बजारको डरले मात्र मानिसहरू आफ्नो पैसा निकाल्ने गर्छन् । यो कुराको फाइदा उठाउँदै सामले ग्राहकले राखेको पैसा अन्य कुनै क्वाइनमा लगानी गर्थे । यो काम निकै सजगता अपनाएर गरिएको थियो । बाहिरका मान्छे जस्तै अलमेडा र एफटीएक्सका कर्मचारीलाई पनि यो कुराको अन्दाज थिएन । सामले यो कुरा धेरै गोप्य राखेका थिए । किनभने यो एक गैरकानूनी काम थियो ।

यदि उनको यो काम लिकको खण्डमा उनी ठूलो भुमरीमा खस्नेवाला थिए । साम एउटै कुरामा केन्द्रित थिए, त्यो के भने ग्राहकले जम्मा गरेको पैसाबाट नाफा कमाउने र त्यसबाट कमाएको नाफा एफटीएक्समा राख्ने । तर, सामलाई उनको भाग्यले साथ दिएन । यही समयमा अमेरिकामा मुद्रास्फीति भयो । अर्थात् डलरको मूल्य बढ्यो ।

त्यसैले मानिसहरू आफूसँग भएको सम्पत्ति बेच्न थाले । यही कारणले क्रिप्टो बजार पनि प्रभावित भयो । मानिसहरूले एफटीएक्स एक्चेन्ज कम्पनीमा राखेको पैसा त्यस कम्पनीका सञ्चालकले जहाँजहाँ लगानी गरेका थिए, त्यो सबै पैसा डुब्यो । यहाँसम्म पनि केही ठीक चलिरहेको थियो । सामले अन्य कम्पनीमा लगानी गरेको कुरा न्युज एजेन्सीमा लिक भयो ।

सामकी प्रेमिका तथा अलमेडा रिसर्च कम्पनीकी सीईओ क्यारोलाइनले द वाल स्ट्रिट जर्नल (न्युज एजेन्सी) सँग भएको भिडिओ कलमा झुक्किएर एफटीएक्समा मानिसहरूले जम्मा गरेको पैसा उक्त कम्पनीले अन्य ठाउँमा लगानी गरेको कुरा खुलाइन् । उक्त खबर ठूलो ब्रेकिङ न्युज थियो ।

ग्राहकले एक्चेन्ज प्लेटफर्ममा राखेको पैसा अन्य ठाउँमा लगानी गर्नु गैरकानूनी पनि हो । यो खबरलाई टार्न सामले विभिन्न प्रयास गरे । उनले सबैको रकम सकुशल फिर्ता गर्ने प्रतिबद्धता पनि गरेका थिए । यो सबै घटनालाई एउटा व्यक्ति चुपचापसँग नियालिरहेका थिए । जसको यो सबै कथामा एउटा महत्त्वपूर्ण भूमिका छ । उनी हुन् चेङपेङ ज्हाओ (सीजेट) । अर्थात् क्रिप्टो एक्सेन्ज कम्पनी बाइनान्सका सीईओ ।

एफटीएकको प्रतिद्वन्द्वी वा भनौं सामको साथी सीजेटका लागि यो घटना निकै महत्त्वपूर्ण थियो । जब साम एफटीएक्स एक्सचेन्ज सार्वजनिक गर्ने तरखरमा थिए, तब सीजेटले यसमा आफ्नो ५० करोड डलर शेयर राखेका थिए । एफटीएक्स बढ्दै गएपछि सामले उनको रकम दुई अर्ब डलर दिँदै उनको शेयर खरिद गरे ।

तर, यो दुई अर्ब डलर अमेरिकी डलरमा नभएर एफटीटीका रूपमा फिर्ता गरेका थिए । यो सामको आफ्नै करेन्सी थियो । सीजेटले यो त्यही बेलादेखि सम्हालेर राखेका थिए । अर्थात बिक्री गरेका थिएनन् । आफ्नो करेन्सी दिन पाएपछि साम मख्ख थिए । तर, उनलाई थाहा थिएन कि उनले दिएको करेन्सी एउटा बम जस्तै थियो । जसले सामको साम्राज्य नै ध्वस्त बनाउनेवाला छ ।

