close

हाम्रो पात्रोमा पहिलो पटक एआई प्रयोग, अब समाचार पढ्न थप सजिलो हुने

टेकपाना टेकपाना

चैत १७, २०८० ११:५७

हाम्रो पात्रोमा पहिलो पटक एआई प्रयोग, अब समाचार पढ्न थप सजिलो हुने

काठमाडौं । चर्चित नेपाली एप हाम्रोपात्रोले समाचार खण्डमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको छ । प्रयोगकर्ताहरूका लागि थप सटीक र सूचनामूलक समाचार अनुभव प्रदान गर्न र लोकप्रिय समाचार शीर्ष स्थानमा राख्न एपमा एआई समावेश गरिएको कम्पनीले जनाएको छ ।

शनिवार सामाजिक सञ्जाल लिङ्क्डइनमा एक पोस्ट राख्दै  हाम्रोपात्रोका अध्यक्ष रुद्र पाण्डेले यसबारे जानकारी दिए । यस अन्तर्गत हाम्रो पात्रोको होमपेजमा ‘समाचार बुलेटिन’ (News Bulletin) सेक्सन राखिएको छ । उक्त सेक्सनमा एआईले नै सबैभन्दा चर्चित समाचारहरू आकर्षक ढङ्गमा मिलाएर राख्ने पाण्डेले उल्लेख गरे ।

उनका अनुसार यो सुविधाबाट पाठकहरू कस्ता समाचार सामग्री रुचाउँछन् भनेर बुझ्न सकिने छ ।

एप अडपेट गरिसकेपछि उपलब्ध हुने ‘समाचार बुलेटिन’ सेक्सनमा फेसबुकको स्टोरिज जस्तै इन्टरफेस देखिन्छ । त्यसमा चर्चित समाचार कुन-कुन सञ्चार माध्यममा आएको छ भन्ने राखिएको छ ।

उक्त समाचारमा ट्याप गर्दा समाचारको शीर्षक र मुख्य विषयवस्तु देख्न सकिन्छ भने अन्तिममा स्रोतहरू उल्लेख छन् । उक्त समाचार खोलेको २० सेकेन्डपछि नयाँ उक्त ठाउँमा नयाँ समाचार देखिन्छ ।

यदि स्क्रिनमा ट्याप गरेर समाचार पढ्ने हो भने आफूले चाहेको समयसम्म उक्त समाचार फिडमा अडाइराख्न सकिन्छ । 

त्यस्तै यदि समाचारको मुख्य स्रोतमै जान चाहेको खण्डमा भने पाठकले अन्तिममा देखाइएको सञ्चार माध्यमको लोगोमा ट्याप गर्नुपर्ने हुन्छ । त्यस्तै २०  सेकेन्डभन्दा अगाडि नै उक्त समाचार पढिसकेको खण्डमा उक्त समाचारलाई माथि सारेर नयाँ समाचार पढ्न सकिन्छ ।

कम्पनीले यसमा लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) र भेक्टर डेटावेस प्रयोग भएको जनाएको छ । एलएलएम र भेक्टर डेटावेसको प्रयोगले समाचार लेखहरू खोज्ने, वर्गीकरण गर्ने र संक्षेप गर्ने एपको क्षमतामा उल्लेखनीय सुधार हुने बताइएको छ । यद्यपि अहिले केही समाचारको विषयवस्तु भने स्पष्ट उल्लेख नभएको देख्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: चैत १७, २०८० १२:८