काठमाडौं । मानव शरीरलाई स्वस्थ राख्न छ देखि आठ घण्टाको निद्रा राम्रो मानिन्छ । निन्द्रा पुगेन भने दैनिक कामकाजमा प्रत्यक्ष असर पर्छ । तर जापानका एक व्यक्ति १२ वर्षदेखि दैनिक ३० मिनेट मात्र सुत्ने गरेका छन् ।
पश्चिमी जापानको ह्योगो प्रान्तमा बस्ने ४० वर्षीय दाइसुके होरीले आफ्नो जीवनलाई दुई गुणा बनाउन यसो गरिरहेका हुन् ।
साउथ चाइना मर्निङ पोष्ट (एससीएमपी)का अनुसार यसो गर्दा होरीमा कुनै समस्या आएको छैन । कम सुते पनि उनी अरु जस्तै सामान्य रूपमा काम गर्न सकिरहेका छन् । यसका लागि आफ्नो शरीर र मष्तिस्कलाई तालिम दिएको उनको भनाइ छ ।
संगीत, चित्रकला र यान्त्रिक डिजाइनमा रुचि राख्ने होरी एक उद्यमी पनि हुन् । उनले लामोभन्दा पनि गुणस्तरीय निद्रा महत्त्वपूर्ण भएको बताएका छन् । आफ्नो काममा निरन्तर ध्यान केन्द्रित गर्न लामोभन्दा गुणस्तरीय निद्राले फाइदा दिने उनको भनाइ छ ।
डाक्टर र अग्निनियन्त्रकहरूले आराम कम गरेता पनि काम गुणस्तरीय गर्ने गरेको उनले उदाहरण दिएका छन् । होरीले ‘जापान शर्ट स्लिपर्स ट्रेनिङ एसोसिएसन’ नामक कम्पनी पनि खोलेका छन् । यस कम्पनीको काम नै अरू व्यक्तिहरूलाई कम सुत्न तालिम दिनु हो, जहाँ उनले निद्रा व्यवस्थापन र स्वास्थ्य सम्बन्धी पाठ्यक्रमहरू प्रदान गर्छन् ।
सन् २०१६ स्थापना भएको यो कम्पनीले अहिलेसम्म २१०० बढीलाई अल्ट्रा-सर्ट स्लीपर बन्न सिकाइसकेको एससीएमपीले लेखेको छ ।
होरीको दाबी जापानको योमिउरी टिभीले ‘विल यू गो विथ मी ?’ नामको रियालिटी शोमा पनि देखाएको थियो । यस शोका लागि होरीलाई तीन दिनसम्म निगरानी गरिएको थियो । त्यस समयमा पनि होरीले अन्य दिन जस्तै करिब ३० मिनेट सुतेर दैनिक काम गरेका थिए ।
उनको यस्तो खालको रोचक दैनिकी सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । कतिपयले उनलाई समयको व्यवस्थापन गर्ने कुशल व्यक्ति भनेर प्रशंसा गरिरहेका छन् भने कतिपयले उनको यस क्षमताप्रति रुचि लागेको बताइरहेका छन् ।
होरिको अनलाइन प्रोफाइल अनुसार उनले २१०० भन्दा बढी मानिसलाई अल्ट्रा-शर्ट स्लिपका लागि दिइसकेका छन् । उनले आफ्ना एक विद्यार्थीले आठ घण्टाको निद्रा ९० मिनेटमा झार्न सफल भएको दाबी समेत गरेका छन् ।
वैज्ञानिक दृष्टिकोणले हेर्दा होरीको यो अनौठो प्रयोगले स्वस्थ जीवनशैलीमा कस्तो प्रभाव पार्छ भन्ने अझै पूर्णतया प्रस्ट भएको छैन ।
एसियामा यस्तै जीवनशैलीका अन्य घटनाहरू पनि देखिएका छन् । उदाहरणका लागि, भारतीय योगी प्रह्लाद जानीले सन् १९४० देखि बिना खाना र पानी बाँचिरहेको दाबी गरेका थिए । सन् २०२० मा उनको ९० वर्षको उमेरमा निधन भएको थियो ।
यता, चिकित्सकहरूले भने अत्यधिक निद्रा घटाउने अभ्यास सबैका लागि उपयुक्त नभएको र यसले नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् । “प्रौढहरूलाई प्रत्येक रात सामान्यतया सातदेखि नौ घण्टाको निद्रा आवश्यक हुन्छ । निद्रा शरीर र मस्तिष्कलाई पुन: ऊर्जा र नयाँ शक्ति दिने महत्वपूर्ण समय हो,” हुवाझोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको शेनझेन अस्पतालका न्युरोलोजिस्ट गुओ फेईले एससीएमपीलाई भने ।
निद्राको कमीले स्मरणशक्तिमा समस्या, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, मनोवृत्तिमा अस्थिरता तथा मुटुसम्बन्धी समस्याहरूको उच्च जोखिम निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन् ।