ब्ल्याकभ्युका दुई नयाँ ट्याब्लेट नेपाली बजारमा, खरिद गर्नेलाई किबोर्ड र स्मार्टवाच उपहार
साउन २८, २०८२ १७:७
काठमाडौँ । नेपाली बजारमा ब्ल्याकभ्यु ब्रान्डका दुई ट्याब्लेट भित्रिएका छन् । आधिकारिक बिक्रेता रियल डिल प्रा.लि.मार्फत ब्ल्याकभ्युका ‘मेगा टु’ र ‘मेगा थ्री’ नामक दुई नयाँ ट्याब्लेट प्रयोगकर्तामाझ ल्याएको हो ।
‘मेगा थ्री’ मा ९० हर्ज रिफ्रेस रेटसहितको १२.१ इन्चको फुलएचडी प्लस आईपीएस डिस्प्ले रहेको छ । एन्ड्रोइड १५ मा आधारित यो ट्याब्लेटमा अक्टा-कोर मिडियाटेक जी१०० प्रोसेसर प्रयोग गरिएको छ ।
१२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको यो ट्याब्लेटको र्याम आवश्यकताअनुसार २४ जीबीसम्म विस्तार गर्न सकिन्छ । फोटोग्राफीका लागि सोनी आईएमएक्स३६२ सेन्सरयुक्त ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १३ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
८८०० एमएएच क्षमताको ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ सुविधा रहेको यो ट्याब्लेटको बजार मूल्य ३५ हजार ९९९ रुपैयाँ तोकिएको छ । सार्वजनिक भएको अवसरमा कम्पनीले ‘मेगा थ्री’ को खरिदमा ब्लुटुथ कीबोर्डका साथै ब्ल्याकभ्यु आर५० स्मार्टवाच उपहार स्वरूप उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, अर्को मोडल ‘मेगा टु’ मा १२ इन्चको फुलएचडी प्लस टुके (2K) आईपीएस डिस्प्ले छ र यो टी६१५ अक्टा-कोर प्रोसेसरमा चल्छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज क्षमताको यो ट्याब्लेट सेलुलर र वाई-फाई गरी दुई फरक भेरियन्टमा उपलब्ध छ ।
यसमा १६ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, ९००० एमएएच क्षमताको ब्याट्री र १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ । कम्पनीका अनुसार, ‘मेगा टु’ को सेलुलर भेरियन्टलाई ३१ हजार ९९९ रुपैयाँ र वाई-फाई भेरियन्टलाई २८ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यो ट्याब्लेटको खरिदमा भने किबोर्डका साथै ब्ल्याकभ्युको एयरबड्स २० निःशुल्क प्राप्त गर्न सकिनेछ ।
कम्पनीले यी दुवै उत्पादन आफ्नो आधिकारिक वेबसाइट yantranepal.com तथा दराज अनलाइनबाट खरिद गर्न सकिने जनाएको छ । साथै, यी ट्याब्लेट देशभरका अफलाइन स्टोरहरूमा समेत उपलब्ध हुनेछन् ।
*समाचारमा खरिद गर्नेलाई किबोर्ड र स्मार्टवाच उपहार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.
पछिल्लो अध्यावधिक: साउन २९, २०८२ ९:६
