close

इन्टरनेट र युवाहरू विषयक छलफल कार्यक्रम सम्पन्न

टेकपाना टेकपाना

भदौ ३१, २०८१ १८:१

इन्टरनेट र युवाहरू विषयक छलफल कार्यक्रम सम्पन्न

 

काठमाडौं ।  इन्टरनेट सोसाइटी नेपाल च्याप्टरको आयोजनामा तेस्रो यूथ इन्टरनेट गभर्नेन्स फोरम (वाईआईजीएफ) २०२४ सम्पन्न भएको छ ।  राष्ट्रिय युवा परिषद्को सहकार्य रहेको उक्त कार्यक्रम ‘खुला, समावेशी र सुरक्षित इन्टरनेटका लागि युवाहरूलाई सशक्त बनाऔं’ भन्ने नाराका साथ सम्पन्न भएको हो । 

विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इन्टरनेट गभर्नेन्सका सरोकारवाला निकाय एवं संस्थाहरूको सहकार्य र समन्वयमा सम्पन्न गरिएको यस कार्यक्रममा इन्टरनेट सुशासनका मुद्‍दाहरूमा युवाहरूको भूमिका तथा अन्य सम्बन्धित विषयहरूमा छलफल र विचारविमर्श गरिएको  थियो । 

त्यस्तै कार्यक्रम डिजिटल विभाजन, विश्वव्यापी पहुँच, एआई गभर्नेन्स, अनलाइन अभिव्यक्ति स्वतन्त्रता जस्ता इन्टरनेट गभर्नेन्सका ममत्वपूर्ण र समसामयिक मुद्‍दाहरूमा युवाहरूको भूमिका  कसरी सबल र सहभागीतामूलक बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । 

कार्यक्रमलाई थप समावेशी र प्रभावकारी बनाउन काठमाडौँ बाहिरका सहभागीहरूलाई यातायात खर्च तथा होटेल बास सहितको फेलोसिपको व्यवस्था समेत गरिएको थियो । उक्त फेलोशिपमा सहभागीहरूले कार्यक्रममा आफूले सिकेको कुरालाई समुदायमा पुर्‍याउन ममत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास जनाएको छ ।

यूथ आईजीएफ नेपालका अध्यक्ष आनन्द गौतमले इन्टरनेट हाम्रो जीवनको दैनिकी भइसकेकाले यस डिजिटल युगमा इन्टरनेट गभर्नेन्स र सम्बन्धित विषयहरू जीवन पर्यन्त सिकाइको रूपमा रहने बताए । उनले आगामी दिनमा पनि सूचना प्रविधि तथा इन्टरनेटले सृजना गर्ने अवसर र चुनौती सम्बोधनमा युवाहरूको पहुँच र सहभागीता  सुनिश्चित गर्न तथा इन्टरनेट गभर्नेन्सका नीति निर्माण तहमा युवाहरूको पहुँच तथा क्षमता विकास गर्न आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८१ १८:१