काठमाडौं । तपाईं हामीले प्रयोग गर्ने विन्डोज वा म्याक देख्दा आधुनिक लाग्छ । त्यसमा हुने ग्राफिक्स र आइकनका कारण यो प्रणाली प्रयोग गर्न निकै सहज हुन्छ । तर, भित्रभित्रै यसले दशकौं पुरानो प्रविधि ‘कमान्ड लाइन’ मार्फत काम गरेको हुन्छ । त्यो कमान्ड लाइन टेक्स्टमा आधारित इन्टरफेस हो ।
कमान्ड लाइनलाई अपरेटिङ सिस्टमको जग नै मानिन्छ । कम्प्युटर अहिलेको जस्तो आधुनिक नहुँदा जे काम पनि कमान्ड मार्फत नै गर्नुपर्ने हुन्थ्यो । अर्थात् त्यतिबेला अहिले आइकनमा क्लिक गर्दा सोझै फाइल वा प्रोग्राम खोलेको जस्तो सजिलो थिएन । सामान्य भाषामा भन्दा फलानो फाइल खोल भनेर कमान्ड (निर्देशन) दिएको अवस्थामा मात्र उक्त फाइल खुल्थ्यो ।
तपाईं पुरानो पुस्ताको हुनुहुन्छ भने तपाईंले कुनै एप वा सफ्टवेयर खोल्दा आइकनमा क्लिक गर्ने भन्दा पनि कमान्ड नै टाइप गरेर प्रोग्राम खोलेको याद होला । अहिले आधुनिक युगमा कम्प्युटर प्रयोग गर्न सहज भएको छ । तर, पनि कमान्ड टाइप गरेरै प्रोग्राम खोल्ने विधि अहिले पनि उत्तिकै प्रयोग हुन्छ ।
सुरुवाति दिनमा विन्डोजमा एमएस-डीओएसमा कमान्ड टाइप गरिन्थ्यो । पछि माइक्रोसफ्टले एमएस-डीओएसभन्दा स्तरीय फिचरसहितको पावरशेल (PowerShell) ल्याएको छ । नयाँ संस्करणको विन्डोजका लागि भने माइक्रोसफ्टले विन्डोज टर्मिनल नामक टुल ल्याएको छ । हुन त अहिले पनि स्टार्ट मेनुबाट पुरानै कमान्ड प्रम्प्ट पनि प्रयोग गर्न सकिन्छ । तर, आधुनिक विन्डोज टर्मिनल आइसकेपछि त्यही प्रयोग गर्दा बेस ।
टर्मिनल खोल्न तलको प्रक्रिया अपनाउनु होस्ः
सबैभन्दा पहिले स्टार्ट बारमा रहेको सर्चको आइकनमा गई ‘टर्मिनल’(Terminal) सर्च गर्नुहोस् ।
त्यसपछि राइट क्लिक गरेर ‘Run as administrator’ मा जानुहोस् ।
यति गरेपछि तपाईंको विन्डोजमा टर्मिनल खुल्छ । तपाईंले प्रयोग गर्न सक्ने कमान्ड तल उल्लेख गरिएको छ । कमान्ड टाइप गरिसकेपछि इन्टर कि थिच्नुहोस् ।
१) आफूले चाहेको समयमा कम्प्युटर शट डाउन गर्न
shutdown/s/t600
कम्प्युटर अफ गर्ने काम त्यति जटिल होइन । तर, टर्मिनलले तपाईंलाई थप केही सुविधाहरू पनि दिन्छ । जस्तो कि तपाईंले कम्प्युटर २० मिनेटपछि आफै शट डाउन गराउन खोज्नुभयो भने shutdown/s/t600 कोड टाइप गर्न सक्नुहुन्छ । यहाँ ‘t’ ले समयलाई सेकेन्डका रूपमा देखाएको हुन्छ ।
६०० सेकेन्ड भन्नाले २० मिनेट हुन्छ । अर्थात् यो कमान्ड राख्नुभयो भने तपाईंको कम्प्युटर २० मिनेटपछि शट डाउन हुन्छ । त्यस्तै कम्प्युटर रिस्टार्ट गर्न चाहनुभयो भने shutdown-r-o कमान्ड टाइप गर्न सक्नुहुन्छ । ‘r’ ले कम्प्युटर रिस्टार्ट गर्ने भन्ने जनाउँछ ।
२) फोल्डरको भिजुअलाइजेसन हेर्न
tree
तपाईंले tree टाइप गरेर इन्टर थिच्नुभयो भने कम्प्युटरमा भएका फोल्डर र सबफोल्डरको भिजुअल देख्न सक्नुहुन्छ । अर्थात् कुन फोल्डर कहाँ कसरी रहेका छन् भन्ने देख्न सकिन्छ । त्यसबाहेक तपाईंले ड्राइभ र फोल्डरको लोकेसन (c:\Programs\) टाइप गरेर विशेष क्षेत्रका फोल्डर खोज्न सक्नुहुन्छ ।
३) नेटवर्क सम्बन्धी समस्या समाधान गर्न
ipconfig /flushdns
ipconfig कमान्ड खासगरी नेटवर्कको समस्या समाधान गर्न प्रयोग गरिने कमान्ड हो । तपाईंले टर्मिनलमा ipconfig कोड राख्नुभयो भने राउटरको आईपी एड्रेस थाहा पाउन सक्नुहुन्छ । यदि तपाईंले ipconfig/flushdns कोड राख्नुभयो भने तपाईंको तपाईंको कम्प्युटर र तपाईंले भिजिट गरेको वेबसाइटबिचको कनेक्सन रिसेट हुन्छ । कुनै वेबसाइट नचेलको खन्डमा यो प्रम्प्ट प्रयोग गर्न सक्नुहुन्छ ।
