close

टेस्लाका ४ हजार गाडीमा समस्या आएपछि एलन मस्कको भारत भ्रमण स्थगित

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १२:४६

टेस्लाका ४ हजार गाडीमा समस्या आएपछि एलन मस्कको भारत भ्रमण स्थगित

काठमाडौं । टेस्लाका चार हजार बढी गाडीमा समस्या आउँदा एलन मस्कको भारत भ्रमण स्थगित भएको छ । सोमबार भारत भ्रमणमा आउने भनेका मस्कले एक्समार्फत आफ्नो भ्रमणको मिति सरेको पुष्टि गरेका हुन् ।  

सुरुमा सीएनबीसी टिभीलाई उद्धरण गर्दै डज डिजाइनर नामक एक्स ह्याण्डलले २१ देखि २२ अप्रिलमा हुने मस्कको भ्रमण स्थगित भएको जानकारी दिएको थियो । सो पोस्टमा टेस्लाको आम्दानी रिपोर्ट सार्वजनिक गर्ने कार्यक्रम रहेकाले भ्रमण स्थगित भएकाे बताइएको छ ।

सोही पोस्टमा रिप्लाई गर्दै मस्कले विशेष कारणवश भारत भ्रमण ढिलाइ हुने पुगेकाे बताएका छन् । उनले आफू यसै वर्ष भारत भ्रमण गर्न उत्सुक रहेकाे समेत सेाही रिप्लाई मार्फत जानकारी दिएका छन् । उनले भारत भ्रमणकाे कारण नखुलाएकाे भए पनि साइबर ट्रकमा देखिएकाे समस्या यसकाे मुख्य कारणकाे रुपमा हेरिएको छ । 

टेस्लाले हालैमात्र साइबर ट्रककाे  एक्सिलेटर पेडलमा समस्या देखिएपछि ग्राहकहरूलाई बेचिसकेको सबै गाडी फिर्ता बोलाएको थियो । पेडललाई अलि जोडले थिच्दा गाडीको भित्र अड्किने समस्या देखिएपछि बिक्री गरिसकेका तीन हजार ८७८ साइबर फिर्ता बोलाइएको छ । जसकाे परिणाम मस्ककाे भारत भ्रमण रोकिएको हुन सक्ने आँकलन गरिएको छ ।  

पछिल्लो समय मस्क भारत आउने प्रसङ्गले चर्चा पाएको थियो । भारत निर्वाचनको सम्मुखमा मस्कको भ्रमणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टीलाई सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको थियो । मस्कले पनि यसअघि एक्स पोस्ट मार्फत आफू भारत भ्रमणका लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए । 

भारत भ्रमणमा देशका उच्च अधिकारी तथा टेक स्टार्टअपका व्यक्तित्वहरूसँग उनको भेटवार्ता हुने बताइएको थियो । भारतमा मस्कको कम्पनी टेस्लाले दुईदेखि तीन अर्ब डलरसम्मको पावर प्लान्ट स्थानमा गर्न लागेको छ । त्यसका लागि टेस्लाका प्रतिनिधि भारत भ्रमणमा आउन लागेको समेत विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १२:४६