close

ईभी रेन्ज: एनईडीसी, डब्लूएलटीपी वा सीएलटीसीमा झुक्किनु भयो ? थाहा पाइराख्नुहोस् सबै मापदण्ड

टेकपाना टेकपाना

भदौ १६, २०८१ १८:६

ईभी रेन्ज: एनईडीसी, डब्लूएलटीपी वा सीएलटीसीमा झुक्किनु भयो ? थाहा पाइराख्नुहोस् सबै मापदण्ड

काठमाडौं । विश्वभर अहिले विद्युतीय सवारीसाधन (ईभी) लोकप्रिय बन्दै गइरहेका छन् । वातावरणीय लाभ र ब्याट्री प्रविधिमा भएको प्रगतिका कारण आईसीई गाडीभन्दा विद्युतीय गाडी रोज्नेको सङ्ख्या बढ्दो छ ।

विद्युतको प्रचुर सम्भावना भएको नेपालमा पनि ईभी बहस व्यापक बन्दै छ । सवारी साधनको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा रहेको ‘नाडा अटो शो २०२४’ ईभीमय बनेको छ । ​आईसीई गाडीभन्दा ईभीमा बैंक तथा वित्तीय संस्थाले बढी र सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका छन् । यसबाट पनि सर्वसाधारण ईभी खरिद गर्न प्रेरित भएका छन् ।

ईभी किन्नुअघि त्यसको रेन्ज अर्थात् एक पटकको चार्जमा कति टाढा यात्रा गर्न सकिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ । खासमा विद्युतीय गाडीको रेन्ज बुझ्न कठिन छ । यसलाई विभिन्न क्षेत्रहरूमा फरक-फरक मापदण्ड जस्तै; ईपीए (ईपीए), डब्लूएलटीपी (WLTP), एनईडीसी (NEDC), सीएलटीसी (CLTC) आदिले मापन गरिन्छ ।

यी प्रत्येक मापदण्डले गाडीको रेन्ज मापन गर्न फरक विधि अपनाउँछन् । आज हामी विभिन्न रेन्ज मापदण्डको अर्थ, तिनको भिन्नता र यी कसरी एक-अर्कासँग फरक छन् भन्ने चर्चा गर्छौं:

इन्भाइरोमेन्टल प्रोक्टेसन एजेन्सी (ईपीए)

ईपीए अर्थात् 'Environmental Protection Agency' रेन्ज स्ट्यान्डर्ड संयुक्त राज्य अमेरिकामा प्रयोग गरिन्छ । यो रेन्ज इन्धनयुक्त गाडी, हाइब्रिड, प्लगइन हाइब्रिड र विद्युतीय गाडीमा लागू हुन्छ । यस मापदण्डलाई सबैभन्दा कडा र वास्तविक मानिन्छ । यसले यथार्थपरक ड्राइभिङ अवस्थाको अधिकतम प्रतिनिधित्व गर्ने बताइएको छ । 

परीक्षण प्रक्रिया 

ईपीए रेन्ज मापन सहर र राजमार्ग दुवै अवस्थामा ड्राइभिङ टेस्ट गरिन्छ । यसमा ऊर्जा खपतमा प्रभाव पार्ने विषय जस्तै एसीलाई ध्यानमा राखिन्छ ।

ड्राइभिङ साइकल

यसमा दुई ओटा ड्राइभिङ साइकल प्रयोग गरिन्छ । अर्बान डाइनामोमिटर ड्राइभिङ सेडुअल (Urban Dynamometer Driving Schedule -UDDS) र हाइवे फ्युल इकोनोमी टेस्ट (Highway Fuel Economy Test (HWFET) ड्राइभिङ साइकलबाट विभिन्न नतिजा प्राप्त हुन्छन् । यी परीक्षणहरूबाट प्राप्त नतिजाहरूलाई मिलाएर, सामान्य ड्राइभिङ अवस्थाको प्रतिनिधित्व गर्ने रेन्ज निकालिन्छ । त्यसबाहेक गाडीलाई फुल चार्ज गरेर रातभर पार्किङमा छोडी रेन्ज परीक्षण गरिएको हुन्छ । 

वास्तविकता

ईपीए रेन्ज अन्य मापदण्डको तुलनामा कम देखिन्छ । किनकि यसमा सिद्धान्तभन्दा पनि वास्तविक पक्षलाई आधार बनाइन्छ । व्यक्तिले ईभी प्रयोग गर्दा कसरी कसरी ब्याट्रीको ऊर्जा खपत गर्न सक्छ सबैलाई आधार बनाएर वास्तविक रेन्ज निकालिन्छ । 

वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसेड्युअर (डब्लूएलटीपी)

