काठमाडौँ । बत्ती नगएको अवस्थामा पनि बत्ती गएको भन्दै नेपाल विद्युत प्राधिकरणमा ‘फेक कल’ (झुटा गुनासो) आउने गरेको ऊर्जामन्त्री दीपक खड्काले बताएका छन् ।
आइतबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको स्थलगत अनुगमनका क्रममा उनले देशभरको विद्युत खपत र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका थिए । त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्राधिकरणका कर्मचारीहरूले फेक कलको समस्या भोगिरहेको जानकारी गराए ।
ऊर्जामन्त्री खड्काले भने, “कहिले काहीँ ‘मकहाँ बत्ती गयो’, ‘हाम्रो क्षेत्रको बत्ती गयो’ भनेर फोन आउँछ । तर कर्मचारीहरूले त्यो गुनासो आएको स्थानमा जाँच गर्दा बत्ती गएकै नपाइने गरेको छ ।”
उनले बत्ती नगई पनि गयो भनेर अफवाह फैलाउने कार्य नगर्न सबैलाई आग्रह गरे । “कुनै कारणले र्युमर फैलाइरहनुभएको छ भने त्यस्तो कार्य नगर्नुहोस् । यस्ता नम्बरहरू टिपेर प्रहरीलाई दिन पनि भनेका छौँ,” मन्त्री खड्काले चेतावनी दिए । उनका अनुसार सरकारले अफवाह र आतंक फैलाउनेलाई कारबाही गर्नेछ ।
मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू २४ घण्टा तीन सिफ्टमा काम गरेर सेवा दिइरहेका बताए ।
उनले नेपालमा विद्युत उत्पादनमा समस्या नभएको उल्लेख गर्दै आवश्यकताभन्दा बढी विद्युत भारतमा निर्यात भइरहेकाले आपूर्ति सहज रहेको उल्लेख गरे । “प्राकृतिक विपत्तिबाहेक हाल आपूर्तिमा समस्या छैन,” उनले भने, “तर सुरक्षित र भरपर्दो विद्युत आपूर्तिका लागि थप अध्ययन र व्यवस्थापन आवश्यक छ ।”