सीजेटसँग यति धेरै एफटीटी जम्मा थियो कि उनले त्यो करेन्सी कुनै पनि बेला बिक्री गरेर सामको कम्पनीलाई कङ्गाल बनाइदिन सक्थे । किनभने यस्ता करेन्सीको भ्यालु धेरै त हुनसक्छ । तर, यसका खरिदकर्ता धेरै हुँदैनन् ।

यता सीजेटले भने त्यस्तो गरेनन् । किनभने सीजेट यस्तो मौका पर्खिरहेका थिए । जसले एक झट्कामै सामलाई कङ्गाल बनाउन सकोस् । जब समाचारमा सामको सबै कर्तुत बाहिरियो तब ६ नोभेम्बर २०२२ मा सीजेटले एउटा ट्वीट गरे । जसले सामको पूरै सम्राज्य ध्वस्त बनाउँदै थियो ।

उनले ट्वीट गर्दै लेखे, “एफटीएक्समा भष्ट्राचार भएको खबर बाहिरिएसँगै हामीले हामीसँग भएको एफटीटी टोकन बिक्री गर्ने निर्णय गरेका छौ ।”

यतिबेलासम्म सीजेटले आफ्नो एफटीटी टोकन बिक्री गरिसकेका थिएनन् । तर, यही ट्वीटले गर्दा पूरै क्रिप्टोको संसार नै हल्लाइदियो । जोसँग एफटीटी टोकन थियो, उनीहरूले सबै टोकन बिक्री गर्न थाले । र, एफटीएक्स एक्सचेन्जबाट आफ्नो पैसा निकाल्न थाले ।

पैसा त्यतिबेला मात्र निकाल्न मिल्छ जब त्यहाँ कुनै पैसा हुन्छ । साम यतिबेलसम्म पूरै फसिसकेका थिए । उनीसँग सीजेटको पाउ पर्ने बाहेक अन्य कुनै विकल्प थिएन । साम र सीजेटबीच केही कुरा भयो । जहाँ बाइनान्स एफटीएक्सलाई खरिद गर्दै थियो । त्यो पनि धेरै सस्तो मूल्यमा ।

तर, दुई दिनपछि सीजेटले एक अर्को ट्वीट गर्दै आफूले एफटीएक्स खरिद नगर्ने जानकारी दिए । किनभने सामले एफटीएक्स कम्पनीलाई ठूलो भुमरीमा पारिसकेका थिए । उक्त कम्पनी खरिद गर्दा सीजेटलाई झनै घाटा हुने अवस्था आयो । एफटीएक्सले मानिसहरूको १० अर्ब डलर फिर्ता दिनुपर्ने थियो । तर, उक्त कम्पनीसँग ९० करोड डलर मात्र थियो ।

अर्थात् सामले ग्राहकको ९० प्रतिशत रकम निकालेर अन्य ठाउँमा लगानी गरिसकेका थिए । उनले त्यस्तो ठाउँमा लगानी गरेका थिए जहाँ उनको लगानी डुबिसकेको थियो । त्यसपछि दुई दिनअघि २६ अर्ब डलरका मालिक साम रातारात कङ्गाल भए । अर्थात् दुई ओटा ट्वीटले गर्दा उनलाई थप ८ अर्ब डलर ऋण लाग्यो ।

११ नोभेम्बर २०२२ मा सामले ट्वीट गर्दै आफू हारेको स्वीकार गरे र भने “एफटीएक्स, एफटीएक्स यूएस र अलमेडा सबै बैंकरप्ट भए ।” लोभले अरूको पैसा आफ्नो व्यक्तिगत फाइदाका लागि लगानी गर्न खोज्दा साम जस्तै कैयौं मानिसहरू यसरी रातारात कङ्गाल भए । त्यसरी साममाथि विभिन्न मुद्दाहरू परेका थिए । अहिले भने उनलाई अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८० १९:१०