close

अब मेटा एआईमा हुने च्याटका आधारमा फेसबुक र इन्स्टाग्राममा देखिनेछन् कन्टेन्ट र विज्ञापन

टेकपाना टेकपाना

असोज १६, २०८२ १५:५१

अब मेटा एआईमा हुने च्याटका आधारमा फेसबुक र इन्स्टाग्राममा देखिनेछन् कन्टेन्ट र विज्ञापन

काठमाडौँ । मेटाले आफ्ना प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राममा प्रयोगकर्ताहरूले मेटा एआईसँग गरेका कुराकानीका आधारमा सामग्री र विज्ञापनहरू देखाउने नयाँ प्रणाली लागु गर्ने भएको छ । यो परिवर्तन १६ डिसेम्बरदेखि लागु हुनेछ भने कम्पनीले ७ अक्टोबरबाटै प्रयोगकर्ताहरूलाई यसबारे जानकारी दिन सुरु गर्ने जनाएको छ ।

मेटाका अनुसार यो नयाँ फिचरले प्रयोगकर्ताहरूलाई उनीहरूको रुचिसँग सम्बन्धित सामग्री र विज्ञापनहरू देखाएर अनावश्यक विषयवस्तुबाट जोगाउनेछ । यो परिवर्तन मेटा एआईका टेक्स्ट वा भ्वाइस प्रयोगकर्ताका हकमा मात्र लागू हुनेछ । उदाहरणका लागि, यदि कुनै प्रयोगकर्ताले मेटा एआईसँग हाइकिङबारे कुराकानी गर्छ भने उसको फेसबुक र इन्स्टाग्राम फिडमा हाइकिङसँग सम्बन्धित पोस्ट, रिल्स, भिडिओ र विज्ञापनहरू प्राथमिकताका साथ देखिनेछन् ।

कम्पनीले यो परिवर्तनबाट प्रयोगकर्ताहरू बाहिरिन नपाउने विश्वास राखेको छ । यद्यपि, प्रयोगकर्ताहरूको धार्मिक विचार, यौन जिज्ञासा, राजनीतिक विचार, स्वास्थ्य, जातजस्ता संवेदनशील विषयमा मेटा एआईसँग भएका कुराकानीलाई विज्ञापन देखाउनका लागि प्रयोग नगरिने मेटाले बताएको छ ।

यो परिवर्तन पहिलो चरणमा १६ डिसेम्बरदेखि बेलायत, युरोपेली संघका देशहरू र दक्षिण कोरियाबाहेकका विश्वभरका देशहरूमा लागु हुनेछ । यसको अर्थ नेपालमा पनि सोही दिनबाट यो फिचर लागु हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८२ १५:५७