त्यस्तै ipconfig /release टाइप गरी ipconfig /renew कमान्ड टाइप गर्नुभयो भने तपाईं आफ्नो कम्प्युटरको नयाँ आईपी एड्रेस पाउन सक्नुहुन्छ । यसले पनि विन्डोज डिभाइस र राउटरबिचको कनेक्सनमा आएको समस्या समाधान गर्न सहयोग गर्छ ।
४) आफ्नो सिस्टमको बारेमा थप जानकारी पाउन
Systeminfo
Systeminfo कमान्डले तपाईंको सिस्टमबारे थाहा भएका सबै जानकारी दिन्छ । तपाईंले सेटिङमा गएर सिस्टमबारे जति जानकारी पाउनुहुन्छ, यसबाट त्यहाँको भन्दा कैयौं गुणा बढी जानकारी पाउन सक्नुहुन्छ । विन्डोज भर्सनको जानकारी, सीपीयू मोडेल, र्याम र स्टोरेजको जानकारी, सक्रिय नेटवर्क कनेक्सनको जानकारी र अन्तिम पटक तपाईंको पीसी बुट हुन कति समय लागेको थियो भन्ने जानकारी पनि यसबाट पाउन सकिन्छ ।
५) विन्डोज ११ को ड्राइभमा भएको इरर जाँच्ने
Chkdsk
Chkdsk कमान्ड आईटी प्राविधिकलाई सबैभन्दा मन पर्ने कोड हो । यसले कम्प्युटरमा आएका विभिन्न समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा गाइड गर्छ । त्यस्तै सिस्टमको डिस्कमा हुने समस्या र त्यसलाई समाधान गर्न पनि यो कोडले सघाउँछ । तपाईंलाई फाइल वा फोल्डरमा पहुँच पाउन समस्या भयो भने chkdsk जाँच गर्न सक्नुहुन्छ ।
यो कोड इरर पत्ता लगाउन मात्र प्रयोग गरिंदैन । तपाईंले टर्मिनलमा chkdsk टाइप गरी स्पेस दिएर /r टाइप गर्नुभयो भने यसले तपाईंको कम्प्युटरमा भएका समस्या समाधान गर्ने काम गर्छ । त्यस्तै यसका अन्य फिचर प्रयोग गर्न chkdsk/? कमान्ड टाइप गर्न सक्नुहुन्छ ।
६) रन भइरहेका टास्क हेर्न
tasklist
Tasklist कमान्डले टास्क मेनेजरको काम गर्छ । यो कमान्ड टाइप गरिसकेपछि कुन कुन एप्लिकेसनले कम्प्युटरलाई बढी भार दिइरहेका छन् भन्ने थाहा पाउन सक्नुहुन्छ ।
७) कम्प्युटरको ऊर्जा अवस्था विश्लेषण गर्न
powercfg /a
powercfg /a कमान्डले तपाईंको कम्प्युटरले कुन पावर सेभिङ मोड प्रयोग गर्न सक्छ भन्ने कुराको जानकारी दिन्छ । यसबाट कम्प्युटरले स्ट्यान्डबाई, हाइबरनेट वा फास्ट स्टार्टअपमध्ये कुन सपोर्ट गर्छ भन्ने थाहा हुन्छ । त्यस्तै तपाईंले powercfg /batteryreport कमान्ड टाइप गर्नुभयो भने ब्याट्रीको बारेमा विस्तृतमा जानकारी पाउन सक्नुहुन्छ । त्यसैगरी powercfg /devicequery s1_supported कमान्ड टाइप गरेर तपाईंको सिस्टममा कनेक्ट भएका सबै डिभाइसको सूची देख्न सक्नुहुन्छ ।
८) कम्प्युटरको स्वास्थ्य अवस्था जाँच गर्न
sfc /scannow
अन्य कमान्ड लाइन जस्तै sfc /scannow पनि एउटा महत्त्वपूर्ण कमान्ड लाइन हो । खासगरी तपाईंले कम्प्युटरमा देखिएका कुनै समस्या समाधान गर्न यो कोड प्रयोग गर्न सक्नुहुन्छ । यस कोडले अपरेटिङ सिस्टममा भएका समस्या जाँच गर्छ र आवश्यक भएको ठाउँमा मर्मतको काम गर्छ । यदि तपाईंले कम्प्युटरमा कुनै कमजोरी फेला पार्नुभयो भने यो कोड प्रयोग गर्न सक्नुहुन्छ ।
९) नेटवर्कको बारेमा विस्तृत जानकारी पाउन
netstat
Netstat सामान्य तर धेरै आवश्यक हुने कमान्ड लाइन हो । यसको सहायताले आफ्नो कम्प्युटरमा कुन कुन डिभाइस कनेक्ट भएका थिए भन्ने थाहा पाउन सक्नुहुन्छ । तपाईंले विभिन्न समयमा धेरै किसिमका डिभाइस कनेक्ट गर्नु भएको हुन सक्छ । यदि धेरै देखाउन थाल्यो भने clrl+c टाइप गरी त्यसलाई रोक्न सक्नुहुन्छ ।
त्यस्तै तपाईंले netstat-b कमान्ड प्रयोग गरेर कुन एपले वेबसँग सञ्चार गरिरहेको छ भन्ने थाहा पाउन सक्नुहुन्छ । यसबाट तपाईं अनलाइन हुँदा कुन एप बढी सक्रिय हुन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।