डब्लूएलटीपी अर्थात् 'Worldwide Harmonized Light Vehicles Test Procedure' युरोप र विश्वका अन्य धेरै भागहरूमा प्रयोग गरिने रेन्जको मापदण्ड हो । एनईडीसी मापदण्डलाई प्रतिस्थापन गरेर यो रेन्जको अवधारणा ल्याइएको हो । यो रेन्ज आधुनिक परिस्थिति तथा समग्र दृष्टिकोणलाई आधार बनाएर मापन गरिन्छ । ईभीले एक पटकको चार्जमा पार गर्ने अधिकतम दूरी नै डब्लूएलटीपी रेन्ज हो । 

परीक्षण प्रक्रिया

डब्लूएलटीपी परीक्षणलाई एनईडीसी भन्दा धेरै यथार्थपरक मानिन्छ । यसमा विभिन्न ड्राइभिङ चरण (कम, मध्यम, उच्च, र अतिरिक्त-उच्च गति) समावेश छन् । यो रेन्ज विशेषगरी सहर, उपनगर र राजमार्ग जस्ता विभिन्न ड्राइभिङ अवस्थामा परीक्षण गरिन्छ ।

यसमा (रेन्ज‍= प्रयोग गर्न मिल्ने ब्याट्री ऊर्जा/ब्याट्रीबाट खपत भएको ऊर्जा) सूत्र प्रयोग गरिन्छ । प्रयोग गर्न मिल्ने ब्याट्री ऊर्जा भन्नाले ब्याट्रीमा भएको ऊर्जा हो । ब्याट्रीबाट खपत भएको ब्याट्री भन्नाले विभिन्न स्पिडमा गाडी कुदाउँदा खपत हुने ब्याट्री हो ।

उदाहरणका लागि मानौं, एउटा गाडीमा ७७ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । त्यसले १०० किलोमिटर दूरी पार गर्दा १६.९ किलोवाट आवर पावर खपत गर्‍यो । अब ७७ किलोवाट आवरलाई १६.९ किलोवाट वारमा भाग गरेर १०० किलोमिटरले भाग गउर्दा त्यसको रेन्ज ४५६ किलोमिटर आउँछ । यो भनेको औसत रेन्ज हो । यदि सहरमा यसैलाई हिसाब गर्ने हो भने ७०१ किलोमिटर आउँछ । 

 न्यु युरोपियन ड्राइभिङ साइकल (एनईडीसी)

एनईडीसी अर्थात् 'New European Driving Cycle' युरोपमा प्रयोग गरिने पुरानो मापदण्ड हो, जुन डब्लूएलटीपीले प्रतिस्थापन गरिसकेको छ । यद्यपि केही निर्माताहरूले अझै एनईडीसी रेन्जका आँकडा प्रदान गर्छन् । विशेषगरी डब्लूएलटीपी अझै पूर्ण रूपमा लागू नभएकाले एनईडीसीलाई नै मान्यता दिने गरेको पाइन्छ ।

परीक्षण प्रक्रिया

एनईडीसी टेस्टिङ सन् १९८० को दशकमा डिजाइन गरिएको हो । यसमा सहरी र अतिरिक्त-सहरी ड्राइभिङ गरी दुई भागहरू समावेश छन् । सहरी भागले सहरको ड्राइभिङलाई प्रतिनिधित्व गर्छ भने अतिरिक्त-सहरी भागले राजमार्ग ड्राइभिङलाई प्रतिनिधित्व गर्छ ।

ड्राइभिङ साइकलहरू

यो परीक्षण २० मिनेटसम्म चल्छ । यो परीक्षण ल्याबमा अधिकतम १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडीलाई ११ किलोमिटरसम्म कुदाइन्छ । यसैबाट प्राप्त तथ्याङ्कलाई आधार बनाएर एनईडीसी रेन्ज निकालिन्छ । यो रेन्ज यथार्थपरक नभई बढी सैद्धान्तिक मानिन्छ । एनईडीसी रेन्ज परीक्षण गर्न लाग्ने समय छोटो, ल्याबमा आधारित परीक्षण, सहरी क्षेत्रमा बढी केन्द्रित हुने भएकाले वास्तविकभन्दा सैद्धान्तिक हिसाब निस्किन्छ । जसले गर्दा अन्य रेन्जभन्दा यो बढी नै देखिन्छ । 

चाइना लाइट ड्युटी भेहिकल टेस्ट (सीएलटीसी) 

सीएलटीसी अर्थात् 'China Light-Duty Vehicle Test' चीनमा प्रयोग गरिने रेन्जको मापदण्ड हो । यो पुरानो चिनियाँ मापदण्डहरूको तुलनामा बढी भरपर्दो मानिन्छ । सवारी साधनको प्रदर्शनको अधिक वास्तविक मूल्याङ्कन प्रदान गर्न यो स्ट्यान्डर्डको रेन्ज सुरु भएको हो । विशेषगरी फास्ट चार्जरले ईभी चार्ज गरिसकेपछि त्यसले एक पटकमा कति रेन्ज दिन्छ, त्यसैका आधारमा सीएलटीसी रेन्ज निकालिन्छ । 

