close

कहाँबाट आउँछ काठमाडौंलाई विश्वकै पहिलो नम्बरको प्रदूषित सहर देखाउने डेटा ?

टेकपाना टेकपाना

चैत २८, २०८० १९:३८

कहाँबाट आउँछ काठमाडौंलाई विश्वकै पहिलो नम्बरको प्रदूषित सहर देखाउने डेटा ?

काठमाडौं । अहिले वसन्त ऋतुको समय छ । यस यामलाई रमाइलो र मनमोहक मानिन्छ । काठमाडौंको मौसम भने अहिले स्वास्थ्यका लागि प्रतिकूल छ । विभिन्न वायु गुणस्तर मापनहरू (एयर क्वालिटी मोनिटर) का अनुसार काठमाडौं मुख्य प्रदूषित सहरमा परेको छ ।

हुन त हरेक वर्ष यसै समयतिर काठमाडौंको वायु निकै प्रदूषित हुने गर्छ । वायु प्रदूषणको अवस्था कस्तो छ भनेर थाहा पाउन हामी विभिन्न सूचकमा भर पर्ने गर्छौं । त्यो मापन विभिन्न संस्थाले गर्छन् । आज हामी वायु प्रदूषणका लागि आवश्यक पर्ने डेटा कसरी सङ्कलन गरिन्छ र  कुन विधि अपनाइन्छ भन्ने विषयबारे चर्चा गर्ने छौं:

के हो वायु प्रदूषण ?

विषालु ग्यास तथा फोहरमैलाका धुलोका कणबाट हावा दूषित भएपछि वायु प्रदूषण हुन्छ । तेल, कोइला, डिजेल, पेट्रोलजस्ता इन्धनमार्फत इन्जिन, उद्योग तथा विद्युतीय यन्त्र चलाउँदा वायु प्रदूषणकाे सम्भावना उच्च हुन्छ । 

प्रायजसो सहर, औद्योगिक क्षेत्र तथा सजिलै आवतजावत गर्न गाह्रो हुने उपत्यकाहरूमा वायु प्रदूषण हुने गर्छ । वायु प्रदूषणले क्यान्सर तथा श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउन सक्छ । यसका साथै अम्लीय वर्षासमेत हुन सक्छ । ‍

वायु प्रदूषणको जाँच कसरी गरिन्छ ? 

वायु प्रदूषण भए/नभएको जाँच्न वायुको गुणस्तर मापन गरिन्छ । यसका लागि विशेषगरी ‘एयर क्वालिटी मोनिटर’ प्रयोग गरिन्छ । यो एक प्रकारको डिभाइस हो । तिनीहरूले लेजर र स्याटलाइट इमेज पनि प्रयोग गर्छन् ।

जस्तै; एनओएएको जीओईएसजेपीएसस स्याटलाइटले वायु प्रदूषणबारे डेटा सङ्कलन गर्ने गर्छन् । समग्रमा जमिनमा राखिएका सेन्सर जडित डिभाइस र स्याटलाइट डेटाका आधारमा वायुको गुणस्तर मापन गरिन्छ । 

सो क्रममा प्राप्त हुने डेटाले वायु कस्ताे छ भन्ने थाहा हुन्छ । यदि तोकिएको मापदण्डभन्दा वायुको गुणस्तर नराम्रो भए त्यसलाई वायु प्रदूषण भएको बताइन्छ । वायुको गुणस्तर जाँच्न विभिन्न आधार छन् । तीमध्ये एक हो, एयर क्वालिटी इन्डेक्स (एक्यूआई) । यसमा ० देखि ५०० लाई छ वर्गमा विभाजन गरिएको छ । जसमा ०-५० सम्म राम्रो सुरक्षित, ५१-१०० सम्म ठीकै, १०१-१५० सम्म निश्चित समूहलाई संवेदनशील, १५१-२०० सम्म अस्वस्थ, २०१-३०० सम्म धेरै अस्वस्थ र ३०१ भन्दा माथिलाई धेरै खतरा मान्ने गरिन्छ । 

