काठमाडौँ । भारतीय बाथरुम फिटिङ निर्माता कम्पनी हिन्डवेयर (Hindware) को नामलाई विज्ञापन किवर्डको रूपमा प्रतिस्पर्धीहरूलाई प्रयोग गर्न दिएर ट्रेडमार्क उल्लङ्घन गरेको भन्दै दिल्ली उच्च अदालतले गुगलविरुद्ध महत्त्वपूर्ण फैसला सुनाएको छ । २२ मे, २०२६ मा न्यायाधीश मिनी पुष्करणले जारी गरिएको १६३ पृष्ठ लामो फैसलामा गुगललाई ३० लाख भारतीय रुपैयाँ नाममात्रको क्षतिपूर्ति तिर्न आदेश दिइएको छ ।
यद्यपि यस फैसलाले भारतको अनलाइन विज्ञापन बजारलाई भने नयाँ आकार दिन सक्ने ठानिएको छ । आफू सर्च प्लेटफर्ममा विज्ञापन देखाउने एक 'निष्क्रिय मध्यस्थकर्ता' (passive intermediary) मात्र भएको गुगलको तर्कलाई अदालतले अस्वीकार गरेको छ । फैसलामा भनिएको छ, "गुगलले आफ्नो एडवर्ड्स (AdWords) नीति सञ्चालन गर्ने तरिकाबाट गुगलले ट्रेडमार्क धनीको कुनै अनुमति बिना व्यापारिक लाभका लागि ट्रेडमार्कलाई किवर्डको रूपमा बेचेको वा लिलाम गरेको छ ।"
यस कार्यले ट्रेडमार्क ऐनको दफा २८ अन्तर्गत आफ्नो ट्रेडमार्कको विशेष प्रयोग गर्ने हिन्डवेयरको अधिकार उल्लङ्घन गरेको न्यायाधीशको ठहर छ ।
शुक्रबारको यो फैसलालाई लिएर भारतीय उद्यमीहरू र ब्रान्ड म्यानेजरहरूले सामाजिक सञ्जालमा ठुलो सजनाएका छन् । उनीहरूका अनुसार प्रतिस्पर्धीहरूले लामो समयदेखि गुगलको विज्ञापन प्रणाली प्रयोग गरेर स्थापित ब्रान्डको ट्राफिक अन्यत्र मोड्ने र कम्पनीहरूलाई आफ्नै नाम जोगाउन पैसा खर्च गर्न बाध्य पार्दै आएको थियो ।
भारतीय ब्रोकरेज फर्म जिरोधाका संस्थापक नितिन कामतले आफ्नो ब्रान्डले एक दशकभन्दा बढी समयदेखि यस्तै समस्या भोगेको र यो फैसलाले कानुनी उपचारको बाटो खोलेको बताए । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "जब कसैले Zerodha खोज्छ भने ट्राफिक जिरोधामा नै आउनुपर्छ । तर अक्सर के हुन्छ भने गुगल सर्चमा सुरुका केही नतिजाहरू विज्ञापनका हुन्छन्, जसले ग्राहकलाई प्रतिस्पर्धीको वेबसाइटमा पुर्याउँछ ।"
त्यस्तै जोहोका संस्थापक श्रीधर भेम्बुले पनि कामतको भनाइमा सहमति जनाउँदै अदालतको यस निर्णयलाई सार्वजनिक रूपमा समर्थन गरेका छन् । त्यसैगरी भारतीय म्याचमेकिङ कम्पनी शादी डट कमका संस्थापक अनुपम मित्तलले भनेका छन्, "तपाईँ ब्रान्ड बनाउनुहुन्छ । अर्कैले त्यसमा बोलकबोल गर्छ । गुगलले शुल्क लिन्छ ।"
उनले यो फैसलाले लाखौँ व्यवसायको अनलाइन विज्ञापनको अर्थशास्त्र नै परिवर्तन गर्न सक्ने बताए । यस विषयमा गुगलले आफ्नो एड्स (Ads) नीतिले प्रतिस्पर्धी विज्ञापनदाताहरूलाई विज्ञापनको टेक्स्टमा ट्रेडमार्क गरिएका शब्दहरू प्रयोग गर्न अनुमति नदिने र यो नीति विश्वव्यापी रूपमा लागु हुने बताएको छ ।
गुगलका प्रवक्ताले दिएको बयानमा कम्पनीले सबै स्थानीय कानुनहरूको पालना गर्ने बताएका छन् । "अदालतका आदेशहरू हाम्रा नीतिहरूसँग अत्यधिक फराकिलो वा बाझिने अवस्थामा हामी कानुनी प्रक्रिया अनुसार आफ्नो अडान स्पष्ट पार्न काम गर्छौँ । हामी हाम्रा प्रयोगकर्ताहरूको दीर्घकालीन हितको रक्षा गर्न कडा मापदण्डहरू कायम राख्दै स्थानीय कानुनी ढाँचाहरूसँग हाम्रा कामलाई पङ्क्तिबद्ध गर्न तत्पर छौँ," प्रवक्ताले भनेका छन् ।
चीनपछि सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता भएको भारत गुगलका लागि सबैभन्दा महत्त्वपूर्ण बजारमध्ये एक हो । यसका साथै गुगलले अमेरिकामा पनि सर्च एकाधिकारसम्बन्धी अमेरिकी अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ ९:३