परीक्षण प्रक्रिया

सीएलटीसीको अवधारणा डब्लूएलटीपी जस्तै हो । तर, यो विशेष रूपमा चीनमा पाइने ड्राइभिङ अवस्थाहरूका लागि डिजाइन गरिएको छ । यसमा सहरी, उपनगर र राजमार्ग ड्राइभिङको मिश्रण समावेश छ ।

ड्राइभिङ साइकल

यसको परीक्षण साइकल ३० मिनेटसम्म चल्छ र त्यस दौरानमा यसले १४.५ किलोमिटर दूरी कभर गर्छ । परीक्षणमा चिनियाँ ड्राइभरले गाडी चलाउने प्याटर्न प्रयोग गरिन्छ । विस्तारै, मध्यम र तीब्र गतिमा गाडी चलाएर यसको परीक्षण गर्ने गरिन्छ । 

वास्तविकता

सीएलटीसी चिनियाँ ड्राइभिङ अवस्थाको अधिक प्रतिनिधित्व गर्न डिजाइन गरिएको रेन्ज स्टान्डर्ड हो । यसले चिनियाँ उपभोक्ताले ‘रियल लाइफ’मा अपेक्षा गर्न सक्ने रेन्ज नजिकको आँकडा प्रदान गर्न सक्ने बताइएको छ । 

जेसी०८

जापानमा जेसी०८ परीक्षण साइकल परम्परागत रूपमा प्रयोग गरिन्छ । तर, यसलाई क्रमशः डब्लुएलटीसीले प्रतिस्थापन गरिरहेको छ । 

परीक्षण प्रक्रिया

जेसी०८ साइकलले सहर र उपनगरको ड्राइभिङलाई प्रतिनिधित्व गरेको हुन्छ । विशेषगरी जापानी सहरी वातावरणमा पाइने रोकावट र सुरुवातको ट्राफिकलाई ध्यानमा राख्दै यस्तो परीक्षण गरिएको हुन्छ ।

ड्राइभिङ साइकल

जेसी०८ परीक्षण २० मिनेटसम्म चल्छ । सो समयमा अधिकतम ८१ किलोमिटर प्रतिघण्टाको स्पिडमा गाडी ८.२ किलोमिटर दूरी पार गर्छ । 

अन्य परीक्षण मापदण्ड

माथि उल्लेख गरिएका रेन्जका मापदण्ड अधिक प्रयोग हुने रेन्ज हुन् । नेपालमा पनि प्रायः यी रेन्ज उल्लेख भएका गाडीहरू आउँछन् । यी बाहेक विभिन्न देशमा त्यहाँको भौगोलिक र अन्य अवस्थालाई आधार बनाइ छुट्टै स्ट्यान्डर्डको रेन्ज तयार पारिएको हुन्छ । अन्य परीक्षण प्रक्रियाका छुट्टै आफ्नै पद्धति छन् । 

आर्टिमिस (ARTEMIS)

यो युरोपमा विशेष प्रकारका सवारीसाधनहरूका लागि प्रयोग गरिन्छ । यो वास्तविक दुनियाँका ड्राइभिङ ढाँचाहरूमा केन्द्रित हुन्छ । 

एफटीपी-७५ (Federal Test Procedure 75)

यो परीक्षण संयुक्त राज्य अमेरिकामा ईपीए परीक्षणको हिस्सा हो । यो सहरी र राजमार्ग दुवैको ड्राइभिङमा केन्द्रित हुन्छ ।

रेन्ज मापदण्डहरूको प्रमुख भिन्नता

ईपीए मापदण्डलाई सामान्यतया सबैभन्दा वास्तविक मानिन्छ । यसलाई डब्लूएलटीपीले नजिकबाट पछ्याएको छ । अर्थात ईपीएपछि डब्लूएलटीपीलाई बढी भरपर्दो रेन्ज मानिन्छ । एनईडीसीलाई भने कम वास्तविक मानिन्छ किनकि यसको पुरानो परीक्षण प्रक्रियाले वास्तविक दुनियाँको अवस्थालाई ध्यान दिएको हुँदैन । ‍

प्रत्येक मापदण्डले फरक ड्राइभिङ साइकल जस्तै गति र अवस्था प्रयोग गर्छन् ।  जसले रेञ्ज आँकडामा उल्लेखनीय भिन्नता ल्याउन सक्छ । केही मापदण्ड जस्तै सीएलटीसी र जेसी०८ तिनका सम्बन्धित देशहरूको विशेष ड्राइभिङ्ग अवस्थाहरूलाई ध्यानमा राखेर तयार गरिएको हुन्छ । त्यही स्ट्यान्डर्डलाई विश्वभर लागू गर्न कठिन हुन सक्छ । 

नेपालको सन्दर्भमा भने हामीले डब्लूएलटीपीलाई आधार बनाएर गाडी खरिद गर्ने वा नगर्ने भन्ने निष्कर्ष निकाल्न सक्छौं ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८१ १९:११