close

कृषि विकास बैंकको मोबाइल बैंकिङ एपबाट बिना धितो २ लाखसम्म ऋण लिन सकिने

टेकपाना टेकपाना

चैत २३, २०८० १८:१९

कृषि विकास बैंकको मोबाइल बैंकिङ एपबाट बिना धितो २ लाखसम्म ऋण लिन सकिने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले दुई लाख रुपैयाँसम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् ।

कृषि विकास बैंक लिमिटेडमा तलबी खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन सक्ने बैंकले जनाएको छ । उक्त कर्जाको भुक्तानी अवधि ईएमआई तीन, छ, नौ र १२ महिना तय गर्न सकिनेछ भने पूर्व भुक्तानी (प्रि-पेमेन्ट)को विकल्प पनि रहने छ ।

एडीबीएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकले बाइ नाउ, पे लेटर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न सकिन्छ । यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।

त्यसैगरी ग्राहकले कन्भर्ट टु ईएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन्, जसअन्तर्गत योग्य ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रमाणित ईमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएल इन्स्टान्स फोनलोनमा रजिस्टर गर्न सक्नेछन् ।

कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरू जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोबार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयरमार्फत तय गरिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १८:१९