काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील सुशील फुयाँलले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रणालीमा सुरक्षा कमजोरी पत्ता लगाएका छन् । बगक्राउडले आयोजना गरेको नासाको भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राममा भाग लिँदै फुयाँलले सुरक्षा कमजोरी पहिचान तथा रिपोर्ट गरेका हुन् ।
उनले यो उपलब्धि आफ्नो फेसबुकमा शेयर गर्दै भनेका छन्, “मैले नासा- राष्ट्रिय एरोनटिक्स र स्पेस प्रशासनलाई सफलतापूर्वक ह्याक र सुरक्षित गरेको छु ! सानो एचटीएमएल एडभेन्चर मात्र थियो, तर यो मेरो लागि ठूलो उपलब्धि हो ।”
उनको फेसबुक पोस्टमा नासाको वाशिङ्टन डीसीस्थित मुख्यालयबाट जारी गरिएको कदर पत्र पनि संलग्न छ । कदरपत्रमा नासाले फुयाँलको सुरक्षा अनुसन्धान क्षमता र जिम्मेवारीपूर्वक रिपोर्टिङ गर्ने प्रक्रियाको खुलेर प्रशंसा गरेको छ ।
पत्रमा भनिएको छ, “सुरक्षा कमजोरी पहिचान र रिपोर्ट गर्न सक्ने क्षमता सूचना सुरक्षा क्षेत्रमा महत्त्वपूर्ण छ। तपाईंको रिपोर्टिङले नासालाई अज्ञात कमजोरीहरूको बारेमा सचेत गराएको छ र नासाको सूचना प्रणालीको सुरक्षामा सुधार ल्याएको छ ।”
पत्रमा थप भनिएको छ, “तपाईंको प्रयासले नासालाई विज्ञान, प्रविधि, एरोनटिक्स र अन्तरिक्ष अन्वेषणमा प्रगति गर्न सक्षम बनाएको छ । हामी सबै सुरक्षा समुदायको हिस्सा हौं र तपाईंको सहभागिता र विशेषज्ञता प्रशंसनीय छ ।”
त्यस्तै बगक्राउडको वेबसाइट हेर्दा नासा भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्रामको 'हल अफ फेम'मा फुयाँलको नाम (1337mickey) देख्न सकिन्छ । साइबर सुरक्षा अनुसन्धानको क्षेत्रमा फुयाँल '१३३७मिकी' नामले परिचित छन् ।
भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्रामबाट प्राप्त रिपोर्टहरूलाई नासाले पूर्ण रूपमा सम्बोधन नगरेको अवस्थामा आफूले पहिचान गरेको सुरक्षा कमजोरी सार्वजनिक गर्न नमिल्ने उनले बताए । साथै यसबापत पुरस्कार रकम आउने/नआउने भन्ने कुरा स्पष्ट नभइसकेको उनले उल्लेख गरे ।