त्यस्तै अर्को हो, पार्टिकुलर म्याटर । जसलाई छोटोमा 'पीएम' (PM) लेखिन्छ ।  यसमा पीएम २.५  (PM 2.5) र पीएम १०  (PM 10) सूचक हुने गर्छ । पीएम २.५ मा मा वायु प्रदूषणको मात्रा ‘माइक्रोग्राम प्रति घनमिटर’ एकाइमा मापन गर्ने गरिन्छ । यसको औसत एकाइ २४ घन्टामा ४० माइक्रोग्राम प्रति घनमिटर हुनुपर्छ । यदि त्योभन्दा कम भए हावा स्वस्थ हुने र बढी भए प्रदूषित हुन्छ ।  

पीएम १० ले १० माइक्रोनभन्दा साना धुलोका कण जाँच गर्छ । चाैबिस घन्टामा औसत १२० माइक्रोग्राम प्रति घनमिटरभन्दा एकाइ देखाए हावा स्वस्थ हुने र बढी देखाए प्रदूषित हुन्छ ।  

यी बाहेक ओजन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड आदिका आधारमा समेत वायुको गुणस्तर जाँच गरिन्छ । 

त्यसरी विभिन्न माध्यमबाट प्राप्त हुने डेटालाई हामीले एआईक्यू एयर, एयर नाउ, एक्वीआई इन लगायत विभिन्न सञ्चारमाध्यमको वेबसाइटमा हेर्न सकिन्छ । 

नेपालमा कसरी हुन्छ वायु प्रदूषणको जाँच ?

नेपाल सरकारले वायुको गुणस्तर जाँच गर्न देशभर २४ स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ, जुन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग मातहत छन् । ती बाहेक विभिन्न गैरसरकारी संस्थाहरूले पनि आफूअनूकल त्यस्ता केन्द्र स्थापना गरेका छन् । 

काठमाडौं उपत्यकाका लागि विभागले रत्नपार्क, शंखपार्क, भैँसेपाटी, पुल्चोक र भक्तपुरमा गरी पाँच ठाउँमा केन्द्र स्थापना गरेको छ । यस्ता केन्द्र चाैबिसै घन्टा सञ्चालन हुन्छन् । यसरी ती केन्द्रहरूबाट रियल-टाइम अर्थात् तत्कालै वायु सम्बन्धी डेटा सङ्कलन गरिन्छ । ती डेटालाई प्रशोधन गर्न लाइट स्क्याटरिङ (light scattering) विधि प्रयोग गरिन्छ । 

यसका लागि त्यस्ता केन्द्रमा मेजरमेन्ट चेम्बर (स्पेक्ट्रो मिटर), लेजर, रिसिभर लगायतका उपकरण जडान गरिएको छ । वायु प्रदूषण जाँचका लागि मेजरमेन्ट चेम्बरमा धुलो सहितको हावा छिराइन्छ । त्यहाँ हावामा भएका धुलोका कणहरूले लेजर (प्रकाश)लाई स्क्याटरिङ गर्छन् । 

सामान्य भाषामा बुझ्दा त्यस चेम्बरले हावामा भएका धुलोका कणको फोटो खिच्छ । र, हावामा कति धुलाे छ, कत्रा छन् भनेर मापन गर्छ । त्यसपछि त्यसैको आधारमा वजन निकाल्छ । र, त्यसलाई हिसाब गरेर डेटा तयार पार्ने काम गर्छ । यसरी वायु गुणस्तर मापन केन्द्रमा वायु प्रदूषणबारे प्रत्येक मिनेटमा डेटा तयार हुन्छ । त्यससँगै चाैबिसै घन्टाको औसत डेटा पनि निकालिन्छ । 

त्यसरी विभिन्न ठाउँमा स्थापना गरिएका त्यस्ता केन्द्रबाट तयार हुने डेटालाई विभागको ‘सेन्टर सर्भर’मा डेटा पठाइन्छ । जहाँ सफ्टवेयरले ती डेटालाई स्वतः प्रशोधन गर्छ । त्यसरी प्रशोधित डेटालाई विभागले दैनिक रूपमा सार्वजनिक गर्ने गर्छ । जुन हामी सबैले विभागले सञ्चालन गरिरहेको ‘पोलुसन डट जीओभी डट एनपी’ वेबसाइटमा हेर्न सक्छौं । यस वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

विभिन्न अन्तर्राष्ट्रिय मिडिया तथा विश्वभरका सहरको वायु प्रदूषणको अवस्था देखाउने आईक्यूएयर जस्ता अन्य प्लेटफर्मलाई पनि विभागले यही डेटा उपलब्ध गराइरहेकाे छ ।

 

पछिल्लो अध्यावधिक: चैत २९, २०८० ९:२८