close

नेपाली बजारमा साढे २ महिनामा १५० बढी ओमोडा ईभी बिक्री

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १९:१८

नेपाली बजारमा साढे २ महिनामा १५० बढी ओमोडा ईभी बिक्री

काठमाडौं । नेपाली बजारमा ओमोडा ब्रान्डका १५० बढी विद्युतीय गाडी बिक्री भएका छन् । नेपालका लागि ओमोडाको आधिकारिक बिक्रेता शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल प्रालिले करिब दुई महिनाको अवधिमा १५० बढी गाडी बिक्री भएको जानकारी दिएको हो ।

बुकिङ भएको १५१ गाडीको हस्तान्तरण (डेलिभरी)सँगै काठमाडौंको उत्तरढोकास्थित ओमोडाको शोरुमको औपचारिक उद्घाटन गरिएको छ । शोरुमको उद्घाटन नेपालका लागि चिनियाँ राजदूत सोङ चेनले गरे ।

सो अवसरमा शारदा ग्रुपका अध्यक्ष एस.आर. शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा लगायतको उपस्थिति थियो । कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकलाई राजदूत चेन सोङले गाडीको की (साँचो) हस्तान्तरण गरेका थिए ।

नेपाली बजारमा गत २ फेब्रुअरीमा ‘ओमोडा ई फाइभ’ काे बुकिङ खुलेकाेमा ४०० बढीले अर्डर गरेकाे र १५० बढी गाडी हाल नेपाली सडकमा गुडिरहेकाे शारदा ग्रुपका निर्देशक गौरव शारदाले जानकारी दिए ।

‘ओमोडा ई फाइभ’ को मुख्य आकर्षण भनेको ६१ किलोवाटको लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्री हो, जसको ऊर्जाले एक पटकको चार्जमा ‘डब्लूएलटीपी’ रेन्ज ४३० किमि दिने कम्पनीको भनाइ छ । त्यस्तै गाडीमा यात्रु तथा चालकका लागि २.५ लेभलको महत्त्वपूर्ण ‘एडीएस’ सुरक्षा फिचरहरू उपलब्ध छन् । 

यसमा पाँच ओटा सिट रहेका छन् । त्यस्तै टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ ।

कम्पनीका अनुसार ई-फाइभमा उच्च गुणस्तरको एलईडी हेडलाइट रहेको छ भने टी आकारको डे टाइम रनिङ लाइट समावेश छ । यसमा २४.६ इन्चको डुअल स्क्रिन छ । 'क्रोम सेप्ड' डोर ह्यान्डल, सोनी स्पिकर, सिम्पल वुडग्रेन डिजाइन यसका थप विशेषता हुन् ।

कम्पनीका अनुसार ओमोडा ई-फाइभमा सन रुफ समेत दिइएको छ । त्यस्तै यसमा २५६ कलर एम्बियन्ट लाइट समावेश गरिएको छ ।

इन्टेरियर कलर टोनका सन्दर्भमा यो गाडी ब्ल्याक इन्टेरियर र ब्लु ह्वाइट स्टिट्चिङ इन्टेरियटर कलर टोनमा उपलब्ध छ भने बाहिरपट्टि ह्वाइट, ब्ल्याक, रेड, ब्लु, अक्वाटिक ग्रिन, ग्रे र सिल्भर कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ट्राफिक जाममा पनि सुरक्षित र आरामदायी यात्राका लागि गाडीमा ट्राफिक जाम असिस्टेन्ट (टीजेए) तथा रियर एक्रस ट्राफिक असिस्टेन्ट (आरसीटीए) समावेश गरिएको छ । गाडीमा भएका विभिन्न सेन्सरले गाडीको अगाडि, पछाडि, दायाँ वा बायाँ कुनै वस्तु ठोक्किन आए तुरुन्त अलर्ट दिने कम्पनीले उल्लेख गरेको छ ।

यसमा कम्पनीले छ ओटा एयर ब्याग दिएको छ । लेन किपिङ असिस्टेन्ट, डिपार्चर रिमाइन्डर, आईईएस, फ्रन्ट कोलाइजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक जाम एभोइडेन्स असिस्टेन्ट, डोर ओपन वार्निङ गाडीमा भएका सेफ्टी फिचरहरू हुन् ।

कम्पनीका अनुसार यो गाडीले ईयू फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड र चाइना फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

६१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको गाडीमा कम्पनीले ९९ किलोवाट क्षमताको फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर उपलब्ध गराएको छ ।

फास्ट चार्जर (८० किलोवाट चार्जर)मार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको भनाइ छ । ११ किलोवाटले भने यो गाडीलाई चार घण्टामा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ । कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ ।

नेपाली बजारमा यो कारको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १९:२४