मोहना अन्सारी, महावीर पुन, जगदीश खरेल, अनिल सिन्हा र सङ्गीता कौशल मिश्रा मन्त्री बन्दै
असोज ५, २०८२ १६:३२
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थपिने पाँच जना मन्त्रीको लगभग टुङ्गो लागेको छ । उच्च स्रोतका अनुसार मन्त्रीका लागि मोहना अन्सारी, महावीर पुन, जगदीश खरेल, अनिल सिन्हा र सङ्गीता कौशल मिश्राको नाम लगभग पक्का भएको हो ।
अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य हुन् भने पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । त्यस्तै खरेल इमेज टेलिभिजनका सम्पादक, सिन्हा सर्वोच्च अदालतका पूर्व न्यायाधीश र मिश्रा स्वास्थ्य मन्त्रालयकी पूर्व अतिरीक्त सचिव हुन् । मिश्राले अतिरीक्त सचिवबाट हालै राजीनामा दिएको बताएको छ ।
अन्तरिम सरकार हाल प्रधानमन्त्रीसहित चार सदस्यीय मात्रै छ । जसमा रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय अनि ओम प्रकाश अर्याललाई गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बाँकी मन्त्रालय भने हालसम्म प्रधानमन्त्री कार्कीकै मातहतमा रहेका छन् । उनले मन्त्रीपरिषद्को कूल सङ्ख्या ११ भन्दा बढी नहुने बताएकी छिन् ।
प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका मन्त्रालयबाट सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, खरेललाई सञ्चार तथा सूचना प्रविधि र मिश्रालाई स्वास्थ्य मन्त्रीमा आजै नियुक्त गरिने सम्भावना रहेको छ ।
पछिल्लो अध्यावधिक: असोज ५, २०८२ १७:६
