close

फेसबुकमा बनेको साथीसँग ईसेवामा १००० सापटी माग्दा नगदै दिने भन्दै भेट्न आएर सामूहिक बलात्कार

टेकपाना टेकपाना

भदौ ४, २०८१ २०:१७

ग्रोक एआईबाट तयार पारिएको सांकेतिक तस्वीर ग्रोक एआईबाट तयार पारिएको सांकेतिक तस्वीर

काठमाडौं । झन्डै सात महिनाअघि फेसबुकबाट १७ वर्षीया रेश्मा राउत (नाम परिवर्तन) सँग कैलालीका २० वर्षीय पदम थापाको चिनजान भयो । चिनजानपछि उनीहरूबीच फोनमा नियमित कुरा भइरहन्थ्यो ।

गत ९ साउनमा किशोरीले पदमलाई फोनमा मेसेज पठाएर ईसेवामा एक हजार रुपैयाँ सापटी पठाइदिन अनुरोध गरिन् । पदम ‘म त्यहीँ आएर नगदै दिन्छु’ भन्दै किशोरीलाई उनी बस्ने ठाउँ बताउन लगाए ।

त्यतिबेला रातको १० बजेको थियो । पदमले नगदै दिने भनेपछि किशोरीले आफ्नो ठेगाना दिइन् । 

यता पदमले आफ्ना २३ वर्षीय दाइ हरि थापा र २२ वर्षीय सोम बिकलाई किशोरीले भेट्न बोलाएको कुरा सुनाए । उनले आफूसँग कुनै सवारी नभएकाले सोम बिकका साथी २३ वर्षीय केशव भण्डारीलाई बाइक मागिदिन अनुरोध गरे । त्यसपछि पदम थापा, सोम बिक, केशव भण्डारी र हरि थापा एउटा चोकमा जम्मा भए ।

चोकमा भेटिएपछि हरि थापाले अर्का साथी २४ वर्षीय बालकृष्ण जोशीलाई पनि बोलाए । उनीहरू पाँच जना भएर किशोरीले भनेको ठाउँतिर गए ।

किशोरीले भनेको ठाउँ आउन थालेपछि पदम थापाले बाटो सोध्न किशोरीलाई कल गर्न खोजे, तर उनको मोबाइलमा ब्यालेन्स नभएपछि दाइ हरि थापाको नम्बरबाट किशोरीलाई फोन गरे ।

यता पदम थापाका दाइ हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी धनगढी विमानस्थल जाने सडकमा पर्ने झलारी चोकमा रोकिए ।

पदम थापा र सोम बिक बाइकमा राति साढे ११ बजेतिर किशोरीले भनेको ठाउँमा पुगे । 

पदमले किशोरीलाई भेट्नुअघि नै सोम बिकले आफू त्यता नजाने भने । त्यसपछि पदम एक्लै किशोरी कुरिरहेको ठाउँमा गए । उनीहरू कुरा गर्दा रातको साढे १ बजिसकेको थियो ।

त्यही बेला पदमले किशोरीलाई शारीरिक सम्बन्धको प्रस्ताव राखे । किशोरीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिन् । तर, पदमले किशोरीको अनुमतिबिनै जबरजस्ती करणी गरे । 

त्यसको केही समयपछि उनीहरू फर्किन लागेका थिए । त्यही बेला पदमका अन्य साथीहरू हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी उनीहरूको बाटो ढुकेर बसिरहेका थिए । तीन जनामध्ये बालकृष्ण जोशीले किशोरीको हात समातेर आफूतिर ताने । र, जबरजस्ती करणी गरे ।

त्यसपछि उनका अन्य साथी हरि थापा र केशव भण्डारीले करणी गर्न खोज्दा किशोरी चर्को स्वरमा कराइन् ।

यसपछि पदम र सोम बिकले किशोरीलाई उनको कोठासम्म पुर्‍याइदिए । र, उनीहरू पाँचै युवक ओलानी चोकमा भेटी आ-आफ्नो घरतिर लागे । 

पीडित किशोरीका अनुसार उनीहरूले जबरजस्ती करणी गरेपछि धम्की दिएर मोबाइल पनि खोसेर लगेका थिए । पछि किशोरीले आफ्ना अभिभावकलाई सबै घटना सुनाएपछि उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिए । 

प्रहरीका अनुसार ती किशोरीको उमेर १७ वर्ष आठ महिना २५ दिन रहेको छ ।

आज ४ भदौमा पाँच जना युवकविरुद्ध कैलाली जिल्ला अदालतमा सामूहिक जबरजस्ती करणीसम्बन्धी अभियोगपत्र दर्ता भएको छ । हाल २० वर्षीय पदम थापा पक्राउ परिसकेका छन् भने बाँकी चार जना फरार छन् । 

अभियोगपत्रमा प्रतिवादी पदम थापा र केशव भण्डारीले मुलुकी अपराध संहीता, २०७४ को दफा २१९ को उपदफा (१), (२) र (७) बमोजिमको कसुर गरेको तथ्य पुष्टि भएको उल्लेख छ । उनीहरूलाई उक्त कसुरमा सोही संहिताको दफा २१९(३) (घ) बमोजिम सजाय हुनका साथै सोही संहिताको दफा २१९ (७) बमोजिम सामूहिक जबरजस्ती करणीतर्फ थप सजाय हुन माग गरिएको छ ।

त्यस्तै  प्रतिवादी बालकृष्ण जोशी र हरि थापाले सोही संहिताको दफा २१९ को उपदफा (१) र (२) बमोजिम सजाय हुने कसुरको दफा ३४ (१) र (२) बमोजिम जबरजस्ती करणी उद्योगको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूलाई उक्त कसुरमा सोही संहिताको दफा ३४(३) बमोजिम सजाय हुन माग गरिएको छ ।

त्यस्तै प्रतिवादी सोम बिकले अन्य प्रतिवादीहरुलाई जबरजस्ती करणीको कसुर गर्न सहयोग गरी सोही संहिताको दफा २१९ को उपदफा (१) र (२) बमोजिम सजाय हुने कसुरको मतियार भई सोही संहिताको दफा ३६ (१) र (२) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको अभियोगपत्रमा बताइएको छ । बिकलाई सोही संहिताको दफा ३६(३) (ख) बमोजिम सजाय गर्न माग गरिएको छ ।

त्यस्तै प्रतिवादी पदम थापा, केशव भण्डारी, हरी थापा, बालकृष्ण जोशी र सोम बिकबाट सोही संहिताको दफा २१९ (३क) (ख) बमोजिम जरिवाना गरी उक्त जरिवाना वापतको रकम पीडितलाई क्षतिपुर्ति वापत दिलाई भराई पाउन माग दाबी प्रस्तुत गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८१ १५:२३