close

नेपालमा हाइड्रोजन इन्धन उत्पादन सम्बन्धी लेखिएको रिसर्च पेपर ‘फ्रन्टियर्स’ मा प्रकाशित

टेकपाना टेकपाना

चैत २७, २०८० ८:५१

नेपालमा हाइड्रोजन इन्धन उत्पादन सम्बन्धी लेखिएको रिसर्च पेपर ‘फ्रन्टियर्स’ मा प्रकाशित

काठमाडौं । काठमाडौं विश्वविद्यालयलको ग्रीन हाइड्रोजन ल्याबका अनुसन्धानकर्ताले लेखेका एक अनुसन्धानात्मक लेख प्रतिष्ठित फ्रन्टियर्स जर्नलमा सार्वजनिक भएको छ । नेपालमा हाइड्रोजनमा आधारित इन्धनको उत्पादन सम्बन्धी लेखिएको अनुसन्धानात्मक लेख सोमबार फ्रन्टियर्समा प्रकाशित भएको हो ।

'इकोनोमी अफ स्केल फर ग्रीन हाइड्रोजन डिराइम्भ फ्युल प्रडक्सन इन नेपाल' शीर्षककाे उक्त लेख ग्रीन हाइड्रोजन ल्याबका प्रमुख तथा उपप्राध्यापक डा. विराज सिंह थापा, विष्णु पाण्डे र राहुल घिमिरेले लेखेका हुन् । यस लेख औद्योगिक ऊर्जाका लागि हाड्रोजनबाट बन्ने इन्धन कति मात्रामा उत्पादन गरिए हाल ऊर्जामा नेपालले गरिरहेको खर्च कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको डा. थापाले बताए । 

उनका अनुसार एउटा कार्बनमा हाइड्रोजनको चार भाग मिलाएपछि मिथेन बनाउन सकिन्छ । त्यसरी कार्बनडाइअक्साइडबाट मिथेन बनाउँदा नवीकरणीय ऊर्जाबाट उत्पादन भएको हाइड्रोजन प्रयोग हुन्छ । साथै उद्योगमै उत्सर्जन भएको कार्बन प्रयोग हुन्छ । त्यसो हुँदा अतिरिक्त कार्बन उत्सर्जन हुँदैन । त्यसैले यसलाई ग्रिन फ्युल अर्थात् सिन्थेटिक न्याचुरल  ग्यास पनि भनिन्छ । अर्थात् नवीकरणीय ऊर्जाबाट निस्केको बिजुली र उद्योगबाट निस्केको कार्बनडाइअक्साइडबाट सिन्थेटिक न्याचुरल ग्यास इन्धन बनाउन प्रयोग गरिन्छ । 

सोही सिन्थेटिक न्याचुरल ग्यासको नेपालमा सम्भाव्यताबारे गरिएको अनुसन्धान लेखमा उल्लेख छ । “नेपालमा ७० प्रतिशत औद्योगिक ऊर्जा विद्युत बाहेक अन्यबाट माध्यमबाट आउँछ । यसकारण ‍ग्रीन मेथिन वा सिन्थेटिक न्याचुरल  ग्यास प्रयोग गर्ने कि भनेर हामीले लामो समयदेखि अनुसन्धान गरिरहेका छौं,” टेकपानासँगको कुराकानीमा उनले भने, “सो क्रममा हामीले त्यो प्रविधिको डिजाइन गरेका छौं । त्यसको प्राविधिक तथा आर्थिक पक्षको मूल्याङ्कन गरेका छौं । त्यहीबारे लेखिएको अनुसन्धानात्मक लेख प्रकाशित भएको हो ।”

त्यस्तै विश्वविद्यालयले अहिले उक्त प्रविधिलाई ल्याबमा परीक्षण गरिरहेको छ । अब चाँडै उद्योगमा ऊर्जाका रूपमा प्रयोग गर्न सकिने ग्रीन मिथेनको नमूना उत्पादन पनि हुने उनले बताए । सो काम सकेसम्म चाँडो हुने र हाइड्रोजन गाडी जस्तै नेपालमा संस्थागत विकास गर्न कोसेढुङ्गो बन्ने उनले सुनाए ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८० ९:१